बीमा कम्पनीहरूको कुल लगानी १९ प्रतिशतले बढ्यो, बीमाको पहुँच कतिमा पुग्यो ? (सूची सहित)

४ आश्विन २०८०, बिहीबार ११:५०

काठमाडौं । बीमा कम्पनीहरूको कुल लगानी १९ दशमलव २६ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा बीमा कम्पनीहरूको कुल लगानी झण्डै २० प्रतिशत अर्थात् एक खर्ब एक अर्ब ५९ करोड रूपैयाँले बढेर छ खर्ब २८ अर्ब ९६ करोड रूपैयाँ पुगेको हो ।

नेपालमा हाल १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जीवन बीमा कम्पनी, दुईवटा पुनर्बीमा कम्पनी र चारवटा लघुविमा कम्पनीसहितका कुल ३४ वटा बीमा कम्पनीहरू सञ्चालनमा रहेको भए पनि यो कुल लगानी भनेको जीवन र निर्जीवन समेत गरी २८ वटा कम्पनीको भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७८/७९ भने बीमा कम्पनीहरूको कुल लगानी पाँच खर्ब २७ अर्ब ३७ करोड रूपैयाँ मात्र रहेको थियो । बीमा कम्पनीहरूको कुल लगानीमध्ये जीवन बीमा कम्पनीहरूको मात्र कुल लगानी २० दशमलव २९ प्रतिशतले बढेको छ । जसअनुसार आर्थिक वर्ष २०७८/७९ मा चार खर्ब ७३ अर्ब १६ करोड रूपैयाँ रहेको जीवन बीमा कम्पनीहरूको कुल लगानी आर्थिक वर्ष २०७९/८० मा ९६ अर्ब रूपैयाँले बढेर पाँच खर्ब ६९ अर्ब १६ करोड रूपैयाँ पुगेको छ ।

निर्जीवन बीमा कम्पनीहरूको कुल लगानी भने पछिल्लो अवधिमा १० दशमलव ३२ प्रतिशतले बढेको छ । सोअनुसार आर्थिक वर्ष २०७८/७९ मा ५४ अर्ब २० करोड रूपैयाँ रहेको निर्जीवन बीमा कम्पनीहरूको कुल लगानी आर्थिक वर्ष २०७९/८० मा पाँच अर्ब ५९ करोड रूपैयाँले बढेर ५९ अर्ब ७९ करोड रूपैयाँ पुगेको छ । पछिल्लो अवधिमा बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन भने दुई दशमलव ८७ प्रतिशत अर्थात् पाँच अर्ब १० करोड रूपैयाँले बढेको छ ।

प्राधिरणका अनुसार आर्थिक वर्ष २०७८/७९ जीवन र निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन एक खर्ब ७७ अर्ब ८१ करोड रूपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९/८० मा यस्तो रकम बढेर एक खर्ब ८२ अर्ब ९१ करोड रूपैयाँ पुगेको हो । यसरी बढेको कुल रकममध्येमा जीवन बीमा कम्पनीहरूको मात्र कुल बीमाशुल्क संकलन आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा दुई दशमलव ८४ प्रतिशत अर्थात् तीन अर्ब ९३ करोड रूपैयाँले बढेर एक खर्ब ४२ अर्ब ५७ करोड रूपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/०७९ मा जीवन बीमा कम्पनीहरूको यस्तो रकम एक खर्ब ३८ अर्ब ६४ करोड रूपैयाँ थियो ।

प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन दुई दशमलव ९८ प्रतिशत अर्थात् एक अर्ब १७ करोड रूपैयाँले बढेर ४० अर्ब ३४ करोड रूपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो रकम ३९ अर्ब १७ करोड रूपैयाँ थियो ।

पछिल्लो समय जीवन बीमाको दायरमा आएको कुल जनसंख्या भने ३९ दशमलव शून्य तीन प्रतिशत पुगेको छ । यो संख्या भने वैदेशिक रोजगार बीमाबाहेकको हो । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७८/७९ मा यस्तो संख्या ३८ दशमलव ४४ प्रतिशत थियो । वैदेशिक रोजगार बीमासहित जीवन बीमाको दायरामा आएको कुल जनसंख्या भने आर्थिक वर्ष २०७०÷८० मा ४४ दशमलव ३८ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा भने यस्तो संख्या ४१ दशमलव ३९ प्रतिशत रहेको प्राधिकरणको भनाइ छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*