नयाँ बीमा ऐन लागू भएको वर्षदिन पुरा, नेपाल बीमा प्राधिकरण पनि दोस्रो वर्षमा

२२ कार्तिक २०८०, बुधबार ०८:१३

काठमाडौं । सरकारले तत्कालिन बीमा ऐन २०४९ खारेज गरी नयाँ बीमा ऐन २०७९ प्रारम्भ गरेको आज वर्षदिन पुरा भएको छ । परिवर्तित परिस्थितिमा प्रभावकारी नियमन र समग्र बीमा क्षेत्रमा छाता ऐनको रुपमा ल्याउने भनेर २०७५ साल साल असारमा प्रतिनिधि सभामा दर्ता गरिएको बीमा ऐन अन्ततः पुरानै बीमा ऐनको सामान्य संशोधन र त्यसअघि तत्कालिन बीमा समितिले निर्देशिकामार्फत काम चलाउँदै आएको व्यवस्थाहरुलाई थपेर २०७९ साल कार्तिक २२ गतेदेखि लागू भएको थियो ।

बीमा ऐन जारी भएको एक वर्ष पुरा भएको छ । यस अवधीमा बीमा क्षेत्रमा धेरै सुधारहरु पनि भइरहेका छन् भने केही समस्याहरु पनि देखिएका छन् । यद्यपि हालसम्म बीमा प्राधिकरणले बीमा ऐनको प्रभावकारी कार्यान्वयनको चुनौति सम्बन्धमा कुनै छलफल गरेको छैन । बीमा प्राधिकरणले ऐन जारी भएपछि पहिलो पटक बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गरेको छ ।

बीमा प्राधिकरणले नयाँ ऐनको मर्म र भावना विपरित बीमा कम्पनीहरुलाई गर्नुपर्ने कारवाहीमा केही लचिलोपन अपनाउँदै आएको छ । नयाँ बीमा ऐन अनुसार समयमा वित्तीय विवरण नबुझाउने, लेखा परिक्षण नगर्ने बीमा कम्पनीहरुलाई करोडौं रुपैयाँ जरिवनाको व्यवस्था छ । नयाँ बीमा ऐन जारी भएपछि २०२६ सालदेखिको बीमा समिति नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भई कार्य गर्दै आइरहेको छ ।

बीमा प्राधिकरणले बीमा ऐन जारी भएको वर्षदिन पुगेको अवसरमा कुनै कार्यक्रम राखेको छैन । यस पटक बीमा नियामकहरुको अन्तर्राष्ट्रिय संस्था आईएआईएसको बार्षिक सम्मेलनसँग जुधेकाले बीमा प्राधिकरणले बीमा ऐनको बार्षिकोत्सव मनाउन पाएन । बीमा क्षेत्रको अन्तर्राष्ट्रिय नियामकहरुको बैठक र सम्मेलन यही नोभेम्वर ६ देखि १० सम्म जापानमा भइरहेको छ । विश्वभरका नियामकहरु भेला हुने र आगामी रणनीति, नियामनको अनुभव आदान प्रदानको हिसाबले निकै महत्वपूर्ण सम्मेलनमा प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशक दुवै जना जापानमा रहेका छन् ।

-फाइल तस्विर

प्राधिकरणले नयाँ ऐन प्रारम्भ भएको वर्षदिन पुगेको अवसरमा यसबारे समीक्षा र छलफल कार्यक्रम छिट्टै गर्ने तयारीमा बीमा प्राधिकरण रहेको जनाइएको छ ।
बीमा क्षेत्रमा पछिल्ला दशकमा भएको प्रगति, बीमाको पहुँचमा भएको बृद्धिलाई सम्बोधन गर्न नयाँ बीमा ऐन सफल भएपनि यसका अझै कैयौं पक्षहरुलाई सुधारका लागि थप संशोधन र परिमार्जन गर्दै जानुपर्ने आवश्यकता देखिइसकेको छ ।

यसैबीच, नेपाल बीमा प्राधिकरणको नाममा बीमा क्षेत्रमा नियमन सुरु भएको पनि पहिलो वर्ष पुरा भई दोस्रो वर्षमा प्रवेश गरेको छ । आजैका दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाल बीमा प्राधिकरणको रुपमा औचपारिक रुपमा शुभारम्भ गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*