बीमा कम्पनीहरुको कूल लगानी ६ खर्ब २७ अर्बमाथि, झण्डै चार खर्ब रुपैयाँ बैंकमा निक्षेप

रिना खत्री
२४ आश्विन २०८०, बुधबार १९:३३

काठमाडौं । बीमा प्राधिकरणकोे जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कूल लगानी छ खर्ब २७ अर्बभन्दा बढि रहेको छ । जीवन र निर्जीवन बीमा कम्पनीहरुले खडा गरेको जीवन बीमा कोष, बीमा कोष, जगेडा कोष, महाविपत्ति कोष र पुँजि समेत गरी कूल लगानी सवा छ खर्बभन्दा बढि पुगेको हो । यो रकम नेपालको कूल बजेटको करिब आधा हिस्सा हो ।

बीमा कम्पनीहरुको लगानीको मुख्य हिस्सा नेपालका बैंकहरुमा मुद्दति निक्षेपको रुपमा जम्मा हुने गरेको देखिएको छ । हालसम्म झण्डै चार खर्ब रुपैयाँ बीमा कम्पनीहरुले बैंकमा निक्षेपको रुपमा रकम लगानी गरेको देखिएको छ ।

प्राधिकरणले लगानी निर्देशिका जारी गरेको नौ वर्ष भइसक्दा पनि बीमा कम्पनीहरुले लगानी निर्देशिका अनुसार आफ्नो लगानी योग्य रकमलाई विविधिकरण गर्न सकेका छैनन् । बीमा कम्पनीहरुले सुरक्षा र जोखिमलाई विश्लेषण गरेर अन्य क्षेत्रमा लगानी गर्दा जोखिम रहेकोले बैंकको मुद्दति निक्षेपमा धेरै रकम थन्किएको हो ।

निर्देशका अनुसार बीमा कम्पनीहरूले नेपाल सरकारको बचतपत्र वा ऋणपत्रमा ५ प्रतिशत, क वर्गको बैंक तथा नेपाल पूर्वाधार बैंक लिमिटेडको मुद्दती निक्षेपमा ४० प्रतिशत, घर जग्गा व्यवसायमा ५ प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा १० प्रतिशत, ‘क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा २० प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सुरक्षित डिबेन्चरमा २० प्रतिशत, कृषि, पर्यटन, जलस्रोत लगायतका पूर्वाधारमा २० प्रतिशत, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ५ प्रतिशत, ‘ख’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २० प्रतिशत, ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ ।

निर्देशिकामा लगानीको लागि क्षेत्र तोकिएको भएपनि बीमा कम्पनीहरुले ठूलो रकम ‘क’ वर्गका वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन् ।वाणिज्य बैंकको मुद्दती निक्षेप बाहेक कुनै पनि क्षेत्रमा बीमा कम्पनीहरुले लगानी निर्देशिका अनुसार सीमा पुर्याएका छैनन् ।बीमा कम्पनीहरूले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा ६ खर्बमाथि लगानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरूले आव २०७९/८० को अन्त्यसम्ममा ६ खर्ब २७ अर्ब रुपैयाँ लगानी गरेका छन् ।प्राधिकरणका अनुसार आव २०७८/७९ को तुलनामा २०७९/८० मा उनीहरूको लगानी १८ दशमलव ९५ प्रतिशतले बढेको छ । कम्पनीहरूले आव २०७८/७९ मा ५ खर्ब २७ अर्ब रुपैयाँ लगानी गरेका थिए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा कम्पनीहरूले प्राधिकरणले जारी गरेको लगानी निर्देशिका अनुसार बिस्तारै काम गरिरहेको बताँउछन् ।
‘बीमा कम्पनीहरूले लगानी निर्देशिका बमोजिम नै लगानी गरिरहेका छन् । तर, धेरैजसो कम्पनीहरूले मुद्दती निक्षेपमा नै लगानी गरिरहेको पाइन्छ,’ उनले भने, ‘कम्पनीहरूले भौतिक पूर्वाधार, विकास निर्माण, पर्यटन, कृषिलगायत क्षेत्रमा कम लगानी भएको देखिन्छ ।

बीमा कम्पनीहरुले उक्त क्षेत्रमा पनि आफनो दायरा विस्तार गर्ने क्रमममा रहेको उनको भनाई छ । पछिल्लो समय बीमा कम्पनीहरूले एयरलाइन्स, कृषिलगायत क्षेत्रमा लगानी शुरू गरेका छन् । उचित प्रतिफल आउने कम्पनीहरुमा बिश्लेषण गरेर मात्रै लगानी गर्नु कम्पनीको लागि उचित रहेको पौडेल बताँउछन् ।

 

जीवन बीमा कम्पनीहरूले आव २०७९/८० को अन्त्यसम्ममा विभिन्न क्षेत्रमा ५ खर्ब ६८ अर्ब रुपैयाँ लगानी गरेका छन् ।प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूले आव २०७८/७९ को अन्त्यसम्ममा ४ खर्ब ७३ अर्ब रुपैयाँ लगानी गरेका थिए । आव २०७८/७९ को तुलनामा २०७९/८० मा जीवन बीमा कम्पनीहरूको लगानी २० प्रतिशतले बढेको हो ।

जीवन बीमा कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ७७ प्रतिशत लगानी गरेका छन् ।
जीवन बीमा कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क वर्गको बैंकहरुमा ३ खर्ब ९० अर्ब रुपैयाँ रकम बचत गरेका छन् ।

दोस्रोमा वाणिज्य बैंकहरुको अग्राधिकार शेयर र ऋणपत्र रहेको छ । जीवन बीमा कम्पनीहरुले यस क्षेत्रमा ४१ अर्ब १३ करोड रुपैयाँ लगानी गरेका छन् ।ख वर्गको मुद्दती निक्षेपमा ४० अर्ब २५ अर्ब रुपैयाँ राख्ने देखिएको छ।

अन्य क्षेत्रमा ३४ अर्ब रुपैयाँ, सूचीकत पब्लिक कम्पनी सुरक्षित डिबेन्चरमा २१ करोड रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ११ करोड रुपैयाँ, इनभेष्टमेन्ट कम्पनीको शेयरमा ९ अर्ब २२ करोड रुपैयाँ, कृषि पर्यटन र जलस्रोत लगायत पूर्वधारमा ६ अर्ब ५९ करोड रुपैयाँ, ग वर्गको बैंकको मुद्धती निक्षेपमा ६ अर्ब ३३ करोड रुपैयाँ, नेपाल सरकारको बचतपत्रमा ३ अर्ब ९४ करोड रुपैयाँ, म्युचुअल फण्ड र नागरिक लगानीकोष १ अर्ब ६५ करोड रुपैयाँ, नेपाल पूर्वधार बैंकको मुद्धती निक्षेपमा ७० करोड रुपैयाँ, सूचीकृत नभएको पब्लिक कम्पनीको शेयरमा २५ करोड रुपैयाँ लगानी गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरूले आव २०७९/८० को अन्त्यसम्ममा विभिन्न क्षेत्रमा ५८ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेका छन् । प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूले आव २०७८/७९ को अन्त्यसम्ममा ५३ अर्ब ९१ करोड रुपैयाँ लगानी गरेका थिए । आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा निर्जीवन बीमा कम्पनीको लगानी ९ प्रतिशतले बढेको हो ।

निर्जीवन बीमा कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ८० प्रतिशत लगानी गरेका छन्।
निर्जिवन बीमा कम्पनीहरुमध्ये क वर्गको बैंकको मुद्धती निक्षेपमा ४१ अर्ब २६ करोड रुपैयाँ र ख वर्गको बैंकमा ५ अर्ब १६ करोड रुपैयाँ लगानी गरेका छन् ।

त्यस्तै, निर्जिवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा २ अर्ब ८७ करोड रुपैयाँ, वाणिज्य बैंकहरुको अग्राधिकार शेयर र ऋणपत्रमा २ अर्ब ६६ करोड रुपैयाँ, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा २ अर्ब २७ करोड रुपैयाँ, अन्य क्षेत्रमा १ अर्ब २८ करोड रुपैयाँ, सूचीकत पब्लिक कम्पनी सुरक्षित डिबेन्चरमा १ अर्ब ४ करोड रुपैयाँ, ग वर्गको बैैंकको मुद्धती निक्षेपमा १ अर्ब रुपैयाँ, म्युचुअल फण्ड र नागरिक लगानी कोष ५६ करोड ९८ लाख रुपैयाँ, कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वधारमा ४१ करोड ४६ लाख रुपैयाँ, नेपाल सरकारको बचतपत्रमा २२ करोड रुपैयाँ, सूचीकृत नभएको पब्लिक कम्पनीको शेयरमा ५ करोड ३३ लाख रुपैयाँ लगानी गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*