जीवन बीमामा एक लाख रुपैयाँसम्मको कर छुटको माग, आगामी बजेटमा होला त माग सम्बोधन ?

७ जेष्ठ २०८०, आईतवार १३:४७

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आगामी बजेटको लागि कर छुटको सुझाव दिएका छन् । जीवन बीमा कम्पनीहका सिईओहरुको छाता संगठन जीवन बीमक संघ नेपालले आगामी आर्थिक वर्ष ८०र८१का बजेटमा जीवन बीमा गर्दा एक लाख रुपैयाँसम्मको कर छुट दिन सुझाव दिएका छन् ।

शुक्रबार धुलिखोलमा आयोजित बीमा प्राधिकरण र नेपाल बीमक संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा जीवन बीमक संघले यस्तो सुझाव दिएको हो । यसअघिको बजेटमा ४० हजार रुपैयाँ पुराएको थियो । सो व्यवस्थालाई कार्यान्वयन गर्दै १ लाख रुपैयाँ पुराउन सुझाव दिएको हो ।

चालु आर्थिक बर्षमा सरकारले जीवन बीमाको प्रिमियम रकम बापत ४० हजार रुपैयाँमा कर छुट दिने निर्णय गरेको थियो । सो बर्षअघि बार्षिक २५ हजार रुपैयाँसम्म कर छुट दिँदै आएकोमा चालु आब ४० हजार रुपैयाँसम्मको आयमा कर छुट दिइएको हो ।

चालु आर्थिक बर्षको व्यवस्था अनुसार व्यक्तिगत आम्दानीमा करको स्ल्याबमा थप बार्षिक ४० हजार रुपैयाँमा कर लाग्ने छैन । जसमा विवाहित दम्पनीले बार्षिक ६ लाख रुपैयाँसम्म कर छुट पाउँछन् । सो आधारमा मासिक ५० हजार रुपैयाँसम्मको आम्दानीमा कर छुट छ ।

सो भन्दा थप आम्दानी भएमा र बार्षिक ४० हजार रुपैयाँ बीमा शुल्क भुक्तानी गर्ने भएमा छ लाख ४० हजार रुपैयाँसम्मको आम्दानीमा कर छुट पाउने व्यवस्था रहेको थियो ।

बीमाको पहुँच वृद्धि गर्न यसले ठूलो मात्रामा सहयोग गर्ने भन्दै यसतर्फ ध्यान दिन बीमक संघले सरकारलाई सुझाव दिएको हो ।
बीमा समितिले लघु बीमालाई पनि अनुदान उपलब्ध गराउन सरकारलाई सुझाव दिएको छ । विपन्न नागरिकहरुलाई लक्षित गरेर लघु बीमा ल्याइएको हो, त्यसमा पनि बाली तथा पशुपंक्षी बीमामा जस्तै अनुदान उपलब्ध गराउनु समितिले सुझाएको छ । लघु बिमामा पनि कृषिमा बराबर बिमा शुल्कमा अनुदान दिन समितिले माग गरेको हो । हाल लघु बीमामा सरकारले कुनै प्रकारको अनुदान दिएको छैन ।

त्यस्तै सम्पत्ति बीमालाई प्रोत्साहन गर्ने खालको नीतिगत व्यवस्था गर्न पनि समितिले सरकारलाई आग्रह गरेको छ । यसमा सम्पत्तिको बीमा गर्दा निश्चित प्रतिशत कर छुटको व्यवस्था गर्न समितिले आग्रह गरेको हो । हाल स्थानीय तहले सम्पत्ति कर उठाउँदै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*