दुई वर्षअघि बीमितबाट उठाएको बीमाशुल्क बुझाउन ‘प्रभु पे’लाई २१ दिने अल्टिमेटम

१३ कार्तिक २०८०, सोमबार १३:०४

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रभु टेक्नोलोजी प्रालि (प्रभु पे)लाई बीमितहरुको बुझाउन बाँकी बीमा शुल्क बुझाउन अन्तिम मौका दिएको छ । प्रभु महालक्ष्मीले सार्वजनिक सूचना नै जारी गरेर २१ दिने अल्टिमेटम दिएको हो । साविक प्रभु लाइफ इन्स्योरेन्स हुँदै अर्थात् दुई वर्षअघि अनलाइन प्रिमियम कलेक्सन गर्दाको बाँकी रकम प्रभु पे’ले अहिलेसम्म नबुझाएको हो । पटक-पटक ताकेता गर्दा पनि संकलित नविकरण बीमा शुल्क भुक्तानी नभएपछि पूर्ण विवरणसहितको सार्वजनिक सूचना जारी गर्नु परेको प्रभु महालक्ष्मी लाइफका व्यवस्थापकहरुले बीमापोष्टलाई बताएका छन् ।

प्रभु पे’ले २०२१ देखि १६४ जना बीमितहरुको संकलित बीमा शुल्कमध्ये बुझाउन बाँकी रहेको रकम ४४ लाख ५४ हजार १२९ रुपैयाँ लामो समयसम्म ताकेता गर्दा पनि नबुझाएको सार्वजनिक सूचनामा उल्लेख छ । २०८० भदौ १८ गते ३० दिनभित्र भुक्तानी गर्ने र नगरेमा असुलीको लागि कानूनी कारबाही गर्न सक्नेबारे प्रभु पे’ र बीमा कम्पनी दुबैका प्रमुख कार्यकारी अधिकृतबीच लिखित सहमति भएपछि पनि पूर्ण रुपमा चुक्ता फछ्र्योट नभएकाले पुनः २१ दिने समय दिएको जनाइएको छ ।

यो समयभित्र पनि बाँकी नविकरण बीमाशुल्क रकम र व्याज भुक्तानी गर्न भनिएको छ भने फेरि पनि त्यसो नभए कानूनी कारबाही गरिने बताइएको छ । फेरि पनि २१ दिनको म्याद त्यतिकै गुजारेका खण्डमा राष्ट्र बैंक र नेपाल बीमा प्राधिकरण समेतले प्रभु पे’माथि एक्सन लिन सक्ने बताइन्छ । प्रभु पे’का लागि बाँकी वक्यौता तिर्ने यो अन्तिम मौका हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*