सर्लाहीको गोडैता नगरपालिकासँग बीमा अन्तरक्रिया

२२ कार्तिक २०८०, बुधबार १३:२४

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकासँग बीमासम्बन्धी अन्तरक्रिया गरिएको छ । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्वारा कात्तिक २१ गते उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले आर्थिक वर्ष २०८०।८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रम गोडैता नगरपालिकाको सभा हलमा गरेको हो ।

नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले सभापतित्व गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोडैता नगरपालिका वडा नं ११ का वडाध्यक्ष बिजय प्रसाद यादव, अतिथीको रुपमा विभिन्न वडाका वडाध्यक्षहरु र पालिकाका कृषि शाखा प्रमुख महेन्द्र प्रसाद कुश्वाहाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सिनाले गरेका थिए भने स्वागत मन्तव्य प्राधिकरणका सागर आचार्यले राखेका थिए । उक्त कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधीहरु, कार्यपालिकाका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु, अगुवा कृषकहरु, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरु र बीमकका शाखा कार्यालयका प्रतिनिधीहरु तथा महिला समुहका व्यक्तिहरु गरी करिब ९० जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले बीमा र बीमा प्राधिकरणको बारेमा प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिकरण पश्चातको छलफल कार्यक्रममा सहभागीहरुले कृषि तथा विभिन्न बालीहरुको बीमाका बारेमा, जीवन बीमाको बीमाङ्क रकम निर्धारण र बीमाशुल्क गणना बारे जिज्ञासा राखेका थिए ।

छलफलका क्रममा सहभागीहरुलाई अभिकर्ता र कम्पनीहरुले बीमा बिक्रि गर्ने समयमा सुविधा बारे व्याख्या गर्ने तर दावी भुक्तानी र अन्य बीमा सेवा प्रवाहका सम्बन्धमा सहजिकरण नभएको सम्बन्धमा गुनासो व्यक्त गरेका थिए । कृषकहरुले चोरीको अवस्थामा दावी भुक्तानी नपाउने व्यवस्थामा आपत्ति जनाउदै सो सम्बन्धमा आवश्यक संशोधन गर्न सुझाव समेत दिएका थिए ।

त्यस्तै, केही सहभागीहरुले बीमा गर्दा सहजै गर्ने तर दावी भुक्तानीको समयमा सानो सानो समस्या देखाइ दावी भुक्तानी नपाएको गुनासो राखेका थिए । साथै, केहि सहभागिहरुका अनुसार अभिकर्ताहरुले बीमा बारे गलत जानकारी दिई बीमा गराउने र अभिकर्ताहरुको भुमिका प्रभावकारी नभएको हुँदा सो बारे आवश्यक निर्देशनका लागि सुझाव दिएका थिए ।

कार्यक्रममा जीवन बीमक र निर्जीवन बीमकका प्रतिनिधिहरुले स्थानीय भाषामा बीमा सम्बन्धी जानकारी दिएका थिए । कार्यक्रममा गोडैता नगरपालिकाका कृषि शाखा प्रमुख महेन्द्र प्रसाद कुश्वाहाले हाल कायम रहेको कृषि सम्बन्धी मापदण्ड बारे विस्तृत जानकारी दिदै बीमा वास्तवमै हरेक नागरिकलाई आवश्यक रहेको बताउदै बीमा गर्न अनुरोध गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि, वडा नं. ११ का वडाध्यक्षले बीमा वास्तवमै आवश्यक रहेको र सबैले आफ्नो जीवनको र आफ्ना सम्पत्तीहरुको बीमा गर्नु पर्ने कुरा व्यक्त गरेका थिए । बीमा बारे स्थानीय स्तरमा जनचेतना अभिवृद्धि गर्न योगदान गरेकोमा नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको समापनमा प्राधिकरणको मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले सहभागीहरुबाट प्राप्त भएको सुझावहरु प्राधिकरणले आगामी दिनहरुमा सम्बोधन गर्दै जाने र नगरपालिकालाई बीमा सम्बन्धी आवश्यक पर्ने सहयोग र परामर्शका लागि बीमा प्राधिकरण जुनसुकै समयमा पनि तयार रहेको धारणा राखेका थिए ।

साथै उनले बीमा गराउदै गर्दा सेवा शर्तहरु बुझि बीमा गर्न र बीमाशुल्क तिरेपश्चात अनिवार्य रुपमा रसिद लिन अनुरोध गर्दै बीमा कम्पनीका प्रतिनिधीहरुलाई समय समयमा पालिकामा आई आवश्यक समन्वय गर्नका लागि समेत अनुरोध गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*