सानिमा रिलायन्स लाइफको जीवन बीमा कोषमा साढे ८ अर्ब रुपैयाँ संचिति, अधिकांश सूचकमा सकारात्मक सुधार

३० बैशाख २०८०, शनिबार १८:२०

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ८ अर्ब ५४ करोड ३१ लाख रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । जीवन बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै कम्पनीले सो अवधिसम्म जीवन बीमा कोषको आधार ८ अर्बमाथि बनाएको हो ।

साथै चालु आवको ९ महिनासम्ममा कम्पनीले जगेडा कोषमा समेत ६९ करोड, ६४ लाख रुपैयाँ र महाविपत्ती कोषमा १० करोड ३९ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।

यता कम्पनीले चैत मसान्तसम्म १ अर्ब ८४ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । बीमा व्यवसायमा समेत कम्पनीको प्रगति भएको वित्तीय विवरणले देखाएको छ । गत वर्षको यसै अवधिसम्म कम्पनीले एक अर्ब ७४ करोड २७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

साथै ब्यवसायमा उत्कृष्ट प्रदर्शनी गर्दै कम्पनीले सो अवधिसम्म ४७ करोड ४६ लाख ७४ हजार रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । आम बीमितहरुको नजरमा थप विश्वसनीय बन्दै कम्पनीले सो अवधिसम्म ४७ करोडमाथिको दाबी भुक्तानी गर्न पुगेको हो । गत वर्ष कम्पनीले २६ करोड ३ लाख रुपैयाँको मात्रै क्लेम सेटलमेन्ट गरेको थियो ।

साथै कम्पनीले यस अवधिसम्म बीमा अभिकर्ता कमिशनबापत २२ करोड ९६ लाख २१ हजार रुपैयाँ छुट्याएको छ । गत वर्ष कम्पनीले अभिकर्ता कमिशन बापत २८ करोड ७२ लाख रुपैयाँ छुट्याएको थियो । बीमा व्यवसायमा सुधार गर्दै कम्पनीले खुद नाफामा पनि सुधार गर्न सफल भएको छ । चैत मसान्तसम्म कम्पनीले १६ करोड १० लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

४ अर्ब १८ करोड ४० लाख रुपैयाँ चुक्तापुँजी रहेको सानिमा रिलायन्स लाइफको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १३ पैसा, प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ १३ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३७७ रुपैयाँ १३ पैसा रहेको छ । साथै कम्पनीको जारी बीमालेखको संख्या ११ लाख २३ हजार ८८१ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*