आइएमई लाइफले असार १ गतेदेखि आईपिओ निष्काशन गर्ने, विदेशमा बस्ने र सर्वसाधारणले कहिले भर्ने ?

२६ जेष्ठ २०८०, शुक्रबार ०८:४७

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्काशन गर्न लागेको आईपिओ यही असार १ गतेबाट बिक्री खुल्ला हुने भएको छ । नेपालमै पहिलो पटक आइएमई लाइफले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले नियुक्त गरेको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जारी गरेको सूचना अनुसार यही असार १ गतेदेखि बैदेशिक रोजगारीमा रहेकाहरुले आवेदन दिन पाउनेछन् भने अन्य सर्वसाधारणले असार २० गतेदेखि आवेदन दिन पाउनेछन् ।

कम्पनीमा हाल कायम रहेको कूल जारी पूँजी ४ अर्बको ३० प्रतिशतका दरले एक अर्ब २० करोड रुपैयाँ बराबरका एक करोड २० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । तर, उक्त आईपिओमा १३६.९१ रुपैयाँ थप प्रिमियम मूल्य तिरेर खरिद गर्नुपर्ने हुन्छ । प्रिमियम मूल्यमा आईपिओ जारी गरिएकोले प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले सर्वसाधारण र विदेशमा रोजगारीमा गएकाहरुले उक्त आईपिओ खरिद गर्न पाउनेछन् । पहिलो चरणमा कूल निष्काशन हुने आईपिओको एक करोड २० लाख कित्ता साधारण शेयको १० प्रतिशत अर्थात १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुले आवेदन खुल्ला गरिनेछ ।

असार १ गतेदेखि असार १५ गतेसम्म बैदेशिक रोजगारीमा गएकाहरुले आवेदन भर्न पाउने छन् । त्यस्तै, असार २० गतेदेखि सर्वसाधारणको लागि आइएमई लाइफको आईपिओ बिक्री खुल्ला हुनेछ ।
कूल आईपिओका ५ प्रतिशत अर्थात ६ लाख कित्ता सामुहिक लगानी कोषलाई वितरण गरिनेछ भने ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुको लागि छुटाएर कायम हुने आएको ९६ लाख कित्ता शेयर र बिक्री नभई बाँकी रहेमा यसअघि आरक्षण गरिएको शेयर थप गरी कूल कायम हुन आउने शेयर सर्वसाधारणका लागि विक्री गरिने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

उक्त प्रिमियम मूल्यका आईपिओमा न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
उक्त आइपीओमा सिडिएससीले सञ्चालन गरिरहेको मेरो शेयर मोबाइल एपबाट आवेदन दिन सकिनेछ । त्यस्तै, मोबाइल बैंकिङ एपमार्फत पनि आवेदन दिन सकिनेछ भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*