यस्ता छन् धितोपत्र बोर्डका आगामी लक्ष्य तथा प्राथमिकताका १३ बुँदा

काठमाडौं । पुँजिबजारको नियामकिय निकाय नेपाल धितोपत्र बोर्डले ३१औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उनले बोर्डलाई आगामी दिनमा पुँजिबजारमा देखिएका समस्यालाई निराकरण गर्न निर्देशन समेत दिएका थिए ।
बोर्डले बार्षिकोत्सवको अवसरमा आज सार्वजनिक गरेको विशेषाङ्गमा आगामी लक्ष्य तथा प्राथमिकता प्रकाशित गरेको छ । बोर्डले आगामी दिनमा विश्वसनीय, स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने कार्यलाई थप निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।
कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महतले धितोबजारमा प्राइभेट इक्वीटी फण्ड, भेञ्चर क्यापिटल जस्ता विभिन्न खालका उपकरणलाई समय सापेक्ष हिसाबले अन्तर्राष्ट्रिय स्तरमा भए जसरी अगाडी बढाउन निर्देशन समेत दिएका छन् ।
यस्ता छन् बोर्डका आगामी लक्ष्य तथा प्राथमिकता
१) धितोपत्र तथा वस्तु विनिमय बजारको विकास गरी आईओएससीओको मापदण्ड अनुरूपको बनाउँदै लैजाने ।
२) लगानीकर्ताहरूको हक हित संरक्षणका लागि धितोपत्र सम्बन्धी कानुन विपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई कारवाहीको दायरमा ल्याउने ।
३) बोर्डबाट सम्पादन गरिने कार्यहरूलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्ने एवं विद्यमान जनशक्तिको क्षमता विकासका लागि उच्चस्तरीय तालिम प्रदान गर्ने साथै भौतिक पूर्वाधार विकास गर्ने ।
४) विश्वस्तरीय प्रविधि एवं प्रविधि संचालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई एआईमा आधारित रेगटेक मार्फत चुस्त दुरुस्त बनाई बजारमा चलखेल एवं अनुचित कृयाकलापलाई निरूत्साहन गर्ने ।
५) बोर्डमा धितोपत्र दर्ता तथा अनुमतिका लागि पेश भएका निवेदनहरूलाई मेरीट बेस्ड फाइलका आधारमा प्रकृया अगाडि बढाउने ।
६) बुक बिल्डिंग प्रणाली दिगो एवं पारदर्शी रूपमा संचालनमा ल्याउनका लागि अन्तराष्ट्रियरूपमा प्रयोगमा रहेको एईएएस तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा भित्रयाउने ।
७) सार्वजनिक निष्काशनमा स्वच्छ तथा पारदर्शी प्रणाली लागू गरी ठुला ठुला युटीलिटीज कम्पनी र व्यवसायिकरूपमा सफल तथा स्थापित अन्य कम्पनीहरूलाई धितोपत्र बजारमा सूचीकरण गराई सोमा सर्वसाधारणको स्वामित्व बढाउनुका साथै बजार विस्तार तथा सन्तुलन मिलाउने ।
८) पर्याप्त पुँजी नभएका उद्यमी तथा नवप्रवर्तकका लागि प्राईभेट इक्विटी तथा भेञ्चर क्यापिटलको माध्यमबाट पुँजी तथा व्यवसयिक ज्ञान परिचालन गर्न सक्ने गरी अनुमतिपत्र प्रदान गरी समुन्नतिको दायरमा बढाउने ।
९) साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्मका लागि आवश्यक कानुनीक व्यवस्था मिलाई व्यवसायिक कृषिजन्य उद्यमलाई पुँजी बजारमा आवद्ध गर्ने ।
१०) वस्तु विनिमय बजार संचालन व्यवस्था मिलाउने ।
११) बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने ।
१२) बजार सहभागीहरूको व्यवसायिक तथा कार्य क्षेत्र एवं स्तर अभिवृद्धि गर्ने ।
१३) प्रदेशस्तरमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिवृद्धिसहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्दै जाने ।
समग्रमा बजारको विकास तथा विस्तार गर्ने, कानुनी संरचनामा सुधार गर्ने, संस्थागत तथा नियमन क्षमता सवलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षणमार्फत् स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्ने बोर्डको प्राथमिकता रहेको बोर्डले जनाएको छ ।