क्षेत्रीय स्वास्थ्य सहकार्य बढाउन बिम्स्टेक सदस्य राष्ट्रसँग नेपालको जोड

२७ कार्तिक २०८३, शुक्रबार १६:०३

काठमाडौं । नेपालले सङ्क्रामक रोग नियन्त्रण, स्वास्थ्य जोखिम न्यूनीकरण र गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न बिम्स्टेक सदस्य राष्ट्रहरूबीच सहकार्य बढाउनुपर्नेमा जोड दिएको छ।

श्रीलङ्काको कोलम्बोमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले यस्तो धारणा राखेकी हुन्।

बैठकमा मन्त्री मेहताले सङ्क्रामक रोग, पशुबाट मानिसमा सर्ने रोग तथा एन्टिमाइक्रोबियल प्रतिरोध नियन्त्रणका लागि सदस्य राष्ट्रहरूबीच समन्वय, सूचना आदानप्रदान र संयुक्त प्रयास आवश्यक रहेको बताइन्।

उनले जलवायु परिवर्तनले जनस्वास्थ्य र जोखिममा रहेका समुदायमा पारिरहेको असरप्रति चिन्ता व्यक्त गर्दै नेपालमा हालै गएको भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रसङ्गसमेत उठाइन्। विपद्का बेला सहयोग र ऐक्यबद्धता जनाउने बिम्स्टेक सदस्य राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गर्दै उहाँले जलवायुजन्य स्वास्थ्य जोखिम सामना गर्न क्षेत्रीय सहकार्य र विपद् प्रतिरोधी स्वास्थ्य प्रणाली आवश्यक रहेको उल्लेख गरिन्।

मन्त्री मेहताले प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, सबै नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच, दक्ष स्वास्थ्य जनशक्ति उत्पादन तथा प्रयोगशाला र रोग निगरानी प्रणालीको विस्तारलाई प्राथमिकता दिनुपर्ने बताइन्। साथै परम्परागत चिकित्सा पद्धतिमा अनुसन्धान र डिजिटल स्वास्थ्य प्रविधिको प्रयोग बढाउनुपर्नेमा पनि उनले जोड दिइन्।

बैठकमा श्रीलङ्कामा जनस्वास्थ्य, थाइल्यान्डमा ट्रपिकल मेडिसिन तथा भारतमा परम्परागत चिकित्सासम्बन्धी उत्कृष्टता केन्द्र स्थापना गर्ने प्रस्तावलाई नेपालले स्वागत गरेको छ। यस्ता केन्द्रले सदस्य राष्ट्रहरूबीच अनुसन्धान, तालिम र प्राविधिक क्षमता विकासमा सहयोग पुग्ने नेपालको धारणा छ।

संशोधित बिम्स्टेक जनस्वास्थ्य कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट संस्थागत जिम्मेवारी, नियमित अनुगमन र सदस्य राष्ट्रहरूबीच प्राविधिक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री मेहताले साझा प्रतिबद्धतालाई व्यवहारमा उतार्न नेपाल प्रतिबद्ध रहेको बताइन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*