सेजन पूर्वअध्यक्ष सापकोटाको उपन्यास ‘सेयरपुर’ सार्वजनिक

२६ जेष्ठ २०८०, शुक्रबार १३:०८

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष नारायणप्रसाद सापकोटाद्वारा लिखित उपन्यास सेयरपुर सार्वजनिक गरिएको छ । बिहीबार सेजनद्वारा आयोजित सेयरपुर पुस्तक माथिको विमर्श कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानसहित सेजनका वर्तमान तथा पूर्वअध्यक्षहरूद्वारा उपन्यासको विमोचन गरिएको हो ।

पुस्तक माथिको छलफलमा धितोपत्र बोर्डका अध्यक्ष हमालले पुस्तकले सेयर बजारमा लगानी गर्नको लागि प्रोत्साहित गरेको बताए । नेपालमा पुँजी बजार क्रमशः विस्तार हुँदै गएको हमालको भनाइ थियो ।

उपन्यासमा रहेको पदम पात्रसँग सन्दर्भ जोड्दै हमालले आफू पनि नेपालमा विरक्त लागेर विदेश २० वर्ष बसेर पुन नेपालमा आएको स्मरण गरे । नेपालको सेयर बजार अझै सानो रहेको र पारदर्शी नभएको बताउँदै उनले पारदर्शी बनाउन प्रतिस्पर्धाको वातावरण तय गरिँदै लगेको बताए । हमालले क्षमता हुनेले व्यवसाय गर्न पाउने गरी वातावरण तय गरिएको दाबी गरे। नयाँ ब्रोकर लाइसेन्स दिनको लागि लाइसेन्स दिएको र यसले बजार विस्तार र सरकारको राजस्व वृद्धिमा सहयोग पु¥याएको उनको भनाई थियो ।

सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारहरूले सेयरमा लगानी गर्दा स्वनियमनमा बस्न सक्नु पर्ने बताए । पत्रकारले आफू किन्ने बेला बजार घटाउने, बेच्ने बेला बढाउने खालका समाचार लेख्न नहुने उनको भनाई थियो । नयाँ स्टकलाई लाइसेन्स दिन, नयाँ ब्रोकर आउनु राम्रो भए पनि नयाँ कम्पनी आउँदा पारदर्शिता हुनु पर्ने उनको भनाई थियो ।

पुस्तकमाथि समालोचना गर्दै सेजन पूर्वअध्यक्ष विज्ञानविभु अधिकारीले लेखक सापकोटाले जटिल विषयलाई सरल भाषामा उपन्यास लेखिएको बताए । पुस्तकमा सेयर बजारमा लगानी गर्दा भएको सफलता असफलता र पुन लगानी गर्ने हुटहुटी लगायतका विषयमा उपन्यासका पात्र रमेश र पदम लगायतबाट खुलाइएको उनको भनाई थियो । पुस्तक र लेखकका विषयमा सेजन पूर्व अध्यक्षहरू प्रदिप चापागाईँ, गोकर्ण अवस्थी, निवर्तमान अध्यक्ष भीमप्रसाद गौतमले आफ्नो धारणा राखेका थिए। सेजन अध्यक्ष जनार्दन बरालले लेखक सापकोटाले नेपाली पाठक र लगानी कर्तालाई पठनीय पुस्तक दिएको बताए ।

उपन्यासका लेखक सापकोटाले पत्रकारले सेयर बजारमा लगानी गरे पनि सूचनाको गलत प्रयोग गर्नु नहुने बताए । हाल अमेरिकामा समेत सेयर लगानीकर्ता रहेका सापकोटाले गैर आवासीय नेपालीलाई सेयर बजार निश्चित क्षेत्रमा मात्रै नभई सबै क्षेत्रमा खुला गर्न आग्रह गरे । सेयरपुर उपन्यासको मूल्य ५०० रुपैयाँ र विदेशमा १० डलर रहेको छ । उपन्यास ३९ अध्यायमा विभाजित रहेको छ ।

लेखक सापकोटा स्नातक पत्रकारितामा स्नातकोत्तर गरेका छन् । अहिले नेपाल र अमेरिकाको सेयर बजारका लगानीकर्ता छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*