जीवन बीमा कम्पनीहरुले नविकरणमार्फत संकलन गरे झण्डै एक खर्ब प्रिमियम, बृद्धिदरमा मर्ज हुन लागेका महालक्ष्मी र प्रभु अगाडी (तथ्याङ्कसहित)

१७ जेष्ठ २०८०, बुधबार १२:३९

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको १० महिनासम्ममा नविकरणमार्फत ९० अर्ब ७८ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको विवरणअनुसार १५ जीवन बीमा कम्पनीले करिब एक खर्ब नविकरण बीमा शुल्क आर्जन गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुले नविकरणमार्फत आर्जन गरेको यो बीमा शुल्क गत वर्षको तुलनामा १४.७२ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिसम्म कम्पनीहरुले ७९ अर्ब १३ करोड ६७ लाख रुपैयाँ नविकरणमार्फत प्रिमियम कलेक्सन गरेका थिए ।

यस अवधिसम्म जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय भन्दा नविकरणमार्फत व्यवसाय फस्टाएको देखिएको छ । चालु आर्थिक वर्षमा आर्थिक संकट भएसँगै कम्पनीहरुको नयाँ व्यवसाय भन्दा पनि नविकरणमार्फत नै व्यवसाय बृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

वैशाख मसान्तसम्म सबैभन्दा बढी नविकरणमार्फत बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ अग्रपङ्तीमा रहेको छ । नेपाल लाइफले सो अवधिसम्म २५ अर्ब १६ करोड नविकरणमार्फत प्रिमियम कलेक्सन गरेको छ । त्यस्तै, एलआइसी नेपालले १२ अर्ब ३५ करोड, हिमालयन लाइफले १० अर्ब ४४ करोड, नेशनल लाइफले ९ अर्ब ५१ करोडमाथि नविकरणमार्फत प्रिमियम कलेक्सन गरेको छ ।

त्यस्तै, गत वर्षको तुलनामा सबैभन्दा बढी नविकरण बीमा शुल्क आर्जन बढाउने कम्पनीमा महालक्ष्मी लाइफ अगाडी रहेको छ । महालक्ष्मी लाइफले गत वर्षको तुलनामा यस अवधिसम्म नविकरण बीमा शुल्क ५७.८२ प्रतिशतले बढाएको छ । त्यस्तै, दोस्रोमा प्रभु लाइफले पनि सो अवधिसम्म ५३.९३ प्रतिशतले यस्तो प्रिमियम बढाएको छ ।
साथै रिलायबल नेपाल लाइफले ४७.३० प्रतिशत, सिटिजन लाइफले ४५.७१ प्रतिशत, आइएमई लाइफले ४५.३६ प्रतिशत, सन नेपाल लाइफले ३५.५५ प्रतिशत र सानिमा रिलायन्स लाइफले २७.४२ प्रतिशतले नविकरण बीमा शुल्क आर्जन बढाएका छन् । यस अवधिसम्म सबै जीवन बीमा कम्पनीहरुको यस्तो प्रिमियम कलेक्सन बढेको देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*