रोक्का रहेको साविक युनियन लाइफको शेयरमा कसरी लाग्यो सर्किट ?

१४ जेष्ठ २०८०, आईतवार ११:३४

काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै साविक युनियन लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । साविक गुराँस लाइफ, प्राइम लाइफसँग मर्जर सम्झौता भई ‘हिमालयन लाइफ इन्स्योरेन्स’ को नामबाट एकीकृत कारोबार सुरु गरिसकेको कम्पनीको शेयर आज एकाएक १० प्रतिशत अर्थात ३५.८० पैसाले बढेर शेयरमूल्य ३९३ रुपैयाँ ८० पैसा पुगेको नेप्से चार्टमा देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन जीवन बीमा कम्पनी साविक गुराँस, प्राइम र युनियन लाइफ इन्स्योरेन्सबीच मर्ज भई गत वैशाख २२ गतेको पत्रानुसार उक्त संगठित संस्थाहरुबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने कार्य भई वैशाख २६ गतेदेखि ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गरिसकेको छ ।

साथैं सोही प्रयोजनका लागि धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम उक्त संगठित संस्थाहरुको शेयर कारोबार वैशाख २६ गतेदेखि लागू हुनेगरी रोक्का राखिएको थियो । सोपश्चात् यी तीन कम्पनीको हिमालयन लाइफबाट एकीकृत कारोबारपश्चात् नेप्सेमा शेयर सूचीकृत भएको छैन ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुनका लागि सम्झौता बमोजिमका शर्तहरु पालना गरेपश्चात् शेयर कारोबार फुकुवा गरी नयाँ कम्पनीको नामबाट शेयर सूचीकृत गर्ने गर्दछ । तर हालसम्म पनि हिमालयन लाइफको नामबाट शेयर सूचीकृत भएको छैन । तर आज शेयरबजारमा साविक युनियन लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको देखिएको छ ।

यसअर्थमा साविक युनियन लाइफ इन्स्योरेन्सको ‘इन्साइडर ट्रेडिङ’ भएको आशंका गर्न सकिन्छ । नेप्सेको लापारबाही तथा त्रुटीले गर्दा हालसम्म साविक युनियन लाइफ इन्स्योरेन्सको १९० कित्ता शेयर खरिदबिक्री भइसकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*