एक वर्षमा बीमा व्यवसाय ३ प्रतिशतले मात्रै बृद्धि, सरकारले अनिवार्य गरेपछि वैदेशिक रोजगार जीवन बीमालेख संख्या ह्वात्तै बढ्यो

२३ जेष्ठ २०८०, मंगलवार १५:४५

काठमाडौं । बीमा कम्पनीहरुको व्यवसाय ३.६७ प्रतिशतले बृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वैशाख महिनासम्मको विवरणको आधारमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ४६ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

गत वर्षको यसै अवधिसम्म बीमा कम्पनीहरुले एक खर्ब ४१ अर्ब ५९ करोड ९२ लाख रुपैयाँमात्रै प्रिमियम कलेक्सन गरेका थिए । बीमा कम्पनीहरुको व्यवसायअनुसार सामान्य मात्रै बढेको तथ्याङ्कले देखाएको छ । जसमा जीवन बीमा कम्पनीहरुमार्फत १ खर्ब १४ अर्ब १० करोड ९७ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुमार्फत ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ प्रिमियम कलेक्स भएको छ । जीवन बीमातर्फ ३.३६ प्रतिशत र निर्जीवन बीमातर्फ ४.७८ प्रतिशतले बीमाशुल्क आर्जन बढेको छ ।

साथै गत वर्ष ३३४८ रहेको बीमा कम्पनीहरुको संख्या २०८० साल वैशाख मसान्तसम्म आइपुग्दा कम्पनीहरुको संख्या घटेर २९१५ कायम भएको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि ल्याएको फोर्ज मर्जर नीतिले गर्दा बीमा कम्पनीहरु मर्ज भई एकीकृत कारोबार सुरु गरेका कारण पनि केही कम्पनीहरुले कार्यालय संख्या घटाएका छन् । यसकारण शाखा कार्यालयको संख्या गत वर्षको तुलनामा १२.९३ प्रतिशतले घट्न पुगेको छ । त्यस्तै, यता मर्जरसँगै बीमा कम्पनीहरुले कर्मचारीहरुका लागि अवकाश योजना ल्याएका थिए । जसका कारण कर्मचारीहरुको संख्या समेत ४.९६ प्रतिशतले घटेर ११ हजार २८६ मा कायम भएको छ । गत वर्षको यसै अवधिसम्म कर्मचारीहरुको संख्या ११ हजार ८७५ रहेको थियो ।

साथै २०८० वैशाख मसान्तसम्म आइपुग्दा कुल जीवन बीमालेख संख्या १२.२२ प्रतिशतले बढेर १ करोड ३८ लाख ८३ हजार ३७५ पुगेको छ । गत वर्षको यसै अवधिसम्म जीवन बीमोलेखको संख्या १ करोड २३ लाख ७१ हजार ६९१ रहेको थियो । साथै यता निर्जीवन बीमालेखपट्टि भने सामान्य मात्रै बृद्धि भएको छ ।

२०७९ वैशाख महिनासम्म २३ लाख ४८ हजार २३२ रहेको निर्जीवन बीमालेख संख्या यस वर्षको सोही अवधिसम्म ०.१० प्रतिशत बढेर २३ लाख ५० हजार ६५२ पुगेको छ ।
त्यस्तै, यता जीवन बीमालेख संख्या (म्यादी, लघु र वैदेशिक रोजगार) बाहेकका जीवन बीमालेख ८.८७ प्रतिशतले बढेको छ, भने म्यादी र लघुम्यादी जीवन बीमालेख संख्या ६.१० प्रतिशतले बढेको छ । त्यस्तै, वैदेशिक रोजगार बीमालेख संख्या ७८.२३ प्रतिशतले बढेको छ । जीवन बीमातर्फ सरकारले वैदेशिक रोजगारमा गएका श्रमिकहरुका लागि जीवन बीमा अनिवार्य लागू गरेपछि वैदेशिक रोजगार जीवन बीमालेखको संख्या ह्वात्तै बढ्न पुगेको हो । गत वर्ष ८ लाख ५४ हजार ६६७ रहेको वैदेशिक रोजगार बीमालेख संख्या ७८.२३ प्रतिशतले बढेर १५ लाख २३ हजार २६८ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*