बीमा कम्पनीहरुको विदेशमा शाखा खोल्न के छ नीतिगत प्रक्रिया ?

२६ जेष्ठ २०८०, शुक्रबार ११:१०

काठमाडौं । बीमा कम्पनीहरुले अब विदेशमा पनि शाखा वा सम्पर्क कार्यालय स्थापना गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा जारी गरिएको बीमा नियमावली २०८० को मस्यौदामा बीमकले विदेशमा शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नका लागि विभिन्न कागजात तथा विवरण पेश गर्नुपर्नेछ ।

बीमकले व्यवसायिक योजना, लाभ–लागत तथा जोखिम विश्लेषण सहितको सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्नुपर्नेछ । साथै कार्यालय स्थापनाको लागि आवश्यक अनुमानित लागत, प्राधिकरणले तोकेको न्यूनतम सोल्भेन्सी मार्जिन कायम गरेको, कार्यालय स्थापना गर्न प्रस्ताव गरिएको देशबाट लाभांश, मुनाफा, पुँजी नेपालमा भित्र्याउन वा फिर्ता गर्न सकिने नीतिगत व्यवस्था उक्त देशमा रहेको विवरण समेत बुझाउनुपर्नेछ ।

त्यस्तै, कार्यालय खोल्न प्रस्ताव गरिएको देशसँग नेपालको द्विपक्षीय सम्बन्ध रहेको हुनुपर्ने नियमावलीमा रहेको छ । साथै नियमावलीबमोजिम निवेदन उपर जाँचबुझ गरी कार्यालय खोल्न दिने वा नदिने सम्बन्धमा प्राधिकरणले निवेदन प्राप्त भएको मितिले साठी दिनभित्र निर्णय गर्नुपर्ने प्रावधान रहेको छ ।

साथै नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि प्राधिकरणले बीमाको पहुँच विस्तार गर्न आवश्यकता अनुसार बीमकलाई शाखा कार्यालय खोल्न निर्देशन दिन सक्ने नियमावलीमा रहेको छ ।

साथै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले स्वदेशमै आफ्ना शाखा कार्यालय खोल्नका लागि नेपाल बीमा प्राधिकरणसमक्ष संचालक समितिको निर्णय, कार्यालय स्थापना गर्ने प्रस्तावित स्थान, वित्तीय रुपले सम्भाव्य रहेको स्थलगत अध्ययन प्रतिवेदन, जनशक्ति र पूर्वाधारको व्यवस्थापन र प्राधिकरणले निर्धारण गरेका अन्य विषयको विवरण बुझाउनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*