शिवम् सिमेन्टको दुई वटा खानीमा विशाल सुख्खा पहिरो, सेटिङमा एकैदिन बेचियो २१ करोडको शेयर

१७ जेष्ठ २०८०, बुधबार ०८:२८

मकवानपुर/काठमाडौं । शिवम् सिमेन्टको खानीमा सुख्खा पहिरो गएको छ । शिवम् सिमेन्टको लागि चुन ढुंगा उत्खनन् गर्दै आएको गढी गाउँपालिकामा रहेको तीन वटा खानीमध्ये दुई खानीमा विशाल सुख्खा पहिरो गएपछि उत्खनन् बन्द भएको छ । यता, लगानीकर्ताहरुले भने हिजो ठूलो मात्रामा शिवम् सिमेन्ट कम्पनीको शेयर बिक्री गरेका छन् । हिजो एकैदिन शिवम् सिमेन्टको २१ करोडको शेयर बिक्री भएको छ ।

शिवम् सिमेन्ट कम्पनीले अत्याधिक दोहन गरेको र व्यवस्थित तरिकाले खानी उत्खनन नगर्दा माथिबाट आएको विशाल सुख्खा पहिरोले स्काभेटर समेत पुरिएका छन् । गत साता शिवम् सिमेन्टको सुकौरा र बुढिचौरमा रहेको मझुवा खानीमा सुख्खा पहिरो गएको हो । घटनामा एउटा स्काभेटर पुरिएको छ । चालक ज्यान जोगाएर भाग्न सफल भएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

खानी क्षेत्रमा गएको सुख्खा पहिरोका कारण क्षेत्रमा मानिस नै जान नसक्ने गरी पुरिएको छ । साथै निकै तलसम्म पुरिएकोले यस वर्ष शिवम् सिमेन्टले उक्त दुई खानीबाट कच्चा पदार्थ उत्खनन् गर्न सक्ने अवस्था नरहेको गढी गाउँपालिकाका कुर्लेका स्थानीयबासीको भनाई छ ।

गढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले शिवम् सिमेन्टको खानीमा सुख्खा पहिरो गएको पुष्टि गरेका छन् । उनले शिवम् सिमेन्टलाई उक्त पहिरो र खानी उत्खनन् गरी फ्याकिएको कच्चा पदार्थ सामरी नदिमा आउन नदिन ठाउँ ठाउँमा ड्याम बाँध्न आग्रह गर्दा पनि अटेर गर्दै आएको बताए । शिवम् सिमेन्टले खानीमा पुनः प्रवेश गर्न पहिरो पन्छाउनै करोडौं रुपैयाँ खर्च लाग्ने भएको छ । त्यस्तै तल्लो तटीय बस्ती जोगाउन दर्जन जति ड्याम बाँध्ने कार्यका लागि समेत करोडौं रुपैयाँ खर्च हुने भएको छ ।

हेटौडा बजारदेखि उत्तर पूर्वी क्षेत्रमा बकैया गाउँपालिकाको ठिङ्गनको पहाडसँग जोडिएको उक्त खानीमा पहिरो जाँदा कम्पनीले करोडौं रुपैयाँको नोक्सानी व्यहोर्नुपर्ने भएको छ भने स्थानीयबासीले पहिरोको त्रासमा परेका छन् ।

शिवम् सिमेन्टले अबैध रुपमा अत्याधिक मात्रामा उत्खनन् गरेर विशाल पहाडको स्वरुप नै बिगारेको भन्दै आमभन्ज्याङका स्थानीयबासी केही समयदेखि आन्दोलित हुँदै आएका थिए । शिवम सिमेन्टको खानीमा गएको पहिरोले यस वर्षको वर्षायाममा आमभन्ज्याङको कुर्ले, बागदली, धादिङ, भालुखोला, सिम्ले क्षेत्रका स्थानीबासी पहिरो आउने त्रासमा छन् ।
राजनीतिक दलका नेताहरुलाई मासिक चन्दा दिँदै आएको शिवम् सिमेन्टका सम्बन्धमा स्थानीयदेखि केन्द्रीयतहका नेतासम्म मौन रहने गरेको भएपनि यस वर्षदेखि स्थानीय जनता आफै जागरुक भएर शिवम् सिमेन्टको खानी बन्द गर्न आवाज उठाउँदै आएका छन् । स्थानीय पशुपति घिमिरेले शिवम् सिमेन्टको खानी तत्काल बन्द नगरिए आमभन्ज्याङ् सामरी क्षेत्रका हजारौं जनता विस्थापित हुने भन्दै राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

यता, शिवम् सिमेन्टको खानीमा विशाल सुख्खा पहिरो गएपछि उक्त कम्पनीका सञ्चालकहरुले खुसुक्क आफ्ना मानिसहरुको नाममा भएको शेयर बिक्री गर्न थालेका छन् । हिजो एकै दिन शिवम् समेन्टको चार लाख ६१ हजार कित्ता शेयर बिक्री भएको छ । सबैभन्दा धेरै ब्रोकर नं ३४ बाट बिक्री भएको छ । सो कम्पनीबाट प्रतिकित्ता ४७० रुपैयाँबाट घटेर ४६२ रुपैयाँमा शिवम्को शेयर कारोबार बन्द भएको थियो ।

सोझा सर्वसाधारणलाई फसाउन शिवम् कम्पनीका अध्यक्ष गौरव गोयल, सञ्चालकहरु गौरव शारडा, रोहित गुप्ता र कम्पनीमा कार्यरत निखिल अग्रवाल लगायतका व्यवस्थापकबाट सूचना बाहिर चुहाएर करोडौं रुपैयाँ पहिरोमा पुरिएको शिवम् सिमेन्टको शेयर धमाधम बिक्री गरेर सोझा लगानीकर्ता झुक्याउने प्रपञ्च भइरहेको देखिएको छ । सो सम्बन्धमा शिवम् सिमेन्टका अधिकारीले भने केही बताउन चाहेनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*