लगानीकर्ता निरुत्साहित बन्दा शेयरबजारमा ५३ अंकको गिरावट, एफपीओ तथा मर्जरको विषयले जीवन बीमा र माइक्रोफाइनान्स इन्डेक्समा पहिरो

१६ जेष्ठ २०८०, मंगलवार १५:१७

काठमाडौं । बजेट घोषणापछि शेयरबजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से सूचक ५३ अंकले घटेर १८८८ विन्दुमा झरेको छ ।

बजेटमार्फत् आम शेयर लगानीकर्ताहरुको माग सम्बोधन हुन नसक्दा आज शेयरबजारमा भारि गिरावट आएको छ । लगानीकर्ताहरुले पुँजीगत लाभकर घटाउने माग गर्दै आएकोमा हिजो घोषणा भएको बजेटमा हाल रहँदै आएको पुँजीगत लाभकर नै कायम गरेका कारण आज नेप्से सूचक घटेर १८ सयको विन्दुमा कायम हुन पुगेको छ ।

साथै यता बैंक तथा वित्तीय संस्थालाई मर्जर र एक्विजिशन तथा एफपीओ निष्काशनमा हुने बार्गेन गनेलाई बोनस शेयरका रुपमा वितरण गर्दा कर लाग्ने व्यवस्था गरेको छ । साथै एफपीओ र मर्जरमा कर लाग्ने र पुरानालाई शुल्क र ब्याज मिनाहाको अफर ल्याएका कारण पनि आम लगानीकर्ताहरु नयाँ आवको बजेटप्रति असन्तुष्टि रहेका छन् ।

यसैका वाबजुत आज अघिल्ला दुई दिनयताको तुलनामा कारोबार रकम घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २३ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका सबै उपसूचक राताम्य भएका छन् । सर्वाधिक जीवन बीमा उपसूचक र हाइक्रोफाइनान्स उपसूचक घट्न पुगेको छ । धितोपत्र दोेस्रो बजारमा बीमा कम्पनी र लघुवित्त संस्थाहरुमा सरकारले आगामी आवको बजेटमार्फत मर्जर तथा एक्विजिशन र एफपीओ निष्काशनमा उक्त खालको व्यवस्था गरेसँगै यी दुई उपसूचक सर्वाधिक घट्न पुगेको हो ।

सूचीकृत केही जीवन बीमा कम्पनी र लघुवित्त संस्थाहरु थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशनको तयारीमा रहेका छन् । यसकारण पनि जीवन बीमा उपसूचक ३.५० प्रतिशत र माइक्रोफाइनान्स इन्डेक्स ३.४२ प्रतिशतले घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*