५८ हाइड्रोपावरको वित्तीय विवरणः सबैभन्दा बढी मुनाफा आर्जन गर्ने चिलिमे, नोक्सान बेहोर्ने अप्पर तामाकोशी, इपीएसमा को अघि ?

१५ जेष्ठ २०८०, सोमबार ०७:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ५८ हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीहरु सो अवधिसम्म औषतमा ५५ करोड ९२ लाख ८४ हजार रुपैयाँ नोक्सानमा रहेका छन् ।

सो अवधिसम्म अधिकांश जलविद्युत कम्पनीहरुले नोक्सानी बेहोर्न पुगेका छन् । चालु आर्थिक वर्ष २०७९।८० मा आर्थिक संकटसँगै जलविद्यूत कम्पनीहरुले पर्याप्त मात्रामा विद्युत बिक्री आम्दानी गर्न नसकेका कारण अधिकांश कम्पनीहरुको मुनाफा प्रभावित बन्न पुगेको हो ।

चालु आवको नौ महिनासम्म जलविद्युत कम्पनीहरको नाफासँगै प्रतिशेयर आम्दानी समेत प्रभावित बन्न पुगेको छ । धितोपत्र दोस्रो बजारमा ‘सर्ट टर्म इन्भेष्टमेन्ट’का लागि लगानीकर्ताहरुको रोजाइमा हाइड्रोपावर कम्पनीहरु पर्ने गर्दछ । तर तेस्रो त्रैमाससम्म आइपुग्दा हाइड्रोपावर कम्पनीहरुको मुनाफा र इपीएस दुबै ऋणात्मक अवस्थामा रहँदा नेप्सेमा हाइड्रोपावर इन्डेक्स लगातार राताम्य हुन पुगेको छ ।

सो अवधिसम्म सबैभन्दा बढी मुनाफा आर्जन गर्ने कम्पनीमा चिलिमे हाइड्रोपावर रहेको छ । कम्पनीले सो अवधिसम्म ५२ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने कम्पनीको इपीएस ९ रुपैयाँ ६२ पैसा रहेको छ ।

त्यस्तै, यता सानिमा माई हाइड्रोपावरले पनि सो अवधिसम्म ३५ करोड ८२ लाख रुपैयाँमाथि नाफा आर्जन गरेको छ । त्यस्तै, बुटलव पावर कम्पनीले २६ करोड ८१ लाख, साहज उर्जाले २६ करोड ५१ लाख, माउन्टेन इनर्जीले २६ करोड ३४ लाख, अरुण काबेलीले १४ करोड ३५ लाख र राधी विद्युत कम्पनीले ८ करोड ६४ लाख रुपैयाँमाथि नाफा कमाएको छ । ५८ मध्ये ३३ कम्पनीले सो अवधिसम्म नाफा कमाएको छ भने बाँकी २५ कम्पनीले सो अवधिसम्म नोक्सानी बेहोरेका छन् ।

तेस्रो त्रैमाससम्म सबैभन्दा बढी नोक्सानी बेहोर्ने कम्पनीमा अप्पर तामाकोशी रहेको छ । अप्पर तामाकोशीले सो अवधिसम्म २ अर्ब २ करोड रुपैयाँ नोक्सानी बेहोरेको छ । त्यस्तै, शिव श्री हाइड्रोपावरले २३ करोड ७९ लाख रुपैयाँ घाटा बेहोरेको छ ।

इपीएसमा को अघि ?
चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी (इपीएस)मा सबैभन्दा अब्बल रुरु जलविद्युत देखिएको छ । रुरुको इपीएस १८.६ रुपैयाँ रहेको छ ।
त्यस्तै, माउन्टेन इनर्जीको १७.८५ रुपैयाँ, सानिमा माई हाइड्रोपावरको १५.४६ रुपैयाँ, नेपाल हाइड्रो डेभलोपर्सको १४.१२ रुपैयाँ, पाँचथर पावरको ११.९२ रुपैयाँ र बुटवल पावरको १०.४९ रुपैयाँ रहेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*