बीमा कम्पनीहरुले जलविद्युत्, पर्यटन र कृषिपूर्वाधारमा थप लगानी गर्दै, हालसम्म कसको कति ? (विवरणसहित)

२३ कार्तिक २०८०, बिहीबार ११:०८

काठमाडौं । मुलुकको पूर्वाधार क्षेत्रमा बीमा क्षेत्रको लगानी ७ अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले जलविद्युत्, पर्यटन, कृषिजस्ता पूर्वाधारमा अझै लगानी बढाउने तयारी गरेका छन् । नेपालमा अहिले १४-१४ जीवन र निर्जीवन बीमा कम्पनीहरु छन् । पछिल्लो समय पुनर्बीमा र लघुबीमा कम्पनीहरु समेत सञ्चालनमा आएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार १४ मध्ये सात जीवन बीमा र चार निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षसम्म जलविद्युत्, पर्यटन, कृषि पूर्वाधार तथा व्यवसायिक भवनलगायतमा सात अर्ब ५१ लाख लगानी गरेका हुन् । हाल सञ्चालनमा रहेका दुई पुनर्बीमा र ६ लघुबीमा कम्पनीले भने पूर्वाधारमा लगानी गरेका छैनन् । यी कम्पनीले विभिन्न कोष तथा बीमाशुल्कमार्फत संकलन गरेको रकम विभिन्न क्षेत्रमा लगानी गर्न पाउँछन् ।

हाल बीमा कम्पनीले बैंकको निक्षेप, शेयर बजार, सूचीकृत कम्पनीको साधारण शेयर, पब्लिक कम्पनीको डिभेन्चर, सरकारको ऋणपत्र, म्युचुअल फण्ड, घरजग्गा, पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न सक्छन् । बीमा कम्पनीले पूर्वाधारमा टेक्निकल रिजर्भको १० प्रतिशतसम्म लगानी गर्न सक्ने प्रावधान छ । अहिले बीमा क्षेत्रमा झण्डै सात खर्ब हाराहारीमा दीर्घकालीन तथा अल्पकालीन लगानी योग्य रकम छ । त्यसमा सात अर्ब मात्रै पूर्वाधार क्षेत्रमा लगानी भएको बीमा प्राधिकरणले जानकारी दिएको छ ।

पूर्वाधारमा कुन बीमा कम्पनीको कति लगानी ?

जीवन बीमा
राष्ट्रिय बीमा संस्थान : चार अर्ब ८७ करोड १७ लाख
एसियन लाइफ : एक अर्ब ४४ करोड २० लाख
सन् नेपाल लाइफ : ९ करोड ८२ लाख
प्रभु लाइफ : छ करोड
सानिमा रिलायन्स लाइफ : पाँच करोड
नेपाल लाइफ : ४ करोड ५४ लाख
सिटिजन्स लाइफ : दुई करोड २९ लाख

निर्जीवन बीमा
शिखर इन्स्योरेन्स : २२ करोड ६१ लाख
सलिको : १२ करोड २५ लाख
प्रभु इन्स्योरेन्स : चार करोड ६० लाख
आइजिआई प्रुडेन्सियल : दुई करोड

सरकारी स्वामित्वको साविक राष्ट्रिय बीमा संस्थान तथा हाल कम्पनीमा रपान्तरित राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले अप्पर तामाकोशी, एचआइडिसिएल र जलविद्युत उत्पादन कम्पनीमा बढी लगानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*