नेपाली बीमा कम्पनीहरुले कर्मचारीलाई एक अर्ब ३२ करोड रुपैयाँ बोनस बाँड्दै, कुन बीमा कम्पनीका कर्मचारीले कति पाउँदैछन् ? (सूचीसहित)

राजन कठायत
२६ भाद्र २०८०, मंगलवार १९:२९

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरुले आर्थिक वर्षमा आर्जित मुनाफाबाट एक अर्ब ३२ करोड रुपैयाँ आफ्ना कर्मचारीहरुलाई बोनस बापत वितरण गर्दैछन् । गत आवको वित्तीय विवरणमा १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जीवन बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुले आव २०७९।०८० मा गरेको परिश्रमबाट सो रकम बोनस बापत पाउनेछन् ।

कर्मचारीको बोनसको लागि मात्रै बीमा कम्पनीहरुले वित्तीय विवरणमै बोनस रकम छुट्याएका छन् । प्रत्यक बीमा कम्पनीहरुले निश्चित मापदण्ड बनाएर मुनाफा (कर तिर्नु अघि) को केही प्रतिशत रकम कर्मचारीलाई बोनस वापत छुट्याउने गरेका छन् । बीमा कम्पनीहरुले यसरी छुट्याएको रकमबाट कर्मचारीलाई बोनस वितरण गर्दै आएका छन् । गत आवमा छुट्याएको बोनस रकम अधिकांश बीमा कम्पनीहरुले वितरण गर्न बाँकी छ भने केहीले विवरण गरिसकेका छन् ।

गत आर्थिक वर्षको मुनाफाबाट २८ बीमा कम्पनीहरुले कर्मचारी बोनसको लागि छुट्याएको रकम ३७ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९६ करोड ६२ लाख ४३ हजार रुपैयाँ छुट्याएका थिए भने गत आवमा एक अर्ब ३२ करोड छुट्याएका छन् ।

हाल सञ्चालन रहेको १४ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिमसम्ममा ५४ करोड ८३ लाख रुपैयाँ कर्मचारी बोनस वितरणका लागि छुट्याएका छन् । कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले ७७ करोड ५८ लाख ८८ हजार रुपैयाँ कर्मचारीहरुलाई बोनस वापत वितरणका लागि छुट्याएका छन् ।

जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा ४१ करोड २४ लाख रुपैयाँ कर्मचारीलाई बोनस छुट्याएका थिए । अघिल्लो आवको तुलनामा कर्मचारीको बोनस ३२ दशमलव ९४ प्रतिशतले बृद्धि भएको प्रकाशित वित्तीय विवरणले देखाएको छ । समीक्षा अवधिमा नेपाल लाइफले सबैभन्दा बढी रकम कर्मचारीलाई बोनस वापत वितरणका लागि छुट्याएको छ । यस अवधिमा कम्पनीले आफ्ना कर्मचारीलाई ९ करोड २९ लाख रुपैयाँ बोनस वापत वितरणका छुट्याएको छ ।

दोस्रो नम्बरमा सन नेपाल लाइफ रहेको छ । यस अवधिमा कम्पनीले कर्मचारीलाई ७ करोड ४३ लाख रुपैयाँ बोनस वापत वितरणका लाथि छुट्याएको छ । यसका साथै साविकका तीन कम्पनी मर्ज भई बनेको हिमालयन लाइफले ६ करोड ४५ लाख रुपैयाँ कर्मचारी बोनस वापत वितरणका लागि छुट्याएको छ ।

त्यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्ममा नेशनल लाइफले चार करोड ८३ लाख रुपैयाँ, मेट लाइफले चार करोड ४८ लाख रुपैयाँ, रिलायबलले चार करोड ३२ लाख रुपैयाँ, सूर्यज्योतिले तीन करोड २६ लाख रुपैयाँ, एशियनले तीन करोड २६ लाख रुपैयाँ र सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानले ५६ लाख २१ हजार रुपैयाँ कर्मचारीहरुलाई बोनस वापत वितरणका लागि छुट्याएको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

भर्खरै आइपीओ निष्काशन गरेको सन नेपाल लाइफले आफ्ना कर्मचारीलाई वितरण गर्ने बोनसको दायरा बृद्धि गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको कर्मचारी बोनस ब्यवस्था दुई सय ११ प्रतिशतले बृद्धि भएको प्रकाशित वित्तीय विवरणले देखाएको छ । दोस्रो नम्बरमा रहेको आइएमई लाइफको ७८ प्रतिशत र तेस्रो नम्बरमा रहेको सिटिजन लाइफको ६५ प्रतिशतले कर्मचारी बोनस ब्यवस्थाको आकार बृद्धि गरेको छ ।

समीक्षा अवधिमा रिलायबल नेपालले ५७ प्रतिशत, हिमालयन लाइफले ४९ प्रतिशतले आफ्ना कर्मचारीलाई वितरण गरेको बोनस व्यवस्था बृद्धि गरेको छ । त्यस्तै, नेपाल लाइफ र एलआइसी नेपालले अघिल्लो आर्थिक वर्षमा आफ्ना कर्मचारीहरुलाई बोनस वितरण गरेको भएतापनि वित्तीय विवरणमा चाँही उल्लेख गरेको छैन ।

यसका साथै, प्रभु महालक्ष्मी लाइफ, नेशनल लाइफ, मेट लाइफ, सानिमा रिलायन्स लाइफ, सूर्यज्योति लाइफ, एशियन र राष्ट्रिय बीमा संस्थानले आफ्ना कर्मचारीलाई वितरण गर्ने बोनसको आकार घटाएको छ ।

हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७७ करोड ५८ लाख ८८ हजार रुपैयाँ कर्मचारीहरुलाई बोनस वापत वितरणका लागि छुट्याएका छन् । कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५५ करोड ३७ लाख ६६ हजार रुपैयाँ कर्मचारी बोनस वितरणका लागि छुट्याएका थिए । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतले बृद्धि भएको छ ।

समीक्षा अवधिमा नेको इन्स्योेरेन्सले सबैभन्दा बढी रकम आफ्ना कर्मचारीलाई बोनस वापत वितरणका लागि छुट्याएको छ । कम्पनीको कर्मचारी बोनस अघिल्लो वर्षको ८ करोड ५३ लाख रुपैयाँबाट बृद्धि भई ९ करोड ९ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६ प्रतिशत बढी हो ।  निर्जीवन बीमा कम्पनीहरुमा कर्मचारी बोनसको आधारमा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनी दोस्रो स्थानमा रहेको छ । यस अवधिमा कम्पनीले सात करोड ९७ लाख रुपैयाँ बराबरको कर्मचारी बोनस वितरणका लागि छुट्याएको छ ।

तेस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सात करोड ७७ लाख रुपैयाँ वितरणका लागि छुट्याएको छ । यसका साथै, नेपाल इन्स्योरेन्सले छ करोड ६३ लाख रुपैयाँ, हिमालयन एभरेष्टले छ करोड ६३ लाख रुपैयाँ, ओरियन्टलले छ करोड ३५ लाख रुपैयाँ, शिखरले छ करोड २५ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरले पाँच करोड ८२ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले चार करोड २७ लाख रुपैयाँ वितरणका लागि छुट्याएको छ ।

त्यस्तै, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चार करोड १४ लाख रुपैयाँ, सानिमा जिआईसीले चार करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले तीन करोड ४५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको तीन करोड ६ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सको दुई करोड ८६ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरणका लागि छुट्याएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*