मधेश प्रदेश : ९ प्रतिशत नागरिकमा मात्रै पुग्यो बीमा

३ कार्तिक २०८०, शुक्रबार ११:३२

काठमाडौं । मधेश प्रदेशमा नौ प्रतिशत नागरिक मात्रै बीमाको पहुँचमा आएका छन् । अर्थात्, नौ प्रशित जनतामा मात्रै बीमा पुगेको देखिएको छ । मधेश प्रदेशमा बीमाको उपस्थिति बलियो नदेखिएकोप्रति नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल चिन्ता व्यक्त गरेका छन् ।

उनले जनकपुरमा आयोजित कार्यक्रममा सार्वजनिक रुपम मै बीमाको पहुँच उल्लेख्य बढ्ने गरी काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । उनले बीमा कम्पनीका प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुख तथा सरोकारवालाई बीमा ऐन, नियमावली, निर्देशिका र निर्देशनहरूको पूर्ण पालना गर्दै पहुँच विस्तारमा मर्यादित ढंगले लाग्न आग्रह गरे ।

बीमा कम्पनीका कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि प्राधिकरणले इस्योरेन्स इन्स्टिच्युट नेपाललाई तालिम सञ्चालन गर्न लगाउने समेत अध्यक्ष सिलवालले मधेश प्रदेशका बीमकहरुलाई जानकारी दिएका छन् ।

स्थानीयस्तरको आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउनका लागि केन्द्रीय कार्यालयसँग समन्वय गर्न, बैंक र बीमा फरक हुन् भन्नेबारेमा सबैलाई बुझाउन अध्यक्ष सिलवालले प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूलाई निर्देशन दिए ।
उनले बीमाको सिद्धान्तविपरीत बीमा व्यवसाय नगर्न र दाबी भुक्तानीमा समस्या नआउने गरी प्रस्तावको पर्याप्त विश्लेषण गरेर बीमा गर्न समेत निर्देशन दिएका छन् ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रति जनविश्वास बढ्ने गरी कार्य गर्न र स्वच्छ प्रतिस्पर्धाका आधारमा व्यवसाय गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूले अनुशासन तथा सुशासन कायम गर्दै गुनासो नआउने त्रुटिरहित काम गर्नुपर्ने बताए ।

कार्यक्रममा बीमा कम्पनीका कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि तालिम आयोजना गर्नुपर्ने, केन्द्रीय कार्यालयले निश्चित अधिकार प्रत्यायोजन गर्नुपर्ने, प्राधिकरणबाट हालै जारी गरिएको सम्पत्ति बीमा निर्देशिकामा उल्लेख्य सुधार भएपनि केही विषय अझै स्पष्ट पार्नुपर्ने, कोरोना बीमाको बाँकी दाबी भुक्तानी गर्न ढिलाई गर्न नहुनेलगायतका सवालहरु उठेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*