जीवन बीमा कम्पनीहरुको बीमा कोषमा ५ खर्ब संचिती, नेपाल लाइफ र एलआइसी नेपालको कोषमा एक खर्ब बढी, बृद्धिदरमा महालक्ष्मी र सिटिजन अघि

७ जेष्ठ २०८०, आईतवार १७:३१

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ खर्ब ४० अर्ब १३ करोड रुपैयाँ संचिती गर्न सफल भएका छन् । १७ जीवन बीमा कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार २० प्रतिशतले बढ्न पुगेको हो ।

गत वर्षको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुको बीमा कोषमा ४ खर्ब ४८ अर्ब ६४ करोड रुपैयाँ संचित रहेको थियो । तेस्रो त्रैमाससम्म आइपुग्दा लाइफ इन्स्योरेन्स कम्पनीहरुले इन्स्योरेन्स फण्ड बढाउन सफल भएका हुन् ।

बीमा कम्पनीहरुले आफ्नो वित्तीय विवरणमा तीनवटा कोष सूचकाङ्क छुट्याएका हुन्छन् । बीमा कोष, जगेडा कोष र महाविपत्ती कोष गरी तीन कोषमा केही प्रतिशत रकम संचित गर्नुपर्ने हुन्छ । लाइफ इन्स्योरेन्सको हकमा कम्पनीहरुले बीमा ब्यवसाय गर्दा केही प्रतिशत रकम जीवन बीमा कोष, जगेडा कोष र महाविपत्ती कोषमा छुट्याएका हुन्छन् । भविष्यमा हुन सक्ने जोखिम बहन गर्नका लागि बीमा कम्पनीहरुले बीमा कोषमा रकम संचित गर्नुपर्ने प्रावधान रहेको छ ।

यसरी जीवन बीमा कोषमा सो अवधिसम्म सबैभन्दा बढी रकम संचित गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले चैत मसान्तसम्ममा जीवन बीमा कोषमा एक खर्ब ५७ अर्ब १६ करोड रुपैयाँ संचित गरेको छ । त्यस्तै, दोस्रोमा एलआइसी नेपालले पनि जीवन बीमा कोषमा एक खर्ब ४ अर्ब रुपैयाँ संचिती गरेको छ ।

साथै नेशनल लाइफले सो अवधिसम्म ५८ अर्ब, राष्ट्रिय बीमा संस्थानले ४५ अर्ब, एशियन लाइफले ३६ अर्ब, सूर्यज्योति लाइफले २४ अर्ब, मेट लाइफले २२ अर्ब, साविक प्राइम लाइफले २१ अर्ब, साविक युनियन लाइफले १४ अर्ब, साविक गुराँस लाइफले १४ अर्ब, सानिमा रिलायन्स लाइफले ८ अर्ब, सिटिजन लाइफले ८ अर्ब, रिलायबल नेपालले ६ अर्ब, आइएमई लाइफले ६ अर्ब, सन नेपाल लाइफले ४ अर्ब, प्रभु लाइफले ३ अर्ब र महालक्ष्मी लाइफले ३ अब रुपैयाँमाथि बीमा कोषमा संचित गरेका छन् ।

 

बृद्धिदरमा को अघि ?
गत आर्थिक वर्षको तुलनामा चालु आवको तेस्रो त्रैमाससम्म सबैभन्दा बढी जीवन बीमा कोषको आकार बढाउनेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । सबैभन्दा कान्छो जीवन बीमा कम्पनीको रुपमा चिनिने महालक्ष्मी लाइफले गत वर्षको तुलनामा यस अवधिसम्म ५५.७७ प्रतिशतले बीमा कोषको आकार बढाउन सफल भएको छ ।

त्यस्तै, यता प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न लागेको सिटिजन लाइफ इन्स्योरेन्सले पनि गत वर्षको तुलनामा लाइफ इन्स्योरेन्स फण्डको आकार ५३.०२ प्रतिशतले बढाएको छ । त्यस्तै, रिलायबल नेपालले पनि ४८.२३ प्रतिशत, आइएमई लाइफले ४३.०९ प्रतिशतले बढेको छ । समग्रमा आइपीओ निष्काशनको तयारीमा रहेका कम्पनीहरुको जीवन बीमा कोषको आकार बढेको तथ्याङ्कले देखाएको छ ।

साथै साविक युनियन लाइफको ४३.०९ प्रतिशत, प्रभु लाइफको ३७.९० प्रतिशत, सन नेपालको ३७.०४ प्रतिशत, सुर्यज्योति लाइफको ३०.०४ प्रतिशत, सानिमा रिलायन्सको २५.५९ प्रतिशत, साविक प्राइम लाइफको २२.१५ प्रतिशत, नेपाल लाइफको १९.८३ प्रतिशत, नेशनल लाइफको १८.८० प्रतिशत, एशियन लाइफको १७.९४ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १७.६० प्रतिशत, साविक गुराँस लाइफको १६.१४ प्रतिशत, एलआइसी नेपालको १५.७६ प्रतिशत र मेट लाइफको १०.६९ प्रतिशतले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*