काठमाडौंमा अवतरण हुनुपर्ने एयरबस डोल्पा पुगेको काण्ड लुकाउँदै नेपाल एयरलाइन्स, पाँच दिनपछि किनभयो ग्राउण्डेड ?

२० आश्विन २०८०, शनिबार १७:२२

काठमाडौंमा अवतरण हुनुपर्ने एयरबस डोल्पा पुगेको काण्ड लुकाउँदै नेपाल एयरलाइन्स, भन्यो ‘अण्डर लिमिटेड पर्मिट नर्मल डाइभर्ट’
काठमाडौं । सेप्टेम्वर ३० का दिन राति ८ः१० बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने नेपाल एयरलायन्सको ९ एन एकेएक्स कल साइनको जहाजले अनाधिकृत रुपमा उडान भनेर डोल्पामाथिको आकाशमा पुगेर काठमाडौं फर्केपश्चात् सकुशल अवतरण गरेको घटना रहस्यमय बन्दै गएको छ ।

नेपाल एयरलाइन्सले सो घटना लुकाउन खोज्दैछ भने नेपाली सेनाले राष्ट्रिय सुरक्षामा कुनै खतरा छ कि भनेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

सेप्टेम्वर ३० अर्थात् असोज १३ गते शनिबारका दिन दुबईबाट उडान नं आरएनए २३० को तालिकाबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलायन्सको एयरबस ३२० जहाज लखनऊको आकाश पुग्नै लाग्दा ३३ हजार फिटको उचाईमा उडिरहेको थियो । स्थानीय कोमालगन्जमाथिको आकाशमा आइपुगेपछि एकाएक जहाज बायाँतर्फ मोडिएर नेपालतर्फ सोझियो । उक्त एयरबस ए ३२० जहाज नेपालगन्ज र गलुरियाको बीचमा पर्ने जमुनिया हुँदै नेपाली आकाशमा प्रवेश गर्यो । त्यसपछि समान गति र उचाईमा बाँकेको कोहलपुर हुँदै सिधैं डोल्पातर्फ अघि बढिरह्यो । जहाज ३३ हजारकै फिटमा रुकुमको मुसिकोट हुँदै जङ् पार गरेर डोल्पाको दुनै सामने रन्माकोटभन्दा पर पुगिसकेको थियो ।

राति ८ बजेतिर काठमाडौंस्थित विमानस्थलमा अवतरण गर्नुपर्ने जहाज डोल्पाको सिमाना ढोरपाटन आरक्षण केन्द्रलाई दाहिने पारेर पूर्वतर्फ मोडियो । त्यतिबेला जहाज ३३ हजार फिटको उचाईमाथि ९०७ किमी प्रतिघण्टाको गतिमा उडिरहेको थियो ।

चार हजार मिटर अग्लो विशाल हिमश्रृंखला छिचोल्दै जहाज बल्ल दाहिनेतर्फ मोडिन थाल्यो । राति ८ः०० बजे काठमाडौंमा अवतरण गर्नुपर्ने जहाज ७ः४१ बजेसम्म पश्चिमी बाग्लुङ माथिको आकाशमा देखेपछि उक्त जहाजमा यात्रा गरिरहेका यात्रुका आफन्तहरु त्रासमा परेका थिए ।
राति ७ः४५ बजेपछि बल्ल जहाजले बाग्लुङमाथिको आकाशमा आईपुगेर २५ हजार फिटको उचाई कायम गर्दै गति घटाउन थालेपछि बल्ल यात्रुका आफन्तहरु अब जहाज काठमाडौं आउँदै गरेको अनुमान गर्न थालेका थिए ।

राति ८ बजे भरतपुरमाथिको आकाशमा आईपुगेर जहाज अवतरणको लागि एप्रोच लिन बाराको आकाशतर्फ लाग्यो अनि उचाई र जहाजको गति दुवै घटाउँदै लगेर राति ८ः१४ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गर्यो ।

नेपालको हवाई इतिहासमा आजसम्म नभएको उक्त घटनालाई नेपाल एयरलाइन्सले भने सामान्य रुपमा लिएर घटनालाई लुकाउने र विषयान्तर गर्न खोजिरहेको छ । नेपाल एयरलाइन्सका प्रबक्ता रमेश पौडेलले सेप्टेम्वर ३० को उडान नं आरएनए २३० को घटनाबारे भने, ‘मौषमको कारण भएको सामान्य विषय हो । अण्डर लिमिटेट परमिट नर्मल डाईभर्ट गरिएको हो ।’ पौडेलका अनुसार जहाज नेपालतर्फ आउने क्रममा हवाई रुटमा खराव मौषमका कारण भारतीय एयर ट्राफिक कन्ट्रोलरसँग अनुमति लिएर डाईभर्ट गरिएको हो ।

तर, बीमापोष्टले गरेको तथ्याङ्क विश्लेषणमा उक्त समयमा अनरुटमा मौषम बिग्रेको कुरा तथ्यहरुले पुष्टि गर्दैन । सोही समयमा सोही रुटमा उडिरहेका जहाजहरु सामान्य तरिकाले आफ्नै रुटमा थिए । अन्तर्राष्ट्रिय उडान मात्रै नभएर धनगढीबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाज समेत नेपाल एयरलाइन्सको जहाज भन्दा केहीबेर अघि मात्रै अवतरण गरेको थियो । त्यस्तै एयर इण्डियाको जहाज पनि केहीबेर पछि नियमित रुटबाट काठमाडौंमा अवतरण गरेको देखिएको छ । अनरुटमा धेरै वटा जहाजहरु भएर मौषममा खरावी रहेको भनेर नेपाल एयरलाइन्सले भने पनि विश्वास गर्न सकिने पर्याप्त आधार र तथ्यहरु फेला पार्न सकिएको छैन ।


अर्को कुरा नेपालगन्जबाट नेपालतर्फ प्रवेश गरिसकेपछि सो जहाज सिधैं भरतपुरतर्फ सोझिनुपर्नेमा डोल्पाको सीमातर्फ किन हान्निँदै गइरहेको थियो भनेर अर्को कारण खुल्न सकेको छैन । अमेरिका र अन्य युरोपेली मुलुकमा जहाजहरु एयर ट्राफिकको अनुमति बिना १०० फिट पनि दायाबायाँ नगरी उड्नुपर्दछ । तर, नेपाल एयरलाइन्सको जहाज उक्त दिन सयौं किलोमिटरसम्म रुट भन्दा बाहिर उडिरहेको थियो ।
भैरहवास्थित राडार, पोखरास्थित राडार र काठमाडौंस्थित राडारले उक्त जहाजलाई प्रष्टलोकेशनमा देखाइरहेको भएपनि कुनै पनि एयर ट्राफिक कन्ट्रोलरहरुले जहाजलाई सही रुटमा उडाउन किन भनेन् ? अर्को प्रश्न जन्मिएको छ । यसले नेपालको एयर ट्राफिकको कार्यक्षमता र दक्षतामाथि प्र्रश्न उठेको छ । साथै अर्को प्रश्न नेपाली आकाशमा जथाभावी जहाज उडाउँदा पनि त्यसको नियमन गर्न एयर ट्राफिकहरुको क्षमतामाथि प्रश्न उठेको छ ।

 

उता, सेप्टेम्वर ११ मा अमेरिकाको ट्वीनटावरमा यस्तै जहाज ठोक्काएर आतंकवादी हमला भएको थियो । त्यसैले अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजहरुको उडान नियमन सम्बन्धित देशको सेना र राष्ट्रिय सुरक्षामा चासोको विषय बन्ने गरेका छन् ।

यति ठूलो संवेदनशिल विषयमा नेपाल एयरलाइन्सले छानविन गरेको छैन भने क्यानका महानिर्देशक प्रदिप अधिकारीले घटना बारे थाहा नपाए झैँ गर्दै आएका छन् । बीमापोष्टले जिज्ञाशा राख्न खोज्दा उल्टै पन्छिएका छन् । उता, नेपाली सेनाले घटनाबारे जानकारी पाएलगत्तै नोटिस गरिएको र अध्ययन भइरहेको जनाएको छ ।

बीमापोष्टलाई प्राप्त सू्चना अनुसार जहाजको उपकरणमा समस्या उत्पन्न भएको थियो । नेपाल एयरलाइन्सले उक्त समस्याग्रस्त जहाजलाई जबरजस्ती उडान गरिरहेको तथ्य फेला परेको छ । यात्रुहरु र अर्बौँको सम्पत्ति जोखिममा पार्दै नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष उद्धवराज अधिकारी, इन्जिनियर उपेन्द्र पौडेल र मर्मत सम्बन्धि इन्जिनियर देवकृष्ण सञ्जेलले सूचना पाएर पनि उचित मर्मत संभार नगरी सो जहाज उडाइरहेका थिए । बीमापोष्टले असोज १३ गते राति प्रकाशित समाचारलाई हल्ला भन्दै प्राविधिक रुपमा उडाउनै नमिल्ने जहाजलाई पाँच दिनसम्म काठमाडौं–बैंगलोर, काठमाडौं–हङकङ, काठमाडौं–दिल्लीमा उडान गरिएको तथ्य फेला परेको छ । ती रुटहरुमा सहज उडान र अवतरण भएपनि अन्तिम पटक असोज १७ गते बुधबार काठमाडौं–साउदी (दम्माम) उडानको क्रममा जहाजले वरपरका जहाजलाई नदेखाउने समस्या देखाएपछि पाकिस्तानमाथिको आकाशमा पुगेर काठमाडौंमा फर्काइएको थियो । त्यसपछि सो जहाज हाल ग्राउण्डेड भएको छ ।

 

दुबईबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको जहाज डोल्पा पुगेर फर्कियो

 

One thought on “काठमाडौंमा अवतरण हुनुपर्ने एयरबस डोल्पा पुगेको काण्ड लुकाउँदै नेपाल एयरलाइन्स, पाँच दिनपछि किनभयो ग्राउण्डेड ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*