पुनर्बीमा कम्पनीलाई कारोबार विवरण नबुझाउने बीमा कम्पनीलाई प्राधिकरणको चेतावनी, कारवाही र जरिवाना दुवै हुने

२२ मंसिर २०८०, शुक्रबार १३:१८

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुले स्वदेशी पुनर्बीमा कम्पनीलाई बुझाउनुपर्ने कारोबार विवरण प्रत्येक त्रैमास सकिएको १५ दिनभित्रैमा कारोबार विवरण बुझाएर हिसाब राफसाफ गर्न निर्देशन दिएको छ ।

नेपालमा सञ्चालित बीमा कम्पनीहरुले स्वदेशी पुनर्बीमा कम्पनीहरुलाई बुझाउनु पर्ने हिसाब किताब र कारोबार विवरण राफसाफ गर्नुपर्नेमा त्यसो नगरेको पाइएको भन्दै तत्काल विवरण बुझाउने व्यवस्था मिलाउन नियामक प्राधिकरणले कडा निर्देशन जारी गरेको हो ।

नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुलाई जारी गरिएको निर्देशनमा मिति २०७९ माघ १३ गते जारी गरेको निर्देशन बमोजिम कारोबार विवरण हिसाब किताब प्रत्येक त्रैमास सकिएको १५ दिनभित्र बुझाउन निर्देशन दिएको छ । त्यस्तै, प्रत्येक त्रैमास सकिएको तीन महिनाभित्र हिसाब किताब र लेना देना पुरा गर्न दिएको निर्देशन पालना नभएको भन्दै कारवाही गर्ने चेतावनी दिएको हो ।

प्राधिकरणका निर्देशक सुशिल सुवेदीद्धारा जारी निर्देशनमा उक्त निर्देशन पालना नगर्ने बीमा कम्पनीहरुलाई बीमा ऐन २०७९ को दफा १३४ र १३८ बमोजिम कारवाही र जरिवना गरिने उल्लेख छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*