जीवन बीमा कम्पनीको बीमालेख धितो कर्जाबाट आय २०% ले बढ्यो, बृद्धिदरमा सानिमा रिलायन्स, अग्रस्थानमा एलआइसी नेपाल

३ जेष्ठ २०८०, बुधबार ०७:००

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमालेख धितो राखेर बीमितलाई दिने कर्जाबाट आय २०.६८ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्ममा ६ अर्ब ४६ करोड ८ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरि आम्दानी गरेका छन् ।

कम्पनीहरुको यस्तो आय गत आवको तुलनामा २० प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा कर्जाबाट ५ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेका थिए ।

जीवन बीमालेख खरिद गर्दा बीमितहरुले आफ्नो बीमालेख धितो राखी सम्बन्धीत कम्पनीबाट कर्जा लिन सक्ने व्यवस्था रहेको छ । नेपाल बीमा प्राधिकरणबाट जारी जीवन बीमालेख निर्देशिका, २०७८ बमोजिम बीमा प्रारम्भ भएको मितिबाट तीन वर्ष पुरा भएपश्चात् बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था रहेको छ ।

यसरी बीमितहरुले ३ किस्तासम्म प्रिमियम तिरेपछि प्रिमियमको ९० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ । साथै बीमितहरुले लिएको कर्जाको आधारमा जीवन बीमा कम्पनीहरुले १० प्रतिशतसम्म ब्याजदर लिने गरेका छन् ।

बीमालेख धितो कर्जाबाट सबैभन्दा बढी आय गर्ने कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रहेको छ । एलआइसी नेपालले बीमालेख धितो कर्जा प्रवाह गरी चैत मसान्तसम्म एक अर्ब ७० करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, सन नेपाल लाइफले पनि सो अवधिसम्म बीमितहरुलाई कर्जा प्रवाह गरी एक अर्ब ४० करोड ३५ लाख रुपैयाँ आयआर्जन गरेको छ ।

साथै नेपाल लाइफले सो अवधिसम्म एक अर्ब ३७ करोड, रिलायबल नेपाल लाइफले ४० करोड ६६ लाख, नेशनलले ३९ करोड ६६ लाख रुपैयाँ र एशियन लाइफले २६ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ ।

 

गत आर्थिक वर्षको तुलनामा बीमालेख धितो कर्जाबाट आय कुनको कतिले बढ्यो ?
गत आर्थिक वर्षको तुलनामा चालु आवको तेस्रो त्रैमाससम्म सबैभन्दा बढी बीमालेख धितो कर्जाबाट आय बढाउने कम्पनीमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स रहेको छ । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स एकआपसमा मर्ज भई एकीकृत कारोबार गरेपछि बीमालेखको संख्या बढेसँगै बीमालेख धितोकर्जाको आकार र कर्जाबाट हुने आम्दानी समेत बढ्न पुगेको हो । कम्पनीको गत आवको तुलनामा यस अवधिसम्म यस्तो आय २०४.४० प्रतिशतले बढेको हो ।

त्यस्तै, सिटिजन लाइफको पनि बीमा ब्यवसाय विस्तारसँगै बीमालेख धितो कर्जाबाट आय गत आवको तुलनामा ७८.७१ प्रतिशतले बढ्न पुगेको छ । त्यस्तै, सन नेपालले ७६.५० प्रतिशत, रिलायबल नेपाल लाइफले ६९.३५ प्रतिशत, र एयिशयन लाइफले ५८.०३ प्रतिशतले यस्तो आयआर्जन बढाएका छन् ।

साथै एलआइसी नेपालले ४३.३८ प्रतिशत, मेट लाइफले ४०.६७ प्रतिशत, युनियन लाइफले २७.९७ प्रतिशत, प्राइम लाइफले २२.८२ प्रतिशत, गुराँस लाइफले १६.५० प्रतिशत, राष्ट्रिय बीमा संस्थानले ८.३७ प्रतिशत र आइएमई लाइफले १.४१ प्रतिशतले बढाएको छ ।

त्यस्तै यस अवधिसम्म पाँच जीवन बीमा कम्पनीको बीमालेख धितो कर्जाबाट आय भने घट्न पुगेको छ । सबैभन्दा बढी घट्नेमा सुर्यज्योति लाइफ रहेको छ । सुर्यज्योतिको यस्तो आय २४.२७ प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल लाइफको २०.५१ प्रतिशत, प्रभु लाइफको १८.११ प्रतिशत, नेशनल लाइफको १०.७० प्रतिशत र महालक्ष्मी लाइफको १०.०६ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*