अग्रीम भुक्तानी जीवन बीमा कसको र के–का लागि ?

८ कार्तिक २०८०, बुधबार ०८:३०

काठमाडौं । बीमा अवधि पूरा नहुँदै बीमाङ्कको निश्चित रकमहरु किस्ता किस्तामा बीमितले भुक्तानी पाउने सुविधा भएको बीमालेखलाई अग्रीम भुक्तानी जीवन बीमा भनिन्छ । यस्तो बीमालेखमा बीमाको अवधि पुरा नहुँदै पनि बीमा कम्पनीले निश्चित अवधि पुरा भएपछि बीमाङ्कको आधारमा केही रकम अग्रिम भुक्तानी दिन मञ्जुर गरिएको हुन्छ ।

बीमा विभिन्न प्रकार हुन्छन् । जसमध्ये एउटा छुट्टै विशेषतायुक्त बीमा हो, अग्रीम भुक्तानी बीमा । नेपालमा बीमा अवधि शुरु भएको एक, तीन र पाँच वर्ष पूरा भएपछि बीमाङ्कको निश्चित प्रतिशत रकम बीमितले भुक्तानी पाउने सुविधा भएका बीमालेखहरू प्रचलनमा छन् । यस्तो विशेषतायुक्त अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखहरू अधिकांश जीवन बीमा कम्पनीहरूले बिक्री गरिरहेका हुन्छन् । यस्तो बीमालेख अन्तर्गत बीमा अवधिभर निश्चित वर्षको अन्तरालमा बीमाङ्कको निश्चित प्रतिशत रकम भुक्तानी गरिसकेपछि बीमा अवधि पूरा भएपछि अग्रिमरूपमा भुक्तानी गरिएको रकम कट्टा गरेर बाँकी रहने बीमाङ्क रकम र बीमा अवधिभरको बोनस रकम बीमितले एकमुष्ठ भुक्तानी पाउन सक्छन् । यस्तो प्रकृतिको बीमा नै अग्रीम भुक्तानी जीवन बीमा हो ।

अग्रीम भुक्तानी बीमालेखका विशेषताहरुः

कर सहुलियत
बीमितको व्यक्तिगत परिस्थितिहरूमा निर्भर गर्दै, अग्रिम भुक्तानी बीमालेखमा गरिएका अग्रिम भुक्तानीवापतको रकममा केही हदसम्म कर सहुलियत हुनसक्छ ।
आयको सुनिश्चितता
अग्रिमरुपमा प्राप्त हुने नियमित भुक्तानीहरूले आयको स्थिर प्रवाह सुनिश्चित गर्न मद्दत गर्न सक्दछन् । यस्तो सुविधा सेवा निवृत्ति वा अन्य दीर्घकालीन लक्ष्यहरूको लागि बचत गर्ने व्यक्तिहरूको लागि निकै उपयोगी हुने बताइन्छ ।
बीमा सुरक्षा
अग्रिम भुक्तानी सावधिकले जीवन बीमा सुरक्षा पनि प्रदान गर्दछ । जसले बीमितको मृत्यु हुँदाका बखत परिवारलाई आर्थिक सहायता प्रदान गर्दछ ।

न्यून मृत्यु लाभ
यस्तो प्रकारको जीवन बीमामा मृत्यु लाभ सामान्यतया परम्परागत जीवन बीमालेख भन्दा थोरै हुन्छ । किन भने अग्रिमरुपमा भुक्तानी भइसकेका बीमाङ्कको अंश मृत्यु लाभ भुक्तानीको क्रममा कट्टा गरेर बाँकी रकम मात्र भुक्तानी गर्ने गरिन्छ ।
न्यून बोनश दर
अग्रिम भुक्तानी सावधिकको बीमाशुल्कबाट प्राप्त रकम बीमितलाई अग्रिम भुक्तानी गर्नका लागी प्रयोग हुने भएकाले बीमा कम्पनीसँग यो बीमाबाट हुने बचत रकम थोरै हुन्छ । थोरै बचतवापतको रकम लगानी गर्दा प्राप्त हुने प्रतिफल पनि बीमा कम्पनीसँग थोरै हुन्छ जसकारण थोरै प्रतिफलबाट बीमितलाई बोनशवापतको रकम भुक्तानी गर्दा बोनश रकम पनि अन्य बीमालेखको तुलनामा थोरै हुने गर्दछ ।
उच्च बीमाशुल्क
अग्रिम भुक्तानी सावधिकको बीमाशुल्क सामान्यतया परम्परागत जीवन बीमालेखको भन्दा बढी हुन्छ । किनभने बीमा कम्पनीले बीमितलाई नियमित भुक्तानी गर्दा आफूसँग बाँकी रहने बीमाशुल्क रकम र त्यसबापतको प्रतिफलको तुलनामा बढी जोखिम लिइरहेको हुन्छ ।
अग्रीम भुक्तानी जीवन बिमा पोलिसी खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु :
बीमितको उमेर
बीमितको उमेर बढ्दै जाँदा अग्रीम भुक्तानी बीमालेखको बीमाशूल्क पनि महँगिदै जाने गर्दछ । जसकारण बीमितले आफ्नो उमेर हेरेर बीमा गर्दा उत्तम मानिन्छ ।
बीमितको स्वास्थ्य
यदि बीमितलाई कुनै दीर्घ रोग वा अन्य कुनै जटिल स्वास्थ्य समस्या छ भने, त्यस्तो बीमित अग्रीम भुक्तानी जीवन बीमाका लागि अयोग्य हुन सक्दछन् ।
बीमितको वित्तीय लक्ष्यहरु
बीमितले बीमाबाट प्राप्त हुने अग्रिम भुक्तानीबातको रकम के–मा लगानी गर्न चाहान्छन् या कुन प्रयोजनमा ल्याउन चाहन्छन् सो कुराको ध्यान दिनुपर्दछ ।
बीमितको बजेट
बीमितले बीमा शुल्कबापत कति रकम भुक्तानी गर्न सक्छन् ? बीमितले यस्ता विषयहरुमा राम्रोसँग विचार गरिसकेपछि मात्र बीमितले आफ्नो र आफ्नो परिवारका लागि सही बीमालेख रोज्न समर्थ हुन्छन् ।
यस प्रकारको बीमा योजना अन्र्तगत तीन चरणको किस्ताबन्दीमा बीमाङ्कको निश्चित प्रतिशत रकम फिर्ता गरिन्छ र बीमा अवधि समाप्तीमा बाँकी बीमाङ्क र पुरा अवधिको बोनस समेत एकमुष्ट पुनः भुक्तानी गरिन्छ । आफ्नो भविष्यको आर्थिक योजना बनाउँदा बीचबीचमा आईपर्ने आर्थिक समस्या समाधान गर्न आफुले रोजेको अवधिको यो बीमा योजना लिन सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*