जीवन बीमा कम्पनीहरुको नयाँ ब्यवसाय २३ प्रतिशतले घट्यो, राष्ट्रिय बीमा संस्थान र आइएमई लाइफको देखियो प्रगति

१७ जेष्ठ २०८०, बुधबार ११:५५

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको १० महिनामा २३ अर्ब ३२ करोड ७८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको विवरणअनुसार १५ जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन गत वर्षको तुलनामा २५.२४ प्रतिशतले घट्न पुगेको हो ।

गत वर्षको तुलनामा चालु आवमा अधिकांश जीवन बीमा कम्पनीको नयाँ ब्यापार घट्न पुगेको छ । चालु आवमा आर्थिक संकटसँगै जीवन बीमा कम्पनीहरुको नयाँ ब्यापारमा धक्का पुगेको देखिएको हो । यस अवधिसम्म सबैभन्दा बढी प्रथम बीमा शुल्क आर्जन घट्ने कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ । साविक प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफले ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट जीवन बीमा ब्यवासय एकीकृत कारोबार सुरु गरेसँगै कम्पनीको नयाँ ब्यवसायमा धक्का पुगेको हो । मर्ज हुनुभन्दा अघि यी कम्पनीहरुले मर्ज भइसकेपछि भन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको थिए ।

साथै अधिकांश कम्पनीको नयाँ ब्यापार खस्किएसँगै यता गत आवको तुलनामा दुई कम्पनीले भने प्रथम बीमा शुल्क आर्जनमा ब्यालेन्स मेन्टेन गरेको देखिएको छ । राष्ट्रिय बीमा संस्थान र आइएमई लाइफले गत वर्षको तुलनामा सामान्य प्रतिशतले नयाँ ब्यवसाय भित्र्याउन सफल भएका छन् । संस्थानको व्यवसाय ७.२६ प्रतिशत र आइएमई लाइफको शुन्य दशमलव ७० प्रतिशतले बढेको छ । अन्य कम्पनीहरुको तुलनामा यी दुई कम्पनीले नयाँ व्यवसाय थप्नमा ब्यालेन्स मेन्टेन गरेको देखिएको छ ।

त्यस्तै, चालु आवको वैशाख मसान्तसम्म नयाँ ब्यवसायबाट सबैभन्दा शुल्क भित्र्याउनेमा नेपाल लाइफ नै रहेको छ । नेपाल लाइफले सो अवधिसम्म ४ अर्ब ४९ करोड २३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, नेशनलले २ अर्ब ८८ करोड र सुर्यज्योतिले २ अर्ब ६ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*