ओरिएन्टल इन्स्योरेन्सको बीमाशुल्क आर्जन २१ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

२८ कार्तिक २०८३, शनिबार १७:३७

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ३२ करोड ६० लाख ९१ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद घाटा २८ करोड ४८ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले समीक्षा अवधिमा ५२ करोड ९३ लाख ३४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आर्जन ४३ करोड ६६ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।  त्यस्तै, खुद बीमाशुल्क आर्जन पनि गत वर्षको २८ करोड ८ लाख ५७ हजार रुपैयाँबाट बढेर ३१ करोड ५५ लाख २७ हजार रुपैयाँ पुगेको छ । खुद बीमाशुल्कमा २१.३४ प्रतिशतको वृद्धि देखिएको हो ।

कम्पनीले समीक्षा अवधिमा पुनर्बीमा शुल्कबापत २१ करोड ३८ लाख ६ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १५ करोड ५८ लाख ७ हजार रुपैयाँ रहेको थियो । पुनर्बीमा शुल्क कट्टीपछि कम्पनीको खुद आर्जित बीमाशुल्क ३१ करोड ५५ लाख रुपैयाँ कायम भएको छ । यसबाहेक कम्पनीले कमिसन आम्दानीबाट १३ करोड ३७ लाख ५ हजार रुपैयाँ, लगानी तथा कर्जाबाट ३ करोड ८० लाख ५० हजार रुपैयाँ र अन्य स्रोतबाट समेत आम्दानी गरेको छ ।

आम्दानीमा वृद्धि भए पनि दाबी तथा सञ्चालन खर्च उच्च हुँदा कम्पनीको नोक्सानी बढेको देखिन्छ । कम्पनीले असोजसम्म ५४ करोड ९६ लाख १५ हजार रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । पुनर्बीमाबाट प्राप्त हुने दाबी रकम ३६ करोड ७८ लाख ९३ हजार रुपैयाँ रहेको छ । बीमा करार दायित्वमा भएको परिवर्तनसमेत समायोजन गर्दा कम्पनीको खुद दाबी खर्च ६५ करोड ९६ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो खर्च ५५ करोड ४८ लाख ३९ हजार रुपैयाँ थियो ।

कम्पनीको कुल खर्च ८१ करोड ८९ लाख ३३ हजार रुपैयाँ रहेको छ । यसमध्ये कमिसन खर्च ८ करोड ३२ लाख १४ हजार रुपैयाँ, कर्मचारी सुविधामा ४ करोड ४४ लाख ३७ हजार रुपैयाँ, सेवा शुल्कमा ६४ लाख ६३ हजार रुपैयाँ, अन्य प्रत्यक्ष खर्चमा ६ लाख ९१ हजार रुपैयाँ, ह्रासकट्टी तथा अमोर्टाइजेसनमा ४३ लाख ४८ हजार रुपैयाँ र अन्य सञ्चालन खर्चमा १ करोड २२ लाख २२ हजार रुपैयाँ रहेको छ । त्यस्तै, वित्तीय लागत ७९ लाख २४ हजार रुपैयाँ पुगेको छ । कुल आम्दानीभन्दा खर्च बढी भएपछि कम्पनीको करअघिको घाटा ३३ करोड १५ लाख ९२ हजार रुपैयाँ कायम भएको छ ।

वित्तीय अवस्थातर्फ कम्पनीको कुल सम्पत्ति १३ अर्ब २७ करोड ४७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यमा कम्पनीको कुल सम्पत्ति ११ अर्ब ६४ करोड ७० लाख रुपैयाँ थियो । कम्पनीको कुल सम्पत्तिमा लगानीको हिस्सा पनि महत्वपूर्ण रहेको छ । समीक्षा अवधिमा कम्पनीको कुल लगानी ४ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीको पुनर्बीमा सम्पत्ति ७ अर्ब १६ करोड ४९ लाख रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थामा रहेको नगद तथा नगद बराबरको रकम २६ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*