हिमालयन लाइफ इन्स्योरेन्सले गर्‍यो बिलम्ब शुल्कमा भारी छुट, लाभ लिने समय कहिलेसम्म ?

१० कार्तिक २०८०, शुक्रबार १२:५०

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्क अर्थात् व्याज/जरिवाना छुटको सूचना जारी गरेको छ । हिमालयनले सार्वजनिक रुपमै बिलम्ब शुल्क छुटको सूचना गरेको हो ।

उसले साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट विभिन्न मितिमा बीमा गराएर व्यतित अर्थात् ल्याप्स भएका बीमालेखहरुमा कार्तिक १० गतेदेखि २२ गतेसम्ममा नविकरण तथा पुनर्जागरण गर्ने समय दिएको छ । त्यसरी नविकरण गर्दा शर्तसहित उल्लेख्य छुटको व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

३ वर्षसम्मको व्यतित अवधिको बीमालेखमा व्याज/जरिवाना शतप्रतिशत छुट दिने भनिएको छ भने ३ देखि ७ वर्ष व्यतित अवधिको बीमालेखमा ५० प्रतिशत व्याज/जरिवाना छुट हुने भनिएको छ । यस्तै, ७ वर्षमाथिदेखि जतिसुकै अवधिको बीमालेखमा २५ प्रतिशत छुट हुने कम्पनीले प्रष्टसँग भनेको छ ।

शर्तहरु भने पालना गर्नुपर्ने भनिएको छ । पहिलो शर्तमा, ‘यस किसिमको व्यतित बीमालेख पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिनेछ’ भनिएको छ । र, ‘कम्पनीबाट व्याज/जरिवाना छुट सुविधाको उपयोग गरी नविकरण गराइएका बीमालेखहरु बीमालेख नविकरण भएको मितिले दुई वर्षभित्र बीमित तथा प्रस्तावकहरुको नियमानुसार समर्पण अर्थात् सरेन्डर गर्न चाहेमा बीमालेख नविकरण गर्दा छुट प्रदान गरिएको व्याज/जरिवाना वापतको रकम कम्पनीबाट कट्टा गरिनेछ’ भनी दोस्रो शर्त राखिएको छ ।

कम्पनीले व्यतित भएको बीमालेखले बीमा जोखिम बहन नगर्ने हुँदा समयमै आफ्नो बीमालेखको नविकरण बीमाशुल्क भुक्तानी गरेर व्याज/जरिवाना छुटको लाभ लिन अनुरोध गरेको छ । यस सम्बन्धमा थप जानकारी लिन आफुलाई पायक पर्ने कुनै पनि प्रादेशिक, शाखा, उप-शाखा यार्यालयमा सम्पर्क राख्न सकिने सूचनामा भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*