थ्रीस्टार हाइड्रोपावरको आईपीओमा स्थानीयले आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले बैशाख ११ गतेदेखि निष्काशन गरेको आइपीओमा स्थानिय बासिन्दाहरुले आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख ९२ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशनमा ल्याएको हो।
सो शेयरमा खोटाङ जिल्लाको प्रभावित क्षेत्र हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ (साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविस र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ (साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा ४ लाख ९२ हजार ५०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।