देशभर नयाँ बन्ने घरहरुको बीमा गर्ने नियम लागू गराएरै छाड्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

२८ कार्तिक २०८०, मंगलवार १२:०५

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अब बन्ने नयाँ आवास तथा संरचनाहरुको बीमा अनिवार्य गर्नु पर्ने सरकारको निर्णय कार्यान्वयनमा सघाउन आम नेपाली सबैलाई आग्रह गरेका छन् । भक्तपुरको मध्यपुर थिमिमा आयोजित नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा मौलिक स्थान सुभारम्भ कार्यक्रमा प्रधानमन्त्री प्रचण्डले सोमबार मात्रै आफु नेतृत्वको मन्त्रिपरिषदले गरेको आवास तथा संरचनाहरुको बीमा गराउनै पर्ने सम्बन्धको निर्णय कार्यान्वयनका लागि सघाउन सबैलाई आग्रह गरेका हुन् । साथै प्रधानमन्त्री प्रचण्डले देशभर नयाँ बन्ने घरहरुको बीमा गर्ने नियम लागू गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो मुलुक भूकम्पको अति जोखिममा रहेको वैज्ञानिक तथ्यलाई मनन गर्दै मन्त्रिपरिषदले सोमबार मात्रै गरेको निर्णय हाम्रो भविष्यका लागि महत्वपूर्ण छ । भूकम्पका जोखिम र संरचना निर्माण सम्बन्धमा विज्ञहरु सम्मिलित कार्यदलले अध्ययन गर्ने र मुख्य सचिवको सिफारिसमा व्यक्तिगत आवास तथा संरचनाहरुको अनिवार्य बीमा गराउने सम्बन्धको निर्णय निकै महत्वपूर्ण छ । यो निर्णयमा हामी सबैको जीउ धनको सुरक्षा जोडिएका कारण यसलाई कार्यान्वयन गर्न हामी सबैले सघाउन जरुरी छ । निर्णय कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ । तपाईहरु पनि सघाउनुस् ।’

सोमबार मात्रै मन्त्रिपरिषदले, ‘नेपाल भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको मुलुक भएकाले व्यक्तिगत आवासलगायत सबै भवन तथा संरचनाको बीमा गराउने सम्बन्धमा अध्ययन गरी नेपाल सरकारको मुख्यसचिवले प्रतिवेदन पेश गर्ने’ भनी निर्णय गरेको थियो । यो निर्णय कार्यान्वयनका लागि मुख्य सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन भई अध्ययन गरी सिफारिस गर्ने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित जिल्लाका सर्वसाधारणलाई सहयोग गर्न सरकारले अरबौंको कोष निर्माण गरेको र आवास तथा पुनःस्थापनाका लागि समेत महत्वपूर्ण निर्णयहरु गरेको समेत बताए । कार्यक्रम कै दौरान राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले भूकम्प प्रभावितको सहयोगार्थ प्रधानमन्त्री प्रचण्डलाई २५ हजारको चेक हस्तान्तरण गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*