बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापना गर्ने, सम्पूर्ण कम्पनीको जानकारी अब एकै थलोबाट

२४ जेष्ठ २०८०, बुधबार १४:३२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्रको रुपमा कार्य गर्न एक पब्लिक लिमिटेड कम्पनीको स्थापना गर्ने भएको छ । प्राधिकरणले तयार पारको बीमा नियमावली २०८० को मस्यौदामा बीमा सूचना केन्द्र स्थापना गर्ने व्यवस्था समेटिएको छ ।

जसमा बीमा सूचना केन्द्रले बीमा सम्बन्धी सूचनाको संकलन, भण्डारण तथा वितरण गर्नेछ । बीमा क्षेत्रमा फैलिएको ठगी, जालसाजी, किर्ते लगायतका बीमा अपराध गरेको वा अस्वभाविक वा शंकास्पद बीमा गतिविधि गर्ने बीमितलाई आवश्यकता अनुसार कालोसूचीमा वा शंकास्पदको सूचीमा राख्ने व्यवस्था गरिनेछ ।

बीमा प्राधिकरणले बीमा क्षेत्रमा देखिएका विसङ्गतीलाई नियन्त्रण गर्न र बीमा सम्बन्धी जानकारी बढाउन सूचना केन्द्र स्थापना गर्न लागेको हो । सो सूचना केन्द्रमार्फत बीमा ऐनको दफा १४३ को उपदफा (४) बमोजिमको सूचना संकलन गरी अभिलेख राख्ने, बीमा सम्बन्धी आवधिक प्रतिवेदन तयार गर्ने गर्नेछ ।

त्यस्तै, प्राधिकरणले निर्धारण गरेका अन्य तथ्याङ्क समेत सूचना केन्द्रमा संकलन गरिनेछ । साथै केन्द्रको प्रबन्धपत्र र नियमावलीमा उल्लेख भएका अन्य उद्देश्य अनुरुप कार्य गर्नेछ । कार्य सम्पादन गर्न आवश्यक विवरण, सूचना तथा जानकारी बीमकले बीमा सूचना केन्द्रलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था नियमावलीमा समेटिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*