मर्जरमा गएका बीमा कम्पनीलाई प्राधिकरण अध्यक्ष सिलवालको चेतावनी- ‘सधैं बिचरा भन्न सकिदैन, अब नतिजा देखाउँनै पर्छ’

१६ कार्तिक २०८०, बिहीबार ०७:५४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिजो मर्जरमा गएका बीमा कम्पनीका सिईओहरुसँग छलफल गरेको छ । हिजोको छलफलमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले मर्जरमा गएका बीमा कम्पनीहरुले सधैं सुविधा खोजिरहने प्रवृत्ति बढेको भन्दै अब पनि नतिजा देखाउन नसके सम्झौताहिन कारवाही गर्ने चेतावनी दिएका छन् ।

मर्जरमा गएका बीमा कम्पनीहरुसँग नियामक नेपाल बीमा प्राधिकरणले पोष्टमर्जर रिभ्यु गरेको थियो । सो छलफलमा बीमा कम्पनीहरुको तर्फबाट कर्मचारी समायोजनमा कठिनाई परेकोले सुविधा दिनुपर्ने माग गरे । त्यस्तै, वित्तिय विवरण तयार गर्न अझै ढिलाई भएकोले नियामकले अझै छुट दिनुपर्ने माग गरेका थिए ।

मर्जरमा गएका एक वर्षसम्म पनि समस्याको समाधान गर्न र नतिजा देखाउनुको सट्टा अवस्था झन झन् दयनीय बन्दै गएपछि नियामक बीमा प्राधिकरणका अध्यक्ष सिलवाल कडा रुपमा प्रस्तुत हुँदै भने, ‘सधैं बिचरा भनेर मर्जरमा गएका कम्पनीहरुलाई माया गर्न सकिदैन, अब पनि नतिजा नदेखाउने हो भने कारवाही गर्न हामी बाध्य हुन्छौं ।’ प्राधिकरणका अध्यक्ष सिलवालले वित्तिय विवरण तयार गर्न वर्षौ लाग्ने प्रवृत्तिले बीमा क्षेत्रमा संस्थागत सुशासन कमजोर देखिएको भन्दै प्राधिकरणले यस्ता विषयमा सम्झौता नगर्ने भन्दै कडा चेतावनी दिएका छन् ।

अध्यक्ष सिलवालले मर्जरमा गएका कम्पनीहरुले सधैं यो छुट देऊ, उ छुट देऊ भनेर भन्न नमिल्ने बताए । अध्यक्ष सिलवालले मर्जरमा गएका कम्पनीहरुले एक, डेढ वर्ष बितिसक्दा पनि अझै छुट माग्ने, म यस्तो भनेर प्रिभिलेज नखोज्न आग्रह गरेका छन् ।
अध्यक्ष सिलवालको चेतावनीपछि मर्जरमा गएका बीमा कम्पनीका सिईओहरु नरम देखिएका छन् । उता, केही सिईओहरु भने अत्तालिन पुगेका छन् । केही बीमा कम्पनीहरुमा कर छलीको विषय निकै जटिल बन्दै गएको छ । स्रोतका अनुसार बीमा प्राधिकरण मर्जरमा गएका बीमा कम्पनीहरुमा फैलिएको विकृत्ति रोक्न नयाँ एक्सन लिने तयारीमा रहेको छ । सोही विषयमा मर्जरमा गएका कम्पनीहरुको कुरा सुन्न र समस्याहरुका बारेमा समीक्षा गर्न हिजोको छलफल कार्यक्रम आयोजना गरिएको थियो ।

सो छलफल कार्यक्रम निर्जीवन बीमा कम्पनी र जीवन बीमा कम्पनीका अध्यक्ष, सिईओ र उच्च तहका कर्मचारीहरु सहभागी थिए । उनीहरु सबैले आफ्ना कम्पनीका समस्याका बारेमा खुलेर कुरा राखेका थिए । अधिकांशले मर्जरमा जाँदा छुटै छुटको अफर गरिएको र अहिले छुट दिने बेला किचकिच गरिएको आशय व्यक्त गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*