गरिबी घटाउन सरकारले वार्षिक बजेटमै बीमाको शीर्षक राख्नुपर्छ : अध्यक्ष सिलवाल

३ कार्तिक २०८०, शुक्रबार १३:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरिबी घटाउने हो भने सरकारले बीमा क्षेत्रका लागि छुट्टै शीर्षक राखेर वार्षिक बजेट बनाउनु पर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणले विजया दशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर प्राधिकरणको संघीय कार्यालय, कुपण्डोलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले सरकारलाई समेत बीमाको विषयमा बुझाउनु पर्ने र वार्षिक बजेटमा बीमा शीर्षकमा सशर्त बजेट विनियोजन गर्न पहल गर्नुपर्ने बताएका हुन् ।

उनले त्यसो भए मात्रै न्यूनआय भएका वर्गको बीमा हुनुका साथै गरिबी न्यूनीकरणमा टेवा पुग्ने धारणा राखे । बीमा बजारलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताएका उनले, ‘प्राधिकरण र बीमकहरू एकअर्काका परिपुरक भएकाले सोही अनुसार क्रियाकलापहरू अगाडि बढाइनुपर्छ, बीमकहरूले बजारमा देखिएको अविश्वास हटाउनु पर्छ, प्रदेश तथा शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गरिनुपर्छ, बीमा सम्बन्धी अन्तर्राष्ट्रिय मान्यतामा रहेर बीमालेखका प्रावधानहरूलाई सामान्यीकरण गर्न सक्नुपर्छ’ भने । वैधरूपमा मुनाफा हुने बाटो खोज्नसके मात्रै बीमा बजारमा सकारात्मक परिवर्तन आउने उनको भनाइ छ ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्दै सिङ्गो बीमा व्यवसायलाई स्वच्छ एवम् मर्यादितरूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू, जीवन बीमक सङ्घ नेपाल तथा नेपाल बीमक सङ्घका पदाधिकारीहरू र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू सहभागि भए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*