फजुल खर्च नगरी दशैंमा बीमा पोलिसी उपहार दिने कि ?

राजन कठायत
६ कार्तिक २०८०, सोमबार ०८:२८

काठमाडौं । पछिल्लो समय चाडपर्व तथा अन्य विभिन्न मौलिक तथा सास्कृतिक कार्यक्रमका नाममा फजुल खर्च गर्ने प्रवृत्ति अब निरुत्साहन नगरी हुँदैन । चाडपर्व तथा उत्सवका नाममा हुने फजुल खर्च कटौती गरेर आफ्नो र आफ्ना प्रियजनको भविष्यका लागि बचतस्वरूप बीमा गर्ने प्रचलन बढाउन जरुरी छ ।

बीमितले आफ्नो जीवन, सम्पत्ति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो ।

जीवनमा आइपर्ने विपत्ति, जोखिमका अनेकौं सम्भावनाहरु यत्रतत्र, सर्वत्र हुन्छन् । जुनसुकै समयमा पनि मानव जीवनमा विपत्ति आइपर्नसक्छ । यस्ता अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने उपयुक्त माध्यम नै बीमा हो । बीमा जुनसुकै उमेरका व्यक्तिले सजिलै गर्न सक्छन् । आफ्नो आयस्रोतको आधारमा बीमितले चाहेजति रकमको जोखिम लिन तयार हुन्छन, बीमा कम्पनीहरु । तर, त्यसका लागि बीमा गर्ने तथा गराउने कल्चर विकास गर्न जरुरी छ ।

नेपालमा पछिल्लो समय बीमाको बजार बढ्दो क्रममा छ । यसको महत्व र आर्थिक अभावमा बीमाले खेल्ने भूमिकाका कारण पनि मानिसहरु बीमाप्रति आकर्षित हुन थालेका हुन् । थोरै लगानीमा लामो समयसम्म विभिन्न जोखिम बहन गर्ने भएकाले पनि बीमा गर्नुपर्छ भन्ने धारणा बढेको छ । विहे, पास्नी, ब्रतबन्ध, जन्मदिन, दशैं, तिहार जस्ता विशेष दिनमा विशेष उपहारको रुपमा बीमा पोलिसी उपहार दिने प्रचलन दिनानुदिन बढ्दो छ । जुनसुकै उमेर समूहका व्यक्तिले आफू अनुकुल बीमा पोलिसी खरिद गर्न सक्ने हुँदा जीवन रक्षाकै रुपमा बीमालाई लिन सकिन्छ ।

थोरै खर्च कटौती गरेर पनि बीमा गर्न सक्ने भएकाले दशैं तिहार जस्ता चाडपर्वमा फजुल खर्च गरिने रकमलाई जोगाएर सजिलै बीमा गर्न सकिन्छ । यसका लागि दशैंमा जाँड, रक्सी, चुरोट जस्ता कुराहरु सेवन गर्नुको सट्टा र जुवा तास जस्ता खेलहरु खेलेर फजुल खर्च गर्नुको सट्टा उक्त रकम कटौती गरी बीमा गर्न सकिन्छ ।

दशैंमा हामीले आफन्तबाट टिका थापेर दक्षिणा लिने गर्दछौँ । उक्त दक्षिणाबापत आएको रकम नानाथरी वस्तु वा सेवा खरिद गर्ने नाममा फजुल खर्च गरेर सक्काउने गर्दछौं । त्यस्तै, हामीले दशैंमा महँगा कपडा आदि किनेर देखावटी र विलाशी वैभव देखाउने गरेका छौं । जसले क्षणभरको प्रसन्नताबाहेक दीर्घकालीन कुनै हित गर्दैन । यसरी देखावटी र विलाशी जीवन जीउनुभन्दा जीवन बीमा गरेमा भोलीको भविष्य अवश्य राम्रो हुन्छ ।
यसरी बीमा गर्दा प्रत्येक दशैंमा दक्षिणा स्वरुप जम्मा हुने रकमले बीमाशुल्क भुक्तानीमा पनि सहज हुने सुझाव दिन्छन्, अभिकर्ताहरु । साथै, दक्षिणाबापत आउने पैसा बैङ्कमा जम्मा गर्नुभन्दा बीमा गरेर उज्ज्वल भविष्यको ग्यारेण्टी गर्न विज्ञहरू सुझाउँछन् ।

१५ वर्षे बीमा अवधिमा ६ देखि ७ हजार रुपैयाँसम्म वार्षिक बीमाशुल्क बुझाउँदा १ लाख बीमाङ्क बराबरको बीमा गर्न सकिन्छ । उक्त बीमाको समयावधि सकिएपछि बोनससहित करीब २ लाख रकम कम्पनीले बीमितलाई प्रदान गर्छ । उक्त रकमले उच्च शिक्षालगायत आधारभूत आवश्यकता परिपूर्तिमा ठूलो सघाउ पुग्ने शिक्षा क्षेत्रका पण्डितहरु बताउँछन् ।

अहिले जीवन बीमा क्षेत्रमा गरिने लगानीले जोखिमका अतिरिक्त प्रतिफल पनि दिँदै आएको छ । यो क्षेत्रमा गरिने लगानीले अनिवार्य बचतलाई प्रोत्साहन गर्नुका साथै बीमा अवधिअघि आवश्यकता पर्दा समेत बीमा पोलिसी धितोमा राखेर ऋण लिन पाउने सुविधा समेत दिन्छ । त्यसैले जोखिमरहित र उच्च प्रतिफलको लगानीका बीमा गर्न अपरिहार्य रहेको बीमा क्षेत्रका जानकारहरु बताउँछन् । निर्जीवन बीमाले जोखिम न्यूनीकरण गर्ने काम गर्छ । एकदमै न्यून शुल्कमा ठूलो बीमाङ्क बराबर बीमा हुने भएकाले यसले ठूलो सम्भावित क्षतिबाट बचाउँछ ।

जुनसुकै बीमा पोलिसी परिपक्क हुन सिमित समयअवधि तोकिएको हुन्छ । ५ वर्ष, १० वर्ष वा सोभन्दा माथिको समय हुनसक्छ । आफुले चाहेको समयावधि अनुरुपको पोलिसी खरिद गरेपछि पोलिसी परिपक्क नभएसम्म विभिन्न जोखिमको अभिभारा कम्पनीले बहन गर्ने गर्दछ । जस्तै, भवितव्य आइपर्ने दुर्घटनाबाट उब्जिएको आर्थिक संकटमा यही पोलिसी भरथेग हुन्छ । साथै, कारणबस बीमितले अकालमै मृत्युवरण गरेमा बीमाङ्क रकमको दोब्बर रकम मृतकको परिवारले प्राप्त गर्ने भएकाले पनि बीमा केवल बीमितको लागि मात्र नभई सिंगो परिवारकै लागि हो ।

बीमाले भवितव्य आइपर्ने आर्थिक संकटको अभिभारा बहन गर्नेदेखि, कर्जा लिन सकिने, बीमितलाई केही भएको खण्डमा परिवारले एकमुष्ठ रकम प्राप्त गर्ने, पोलिसी परिपक्क भएपछि बीमाङ्क रकमभन्दा दोब्बर रकम एकमुष्ठ प्राप्त गर्न सकिन्छ । यसरी बीमा गरेमा बचत गर्ने बानीको थप विकास हुने भएकाले चाडपर्वलाई बहाना बनाएर फजुल खर्च गर्नुको सट्टा बीमा गर्नु अति उपयुक्त हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*