जीवन बीमा कम्पनीको व्यवसाय बागमतिमा सबैभन्दा धेरै, अन्य प्रदेशको अवस्था कस्तो ?

१७ जेष्ठ २०८०, बुधबार १६:२४

काठमाडौं । नेपालमा संचालित रहेका जीवन बीमा कम्पनीहरु बैशाख महिनासम्ममा एक खर्ब १४ अर्व १० करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । सावधिक जीवन बीमा, अग्रिम जीवन बीमा, रुपान्तरित जीवन बीमा, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमा, आजिवन जीवन बीमा, एकल बीमा शूल्क जीवन बीमा, म्यादि जीवन बीमा र लघु जीवन बीमा लगायतका बीमालेखबाट सो रकम आर्जन गर्न सफल भएका हुन् ।

 

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको बीमालेखको प्रदेशगत विवरण अनुसार बाग्मती प्रदेशबाट सबैभन्दा बढी बीमा शुल्क संकलन भएको छ । बैशाख महिनासम्ममा बीमा कम्पनीहरुले यस प्रदेशबाट ५१ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । देशको संघिय राजधानी रहेको र जनसंख्या पनि अन्य सबै प्रदेशभन्दा बढी रहेको तथा व्यापारिक केन्द्रको रुपमा विकास भएको कारणले बाग्मती प्रदेशमा बढी बीमा शूल्क संकलन भएको प्रकाशित तथ्यांकले देखाएको छ ।

यसैसँगै, बीमा शुल्क संकलनको आधारमा दोस्रो नम्बरमा लुम्बिनी प्रदेश रहेको छ । बैशाख महिनासम्ममा बीमा कम्पनीहरुले लुुम्बिनी प्रदेशबाट १६ अर्ब ६५ करोड ६९ लाख बीमा शुल्क संकलन गर्न सफल भएका छन् ।

त्यस्तै, बीमा कम्पनीहरुले यस अवधिसम्ममा कोशी प्रदेशबाट १३ अर्व ७० करोड ८५ लाख रुपैयाँ, मधेश प्रदेशबाट १० अर्व ५५ करोड १ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट ११ अर्व ३९ करोड, कर्णाली प्रदेशबाट ४ अर्व ६१ करोड ७५ लाख रुपैयाँ र सुदुरपश्चिम प्रदेशबाट ५ अर्ब ८३ करोड ८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

जीवन बीमा कम्पनीहरुले कर्णाली प्रदेशबाट सबैभन्दा कम बीमा शुल्क संकलन गरेका छन् । संघिय राजधानीबाट लामो दुरीमा रहेको र शिक्षा तथा बीमा जनचेतनाको अभाव लगायत अन्य थुप्रै कारणले बीमा व्यापार घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*