जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन खर्बमाथि, सुर्यज्योति, सन नेपाल र आइएमई लाइफको देखियो प्रगति (तथ्याङ्कसहित)

१ जेष्ठ २०८०, सोमबार १३:४३

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्ममा एक खर्ब ७८ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १७ जीवन बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन गत वर्षको तुलनामा सामान्य बढ्न पुगेको छ ।

कम्पनीहरुको बीमा व्यवसाय गत वर्षको तुलनामा ३.३६ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले ९७ अर्ब ५० करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका थिए ।

१७ मध्ये ८ कम्पनीको व्यवसाय फस्टाएको देखिएको छ भने बाँकी ९ कम्पनीको ब्यवसाय गत वर्षको तुलनामा घट्न पुगेको वित्तीय विवरणले देखाएको छ । चैत मसान्तसम्ममा सबैभन्दा बढी खुद बीमा शु्ल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपा लाइफले तेस्रो त्रैमाससम्मा २६ अर्ब ८३ करोड ९२ लाख रपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, दोस्रोमा एलआइसी नेपालले पनि सो अवधिसम्म १२ अर्ब ८७ करोड ६५ लाख रुपैयाँ बीमा ब्यवसायमार्फत भित्र्याएको छ भने नेशनलले पनि ११ अर्ब १३ करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

गत आवको तुलनामा कुनले कति व्यवसाय बढाए ?
गत आर्थिक वर्षको तुलनामा चालु आवको तेस्रो त्रैमाससम्म सबैभन्दा व्यवसाय बढाउने कम्पनीमा सुर्यज्योति लाइफ रहेको छ । साविक सुर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स एकआपसमा मर्ज भइसकेपछि कम्पनी झनै अब्बल देखिएको हो । गत वर्षको तुलनामा कम्पनीले खुद बीमा शुल्क आर्जन ९५.१८ प्रतिशतले बढाउन सफल भएको हो ।

त्यस्तै, बीमा ब्यवसायमा उल्लेख्य सुधार गर्दै सन नेपाल लाइफ इन्स्योरेन्सले पनि सो अवधिसम्म २४.५५ प्रतिशतले व्यवसाय बढाउन सफल भएको छ । साथै नयाँ बीमा ब्यवसाय बढाउनमा अब्बल रहेको आइएमई लाइफ इन्स्योरेन्सले पनि गत आवको तुलनामा जीवन बीमा ब्यवसाय २१.४९ प्रतिशतले बढाउन सफल भएको छ ।
त्यस्तै, नेशनलले ९.३९ प्रतिशत, महालक्ष्मीले ४.२२ प्रतिशत, सिटिजन लाइफले ३.७१ प्रतिशत र प्रभु लाइफले शुन्य दशमलव २४ प्रतिशतले बीमा ब्यवसाय बढाउन सफल भएका छन् ।

गत आवको तुलनामा व्यवसाय खस्किने कम्पनीहरु
मर्जरमा सामेल भएपछि १७ जीवन बीमा कम्पनीहरुमध्ये सो ९ जीवन बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन गत आवको तुलनामा घट्न पुगेको छ । सबैभन्दा बढी व्यवसाय खस्किने कम्पनीमा युनियन लाइफ इन्स्योरेन्स रहेको छ ।

कम्पनीको गत आवको तुलनामा यस अवधिसम्म ७.२४ प्रतिशतले व्यवसाय घटेको छ । त्यस्तै, रिलायबल नेपालको ६.६१ प्रतिशत, गुराँसको ५.६७ प्रतिशत, एलआइसी नेपालको ५.४८ प्रतिशत, प्राइम लाइफको ५.४२ प्रतिशत, मेट लाइफको २.८० प्रतिशत, सानिमा रिलायन्सको १.५८ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १.५८ प्रतिशत र एशियन लाइफको ०.६५ प्रतिशतले ब्यवसाय खस्किएको छ ।

 

स्रोत  :कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणका आधारमा

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*