बीमा कम्पनीहरुलाई लक्ष्यमा मात्रै नभई गुणस्तरमा पनि ध्यान दिन बीमा प्राधिकरणका अध्यक्ष सिलवालको निर्देशन

५ आश्विन २०८०, शुक्रबार १३:०९

काठमाडौं । आफ्नो लक्ष्यमा मात्र नभई गुणस्तरमा पनि ध्यान दिन बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।

नेपाल बीमा प्राधिकरणबाट यही असोज ४ गते बिहीबार बीरगञ्जमा आयोजित बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले प्रत्यायोजित अधिकार प्रभावकारी किसिमले पूर्णरूपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले, “बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीहरूले लक्ष्यमा मात्र ध्यान नदिई गुणस्तरमा पनि ध्यान दिनुपर्छ, जोखिमांकन राम्रोसँग गर्नुपर्छ, कानून, नियम, निर्देशिका र निर्देशनहरू पूर्णरुपमा पालना गर्नुपर्छ, कानून, नियम, निर्देशिका विपरित कार्य गरेमा अबको कारवाही स्थानीय कर्मचारीसम्म पुग्छ, सजक भएर काम गर्नुहोला ” भनेका छन् ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले उधारो बीमा निर्जीवन बीमामा मात्र नभई जीवन बीमामा समेत पाइएको उल्लेख गर्दै उधारो बीमा नगर्न र बीमितिको विश्वास जित्नेगरी काम गर्न बीमा कम्पनीका प्रदेश तथा शाखा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

उक्त कार्यक्रममा बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले बीमा अभिकर्ता एक बीमकबाट अर्कोमा जान पाउने प्रावधानबाट असहजता भोग्नुपरेको, सम्पत्ति बीमामा उच्च र न्यून जोखिम दुबैलाई एकै किसिमको बीमादर रहेको गुनासो रहेको, जीवन बीमालेखबाट बीमा कर्जा लिन कठिन भएको, लघुबीमामा टिकट दस्तूर बढी भएको, लघूबीमामा नयाँ बीमालेखको अभाव देखिएको लगायतका धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा अभिकर्ताको सिस्टम निर्माणको क्रममा रहेको जानकारी दिँदै प्राधिकरणबाट जारी निर्देशिका बमोजिम काम गर्न निर्देशन समेत दिएका थिए ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले संचालन गरेको कार्यक्रममा नेको इन्सुरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, रिलायबल नेपाल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नाराण बाबु लोहनी, जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*