प्रभु महालक्ष्मी लाइफका कर्मचारीमाथि मर्जर आतंक, जागिर छोडेर जान दबाब

१९ भाद्र २०८०, मंगलवार २०:३०

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीमाथि व्यवस्थापकहरुले मर्जर आतंक सुरु गरेका छन् । स्थायी कर्मचारीहरु निकाल्न नमिल्ने भएपछि पेलेर भित्ता पुर्याउने नीति अन्तर्गत करिब दुई दर्जन कर्मचारीहरुलाई जागिर छोडेर जान दवाव दिइएको गुनासो पीडितहरुले गरेका छन् ।

मर्जर सुरु हुनुअघि तामझामका साथ कर्मचारी समायोजन गर्ने भनेको कम्पनीले हाल २ दर्जन कर्मचारीहरुलाई व्यवस्थापन पाटोको कारण समस्या भएको भन्दै राजिनामा माग गरेको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा मर्जरका कारण कसैलाई पनि जागिरबाट ननिकाल्न भनेको छ । तर, कम्पनीका उच्च व्यवस्थापकले स्थायी कर्मचारीहरुलाई राजिनामा माग गरेको पीडित कर्मचारीहरुको गुनासो छ । बीमा प्राधिकरणको निर्देशन नै उल्लंघन गरेर कर्मचारीमाथि कम्पनीले अपमानजनक व्यवहार गरेको प्रभु महालक्ष्मी लाईफका पीडित कर्मचारीहरुको गुनासो छ ।

‘प्राधिकरणले मर्जरमा गएका कम्पनीहरुलाई जागिरबाट हटाउने वा घटुवा गर्न नपाउने कुरा गरेको थियो । त्यो पनि पालना भएन् र हामी रोजगारी खोसिने अवस्था आयो’, पीडित कर्मचारीले बीमापोष्टसँग दुखेसो पोखे ।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जरमा जानुअघि कर्मचारीहरुलाई सेवा सुविधा बढाउने कुरा भएपनि अन्तिममा एकाएक चाडवाडको पूर्व सन्ध्यामा धोका दिएको आरोप पीडित कर्मचारीहरुको छ ।

कर्मचारीहरुलाई निकाल्ने नीतिमा रहेको कम्पनीको व्यवस्थापनले स्थायी नियुक्ति भएका कर्मचारीहरुलाई आर्थिक संकटकै बीचमा पूरा गर्नै नसक्ने टार्गेट दिएर कामको चाप बढाउने र मानिसिक तनाव दिने काम गरेको आरोप लगाएका छन् ।

मर्जरअघि प्रभु महालक्ष्मी लाइफ इन्स्योरन्सले अवकाश पाउन लागेका कर्मचारीहरुलाई सकेसम्म ढिलो बिदा गर्ने आश्वासन दिइएको थियो । राजीनामा दिएर जाँदा पाउने विशेष सेवा सुविधाको सुनिश्चितता नभई आफूहरुलाई राजीनामा दिन पनि गाह्रो भएको र काम गर्ने वातावरण पनि नभएको कर्मचारीहरुको गुनासो छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*