जीवन बीमा अभिकर्ताको कमिशन १८ प्रतिशतले घट्यो, सबै कम्पनीको कमिशनमा गिरावट (तथ्याङ्कसहित)

२ जेष्ठ २०८०, मंगलवार ०७:३०

काठमाडौं । हाल नेपालमा संचालन रहेका १७ वटा जीवन बीमा कम्पनीहरुमा आवद्ध भएका अभिकर्ताले पाउने कमिशन १८ प्रतिशतले घटेको छ । कम्पनीहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार हाल संचालनमा रहेका सबै बीमा कम्पनीहरुको कमीशनमा गिरावट आएको देखिएको छ ।

चालु आर्थिक वर्षको तेस्र्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिशन १८.४५ प्रतिशतले घटेर ९ अर्व २२ करोड ३६ लाख ४७ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिसम्ममा अभिकर्ताहरुले ११ अर्व ३१ करोड ८ लाख ९१ रुपैयाँ कमिशन बुझेका थिए ।

चालु आर्थिक वर्षको तेस्रो अवधिसम्ममा सबैभन्दा बढी सूूर्यज्योति लाइफ इन्स्योरेन्सले अभिकर्ता कमिशन घटेको छ । कम्पनीले यस अवधिसम्ममा अभिकर्ता कमिशन ४२.८२ प्रतिशतले घटाएर ४७ करोड १७ लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिसम्ममा कुल ८१ करोड ९ लाख रुपैैयाँ अभिकर्ता कमिशन वापत प्रदान गरेको थियो ।

यसका साथै, दोस्रो नम्बरमा रहेको युनियन लाइफ इन्स्योरेन्सले ३८ प्रतिशतले घटाएर ५८ करोड ५ लाख रुपैयाँ अभिकर्ता कमिशन वितरण गरेको छ । कम्पनीले गत वर्षको सोहि अवधिसम्ममा कुल ९३ करोड ७४ लाख रुपैयाँ अभिकर्ता कमिशन वितरण गरेको थियो ।

त्यस्तै, प्राइम लाइफले २२.९२ प्रतिशत, सानिमा रिलायन्स लाइफले २२.८२ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १८.७१ प्रतिशत, सिटिजन्स लाइफले १७.८५ प्रतिशत, आइएमई लाइफले १७.१९ प्रतिशत, गुराँस लाइफले १६।२७ प्रतिशतले अभिकर्ता कमिशन घटेको प्रकाशित विवरणले देखाएको छ ।

त्यस्तै, यस अवधिसम्ममा सबैभन्दा कम अभिकर्ता कमिशन नेशनल लाइफले घटेको छ । कम्पनीले १.७५ प्रतिशतले अभिकर्ता कमिशन घटाएर १ अर्ब ८ करोड रुपैयाँ प्रदान गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिसम्ममा कम्पनीले सो कमिशन १ अर्व १० करोड रुपैयाँ प्रदान गरेको थियो ।

सरकारी स्वामित्व रहेका राष्ट्रिय बीमा कम्पनीको अभिकर्ता कमिशन ३.३९ प्रतिशतले मात्रै घटेको छ । संस्थानको अभिकर्ता कमिशन यस त्रैमाससम्ममा १३ करोड ७५ लाख रुपैयाँमा सीमित रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिसम्ममा १४ करोड २४ लाख रुपैयाँ अभिकर्ता कमिशन वितरण गरेको थियो ।

यसका साथै, मेट लाइफले ७।४३, प्रभु लाइफले ११.३८, सन नेपाल लाइफले १३.३८, रिलायबल नेपाल लाइफले १४.६३, महालक्ष्मी लाइफले १४.६३, नेपाल लाइफले १५.१९ र एशियन लाइफले १५.९७ प्रतिशतले बीमा अभिकर्ताहरुको कमिशन घटेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सबैभन्दा बढी अभिकर्ता कमिशन नेपाल लाइफले वितरण गरेको छ । यस अवधिमा कम्पनीले कुल २ अर्व २३ करोड ४३ लाख रुपैयाँ अभिकर्ता कमिशन वितरण गरेको छ ।

दोस्रोमा नेशनल लाइफले १ अर्व ८ करोड ८६ लाख रुपैयाँ, तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले १ अर्ब ५ करोड रुपैयाँ वितरण गरेको छ ।
सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानले सबैभन्दा कम अभिकर्ता कमिशन वितरण गरेको छ । कम्पनीले समिक्षा अवधिमा १३ करोड ७५ लाख रुपैयाँ वितरण गरेको छ ।

संचालित बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तिय विवरणको आधारमा सम्पुर्ण कम्पनीहरुको अभिकर्ता कमिशन घटेसँगै यसको असर बीमा व्यवसायमा देखिने बीमा अधिकारीहरु बताँउछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*