मधेश प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न

२ कार्तिक २०८०, बिहीबार १२:५७

काठमाडौं । मधेश प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुर–धनुषामा कात्तिक १ गते उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बीमा बाध्य भएर नभई स्वतःस्फूर्तरूपले गर्ने कार्यक्रम ल्याउन र प्रदेशका सबै नागरिकलाई बीमाको दायरामा ल्याउन प्रदेश सरकार तयार रहेको बताएका थिए । उनले सीमा क्षेत्रका बासिन्दाहरूमध्ये ६० देखि ७० प्रतिशतले अझै पनि भारतका बीमा कम्पनीहरूमा बीमा गर्ने गरेको र उद्योगी व्यवसायीहरूले करोडौंका उद्योग व्यवसायको बीमा नगरेको हुँदा आगलागी लगायतका कारणले क्षति भएको अवस्थामा राहत माग गर्दा प्रदेश सरकारले एक दुई लाखभन्दा बढी दिन नसक्ने अवस्था रहेको उल्लेख गर्दै नागरिकको जीवन र सम्पत्तिको बीमा गर्ने प्रदेश सरकारको प्रयासमा साथ दिन सम्बद्ध सबैसँग आग्रह समेत गरेका थिए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश बीमा नीति ल्याउन र आर्थिक सहायताका लागि छुट्याइएको बजेटबाट केही रकम बीमामा रूपान्तरण गरी प्रदेश सरकारबाट नै मुसहर, दुसाद लगायतका सीमान्तकृत बर्गको बीमा गरिदिने कार्य शुरू गर्न आग्रह गरेका थिए । उनले सबै नागरिकको वित्तीय जोखिमको दायित्व सरकारले लिन नसक्ने भएकाले बीमाका माध्यमबाट वित्तीय जोखिमको दायित्व बीमा कम्पनीमा हस्तारण गर्नुपर्ने बताउदै बीमा गरेपछि विपद् लगायतका कारणबाट क्षति भएमा बीमा कम्पनीबाट नै क्षतिपूर्ति हुने उल्लेख गरेका थिए ।

अध्यक्ष सिलवालले प्रदेश सरकारले ल्याएको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमका लागि विनियोजित रकमबाट छोरीहरूको बीमा गरेमा बचतका साथसाथै बीमा समेत हुने उल्लेख गर्दै छोरी बीमाको मोडालिटी तयार गर्नका लागि आवश्यक सहयोग गर्न प्राधिकरण तयार रहेको जानकारी दिएका थिए ।

कार्यक्रममा प्रदेश सरकारका तर्फबाट मुसहर र दुसाद जातीको निःशुल्क बीमा गरिदिनका लागि आवश्यक कानूनी व्यवस्था गर्न प्रक्रिया अगाडि बढाइएको जानकारी दिइएको थियो ।

कार्यक्रममा सहभागीहरूले कृषि तथा पशुपन्छी बीमाको दाबी भुक्तानी तत्काल दिन बीमा कम्पनीहरूलाई नेपाल बीमा प्राधिकरणले कडा निर्देशन दिनुपर्ने, बीमा कम्पनीहरूले कृषि तथा पशु बीमाको दाबी भुक्तानीका लागि ग्रामीण क्षेत्रका बासिन्दासँग बिल मागेर दुःख दिन नहुने, यातायातको साधनमा जस्तै उद्योगधन्दाको दर्ता र नवीकरण गर्दा नै बीमालाई अनिवार्य गर्नुपर्ने, पशुको बजार मूल्य अनुसार बीमांक कायम गर्नुपर्ने, कृषि बीमालाई उत्पादनमा आधारित बनाउनुपर्ने, सीमावर्ती क्षेत्रलाई प्राथमिकता दिई सबै स्थानमा बीमा सम्बन्धी प्रचार प्रसार गर्नुपर्ने र नागरिकले आफू रहेकै स्थानबाट सहजै बीमा गर्न पाउने तथा दाबी भुक्तानी पनि सोही स्थानबाट हुने व्यवस्था गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, बीमा सम्बन्धी जनचेतना अभिवृद्धि र बीमाको पहुँच विस्तारमा प्रदेश सरकारको भूमिका सम्बन्धी प्रस्तुती दिएका थिए ।

उक्त कार्यक्रममा मधेश प्रदेशका मन्त्री, प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिव तथा पदाधिकारी, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू लगायतको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*