नक्कली नियुक्ति पत्र बनाई विद्यालयमा पदस्थापना भएकी यादवविरुद्ध अदालतमा मुद्दा दायर

२ आश्विन २०८०, मंगलवार १७:११

काठमाडौं । नक्कली नियुक्ति पत्र बनाई विद्यालयमा पदस्थापना भएको आरोपमा अख्तियारले निलम कुमारी यादवविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका वडा नं. ९ स्थित श्री रामजानकी प्राथमिक विद्यालयकी शिक्षिका निलम कुमारी यादवलाई जिल्ला शिक्षा कार्यालय, धनुषाले २०७१ असोज ७ गते श्री भानु उ.मा.वि., किसानपुरबाट श्री रामजानकी प्राथमिक विद्यालय कटरैत, धनुषाको प्रा.वि. दरबन्दीमा पदस्थापन गरेको नियुक्ति नक्कली रहेको भन्ने उजुरीको परेपछि अख्तियारले छानविन प्रक्रिया अगाडि बढाएको थियो ।

छानविनको क्रममा यादवले भानु उच्च माध्यामिक विद्यालय, किसानपुर, धनुषाको शिक्षक पदको नक्कली नियुक्ति पत्र बनाई सोही नक्कली नियुक्ति पत्रको आधारमा श्री राम जानकी प्राथमिक विद्यालय, कटरैतमा पदस्थापना भई नपाएको शिक्षकको पदको ओहदा, अधिकार, हैसियत वा सुविधा पाए भनी शिक्षक पदको ओहदा, अधिकार, हैसियत वा सुविधा प्रयोग गरेको अख्तियारले ठहर गरेको छ ।

यादवसँग मिलेमतो गरी नक्कली नियुक्ति पत्र बनाउने, नक्कली विस्थापन तथा पदस्थापन सम्बन्धी लिखत तयार गरेको आरोपमा जिल्ला शिक्षा कार्यालय, धनुषाका तत्कालिन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलसहित यादवविरुद्ध विशेष अदालत काठमाडौंमा असोज २ गते मंगलबार मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*