घोराही सिमेन्टको आइपीओमा आजदेखि आवेदन दिन सकिने, १० कित्ता आइपीओको लागि ४ हजार बढी रकम छुट्याउनुपर्ने

काठमाडौं । घोराही सिमेन्टको आइपीओमा आज (बिहीबार) जेठ ३२ गतेदेखि आवेदन दिन सकिने छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेको हो ।
कम्पनीले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्काशन गरेको छ । जस अनुसार प्रतिकित्ता ४३५ रुपैयाँ दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ सर्वासाधारणका लाग खुल्ला हुनेछ । यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ ।
साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि शेयर बाँडफाँड गरिसकेको छ । त्यसबेला नबिकेका बाँकी शेयरसमेत थपेर सर्वसाधारणलाई जारी गर्न लागिएको हो । कम्पनीले निष्काशन गरेको आइपीओमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आइपीओ बिक्री नभएमा असार १४ गतेसम्म बिक्री खुला रहनेछ । घोराहीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । केयर नेपालले घोराही सिमेन्ट आइपीओलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम रहेको संकेत गर्छ ।