‘अभिकर्ता’ बीमा व्यवसायको मेरुदण्ड हो, राम्रो लिडर छानेर यो पेशामा आउनुस्, भविष्य सुरक्षित छ (भिडियोसहित)

५ पुष २०८०, बिहीबार १५:२८

बीमा व्यवसायको मेरुदण्ड हो, बीमा अभिकर्ता । बीमक र बीमितलाई जोड्ने एक मात्रै सेतु अर्थात् पुल हो, बीमा अभिकर्ता । अभिकर्ताविना बीमा व्यवसायलाई नयाँ उचाईमा लैजान सम्भव छैन । अहिले कै अवस्थामा बीमितहरु बीमा कम्पनीमा सोझै आएर बीमा गरिहाल्छन् भन्नु मूर्खता हुनजान्छ । आर्थिक मन्दी होस् वा अनेकन् प्रतिकूलताका बाबजुद बीमा अभिकर्ता पेशा रोजेर निरन्तर कर्म गर्नेहरु नै असल उत्प्रेरक वा उदाहरण बन्न सक्छन् । तिनै असल उत्प्रेरक मध्येकी एक हिमालयन लाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सी म्यानेजर अम्बिका गौतमसँग रिना खत्रीले गरेको कुराकानीः

बीमा अभिकर्ताको रुपमा रहेर बीमा क्षेत्रमा लामो समयदेखि योगदान दिइरहनु भएको छ, खासमा बीमा के हो ?
–हामीले जुनसुकै क्षेत्रमा रहेर काम गरेपनि त्यसबाट कमाएको केहि पैसा बीमाको लागि छुट्याउन पर्छ । जुन हाम्रो भविष्यका लागि महत्वपूर्ण सावित हुनसक्छ । मानिससँग हुने भनेको चल अचल सम्पत्ति नै हो । भोलिको लागि चाहिने भनेको चल सम्पत्ति हो । मानिससँग अचल सम्पत्ति भए पनि त्यो चाहिएको बेलामा फ्याट्टै निकाल्न सकिंदैन । मानिसले जे–जति कमाए पनि त्यसको ५ देखि १० प्रतिशत बीमाका लागि छुट्याउन जरुरी छ । भोलि आफू वा परिवारलाई केही परेका खण्डमा अथवा आफैंलाई बुढेसकालको लाठी हो, है बीमा ।

बीमा क्षेत्रमा तपाइहरुले दिएको योगदान र कसरी आवद्ध भइयो, यसबारेमा केही बताइदिनुहोस् न,
–जब म काठमाडौं आएँ, त्यो बेला नै मैले बीमा भनेको एकदम राम्रो विषय हो भनेर बुझिसकेको थिएँ । त्यतिबेला गरेको बीमा मैले २० वर्ष पुरा भएर मेच्योरिटी पनि लिइसके । त्यो बेला पनि म बीमामा आवद्ध हुन्छु भनेर अनौपचारिक रुपमा लागेको थिए । त्यसक्रममा म विभिन्न क्षेत्रमा आवद्ध हुँदै गर्दा विगत पाँच वर्षदेखि चाँही निरन्तर रुपमा हिमालयन लाइफमा आवद्ध भएर काम गरिरहेको छु । साविकको युनियन लाइफ कम्पनी थियो । पछि मर्ज भएर हिमालयन लाइफ भयो । म बीमा क्षेत्रमा आवद्ध भएको लगभग २५ वर्ष भयो ।

तपाई सुरुमा कस्को प्रेरणाले गर्दा यो क्षेत्रमा आइपुग्नुभयो ?
–पहिले म बीमामा कमाएको केहि पैसा राख्नुपर्छ है भनेर लागेको थिए । एकपटक एउटा मृतकको श्रीमती मिडियामा आएर रुनुभयो । कारण के थियो भने छोराको ११ हजार स्कुल फी तिर्न नसकेको । त्यपछि मैले सोचें एक डेड करोडको गाडी चढेर हिड्ने मान्छेले पक्कै पनि बीमा गरेको होला भनेर सोचेको थिएँ । र, भरे बुझ्दै जाँदा खेरी उहाँको बीमा भएको रहेनरछ । अनि मैले के भने भने उहाँ जत्तिको मान्छेलाई बीमा गराउन के कुराले सकिएन त ? के कुराले अभिकर्ताले उहाँलाई बीमा गराउन सकेनन् ? बीमा भनेको त सबैको लागि हो नि त, धनी गरिब सबैले बीमा गराउन पाँउछन् । यस विषयमा मैले बुझ्दै जाँदा उहाँले बीमा नगरेको कारणले छोराको फी तिर्न र परिवार धान्न गाह्रो परेको रहेछ । त्यो देखेपछि म बीमा क्षेत्रमा लागि परेर उहाँजस्तालाई बीमा गराउँछ् भनेर दृढ भएको हो ।

अहिले मुलुक आर्थिक मन्दीमा छ, अर्थतन्त्र पनि नाजुक अवस्थामा छ, यस्तो बेलामा तपाइहरुले आफ्नो कामलाई कसरी निरन्तरता दिरहनु भएको छ ?
–आर्थिक मन्दीले पहिले जस्तो ठूलो–ठूलो बीमा गराउन नसके पनि कमाएको ५ देखि १० प्रतिशत चाँहि जसरी पनि बीमा गर्नुपर्छ भनेर हामी अघि बढे कै छौं । देशको आर्थिक अवस्था नाजुक भएपनि बीमा भनेको आफ्नो भविष्यको लागि गर्ने हो । धेरैले बुझिसक्नु भएको छ । अहिले जुनसुकै व्यवसाय गरेपनि पछि काम लाग्ने भनेको बीमा नै रहेछ भनेर धेरैले हामीसँग बारम्बार भनिरहनु हुन्छ ।

बीमा अभिकर्ताको अवस्थालाई हेर्ने हो भने सरकारले ह्यारेस गरेर हो वा अरु कुनै कारणले, अभिकर्ताले विरोध गर्दै हिँड्नु पर्ने अवस्था किन आएछ ?
–जब यो विषयमा अवगत भयो, हामी पटक–पटक बीमा प्राधिकरणको ढोका ढकढकाउन पुग्यौं । बीमा नियमावली, जुन अर्थ मन्त्रालयमा ड्राफ्टको रुपमा रहेकोे छ । त्यो भित्र के छ ? हामीलाई बताइएको छैन । त्यो नियमावली राम्रो छ वा नराम्रो छ, हामीलाई थाहा छैन । हामीलाई सुन्नमा आएको चाँही बीमा अभिकर्ताका लागि राम्रो छैन भन्ने सुनेपछि हामीले प्राधिकरणका अध्यक्ष, कार्यकारी निर्देशनलाई समेत भेटेर हामीले पहिलेदेखि नै खाइपाई आएको सेवा सुविधा कटौती हुनुहुँदैन । किन भने बीमा कम्पनीले नै बीमा ल्याएको भनेर भनिरहनुभएको छ । मार्केटमा बीमा अभिकर्ता एजेन्सी जसरी लागि परेका छन् त्यसको हिसाब किताब छैन । बीमितहरुलाई पोलिसी बेच्न अभिकर्ता नभई हुँदैन । यो मिडियामार्फत अर्थ मन्त्रालय, बीमा प्राधिकरण, राज्यका सम्बन्धित निकायलाई भन्न चाहान्छु कि यदि नियमावली सर्वमान्य छैन, गलत छ भने त्यसलाई सच्याएर मात्र ड्राफ्ट अघि बढाउन अनुरोध छ ।

के साँच्चि कै तपाइहरुलाई त्यो ड्राफ्टमा नसमेटिएको कुरा साँचो हो ?
–हामीलाई प्राधिकरणको विश्वास छ, समेटिएको हुनुपर्छ । र, समेट्नै पर्छ । किन भने हाम्रो नियामक निकाय भने कै बीमा प्राधिकरण हो । प्राधिकरण नै जीवन तथा निर्जीवनसहित हामी अभिकर्ताको अभिभावक पनि बीमा प्राधिकरण नै हो । यति भएपछि प्राधिकरणले हाम्रो अहितको काम गर्दैन भनेर हामी विश्वस्त छौं । तर, अहिले बाहिर जे जति कुरा सुन्नमा आइरहेको त्यो ड्राफ्टभित्र नहुनसक्छ । कसैले अतिरन्जना गरेका पनि हुनसक्छन् । तर, जहाँसम्म अभिकर्ताले खाइपाई आएको सेवा सुविधा कटौती गर्ने कुरा छ त्यसले शंका जन्माएको छ । अभिकर्तालाई समेटेर ड्राफ्टको विषयमा छलफल गरिएन । त्यसै कारण हाम्रो सेवा सुविधा कटौती गरिएको विषयमा हामीलाई शंका लागिरहेको छ । यो पारित भएपछि भोलि हामीलाई अफ्ठेरो नपरोस भनेर समयमै आफ्नो हकहितको सुरक्षाको लागि बुलन्द रुपमा आफ्नो आवाव उठाइरहेका छौं ।

खाइपाई आएको सेवा सुविधा कटौती भएर नियमावली आएमा त्यसविरुद्ध तपाइहरुको कदम के हुन्छ ?
–हाम्रो सेवा सुविधा काटिएका खण्डमा चुप लागेर बस्ने कुरै भएन । हाम्रो पनि घर परिवार छ, बालबच्चा छन् । यसैपनि मार्केटमा निस्किन सजिलो छैन त्यति सजिलो भएको भए त हामीजस्तो एजेन्सी अभिकर्ता भनेर पोष्ट दिएर राखिरहने थिएन होला । बीमाबारे बीमक वा नियामकले मात्रै बुझेर त भएन । जबसम्म बीमितलाई बीमाको बारेमा राम्रोसँग कन्भिन्स गर्न सकिदैन तबसम्म बीमा हुँदैन । बीमितलाई बुझाउने तह त अभिकर्ता हो । कम्पनी मै आएर हाम्रो बीमा गरिदिनुस भन्ने मान्छेहरु आफैं आइपुग्छन् जस्तो त लाग्दैन । तसर्थ बीमा व्यवसाय चलाउन हामीलाई सेवा सुविधा दिनुपर्छ । यसका लागि आवश्यक आवाज उठाउन र कुनै पनि कदम चाल्न हामी एकजुट छौं ।

पछिल्लो समय अभिकर्ता पेशालाई प्रोफेशनल तरिकाले अघि बढाउन अभिकर्ता परीक्षा पनि लिन थालिएको छ, यसले भविष्यमा पार्ने प्रभावका बारेमा केही बताइदिनुहोस् न ?
–म चाँही के भन्छु भने अभिकर्ता प्रोफेसनल हुँनै पर्छ । जसरी हामीले कुनै व्यक्तिलाई राम्रोसँग कन्भेन्स गरेर बीमा गर्न तयार पारेका हुन्छौं, कोही मान्छे गएर आफ्नो सुरक्षा आफै गर्ने नि भनेर बीमितको मनमा एक किसिमको भ्रम सिर्जना गरिदिएको हुन्छ । प्राधिकरणले यो सबै कुरा बुझेर नै निर्णय गरेको हुनुपर्छ । अभिकर्ता भनेको एउटा टप पेशा हो । अभिकर्ताले बीमाको बारेमा बीमितलाई राम्रोसँग बुझाउन नसकेर पनि बीमा गराउन सक्रिय नभएको देखिन्छ । बीमितले अभिकर्तालाई के कति प्रश्न गर्छन उहाँहरुको नजरमा बीमाको बुझाइ कस्तो छ त्यो सबै आँकलन गरेर मात्रै अभिकर्ताले बीमाको बारेमा बुझाउन सकेमा मान्छेहरु बीमा गर्न तत्पर हुन्छन् । धेरै अध्ययन गरेर मात्रै अभिकर्ता अघि बढ्नुपर्छ । मेरो व्यक्तिगत धारणा के छ भने एकचोटी प्राधिकरणले अभिकर्तालाई सोध्नु पर्ने त हो तर पनि प्राधिकरणले ल्याएको यो परीक्षा प्रणाली राम्रो हो ।

परीक्षा प्रणाली झन्झटिलो भयो भन्ने गुनासो पनि सुनिन्छ, किन यसलाई झन्झटिलो भनिएको ?
–यसलाई झन्झटिलो मान्नु हुँदैन र भनिनु पनि हुँदैन । अभिकर्ता लाइसेन्स लिएर मात्र पनि हुँदैन बीमा सम्बन्धी ज्ञान भएकै हुनुपर्छ । भरे, बीमितले कुनै प्रश्न गरेका खण्डमा अभिकर्ताले त्यसको उत्तर दिन नसके कस्तो होला ? यदि कोही म यसैमा तत्पर भएर लागिपर्छु बीमितलाई लङ्ग ट्रम बीमा गराउँछु भनेर सोच राख्नेले त यसलाई झन्झट मान्नु नै हुँदैन । पहिले जस्तो शैक्षिक प्रमाणपत्र बुझाए कै आधारमा अभिकर्ता लाइसेन्स पाइने अवस्था छैन, हुनु हुँदैन ।

अभिकर्ता र बीमितबीचको सम्बन्ध कस्तो हुनुपर्छ ?
–बीमित र अभिकर्ताको समबन्ध भनेको नङ मासुको जस्तै हुनुपर्छ । अभिकर्ता कै कारण बीमितले बीमा गरिरहेको हुन्छ । उसले अभिकर्तालाई नै हेरेको हुन्छ । १४ वटा कम्पनी छन् नेपालमा सबै कम्पनी राम्रा छन् । तर, त्यो कम्पनीसम्म लैजाने काम अभिकर्ताको हो । अभिकर्ता बीमाको मेरुदण्ड हो । यसले कम्पनी र बीमितबीच पुलको रुपमा काम गर्छ । बीमितले दीर्घकालिन सेवाका लागि विभिन्न समयमा अभिकर्ताको आवश्यक पर्न सक्छ । या बीचमै बीमितले दाबी गनुपर्ने अवस्था आउन सक्छ । यस्तै, बीमितलाई कर्जाको आवश्यकता परेको हुनसक्छ, त्यो समयमा अभिकर्ता नै खोज्छन्, बीमितहरुले ।

नेपालको परीप्रेक्ष्यमा बीमित र अभिकर्ताबीचको सम्बन्ध कस्तो पाउनु हुन्छ ?
–मैले मेरै आफ्नै अवस्थालाई हेरेर भन्ने हो भने बीमितहरुको अवस्था के छ ? बीमितले के चाहिरहेका छन् ? प्रिमियम लिने बेलामा म्यासेजको मात्र भर नपरेर आफैले सम्पर्क गरेर समय समयमा जानकारी दिइएको हुन्छ । बेला बेलामा अफरहरु आउँदा पनि मैले बीमितहरुलाई त्यसको जानकारी दिएको हुन्छु । बीमितसँग प्रत्यक्षसम्बन्ध राखेर अभिकर्ताअघि बढ्ने हो भने बीमित पनि खुसी हुन्छन् । बीमितलाई लामो समयसम्म सेवा दिन सके बीमितले धेरै राहत महसुस गर्छन् । म चाँही जबसम्म काम गर्न सक्ने हुन्छु तबसम्म यसै पेशामा लागिरहन्छु । साँच्चै भन्ने हो भने, म र बीमितबीच पारिवारिक सम्बन्ध छ ।

तपाइले बीमा क्षेत्रमा महसुस गरेको एकदम खुसी र दुःखको क्षणबारे केही बताउनुस् न,
–पहिले साविकको यूनियन लाइफमा हुँदा एक जना हार्डवेयर पसले हुनुहुन्थ्यो । साथीहरुले मलाई तपाईले सबैको बीमा गराउन सक्नुहुन्छ होला तर, उहाँको चाँहि सक्नुहुन्न भनेर कुरा गर्नुभयो । किन भने अरु अरु कम्पनीका अभिकर्ताले पनि गएर धरै बुझाउन खोज्नु भएको रहेछ । त्यसपछि म उहाँकहा गएर बीमाको बारेमा बुझाउन थाले । तपाईले बीमा जोबाट गराए पनि हुन्छ । म अम्बिका गौतमबाटै बीमा गराउनु पर्छ भन्ने छैन । तर, बीमा चाँहि गर्नुहोस् । किन भने भोलि अफ्ठेरो परेका खण्डमा परिवारलाई सहुलियत हुन्छ । केहि नपरे बुढेसकाललाई हुन्छ । पछि बृद्धाश्रम जानुपर्ने अवस्था नआउला भन्न सकिन्न । त्यस्तो अवस्थामा कसले हेर्छ त ? त्यो बेला क्यास चाहिन्छ । बैंकमा राखेको बचत पनि खाली भएको अवस्थामा बीमा नै सारथी हुन्छ । बीमा त एउटा करार हो । यसमा बीमितले करारमा बुझाएको रकम हुन्छ । यसमा रकम एकैपल्ट बुझाउनु पर्ने पनि होइन भनेर कुरो बुझाएर मैले उहाँको १ करोडको बीमा गराएँ । र, दुई पटकको प्रिमियम गरिसकेपछि उहाँको मृत्यु भयो । उहाँले बीमा गराएको परिवारलाई थाहा रहेनछ । मैले पोलिसी खोज्दै गएँ । उहाँको काज किरिया सकिसकेपछि ड्रयरमा पोलिसी भेटियो । त्यो पोलिसीमा १ करोडको पुँजी रहेछ । त्यसपछि सो पोलिसी ल्याएर कम्पनीमा आवश्यक प्रक्रिया पुरा गरेर उहाँको परिवारलाई फोन गरेर बोलाएर १ करोड ११ लाख जतिको दाबी भुक्तानी गरियो । त्यसले उहाँहरुको घाउमा मलम पट्टी लाग्यो । यो क्षण सम्झिँदा मलाई अत्यन्तै खुसी लाग्छ ।
बीमा गर्नलाई जति सजिलो छ क्लेम गर्नलाई त्यति गाह्रो छ, भन्नु हुन्छ धेरैले । तर, त्यो होइन । आवश्यक कागजात भएमा सजिलै क्लेम पाइन्छ । उदाहरणका लागि मेरो बैंकमा खाता छ र म चेक नै नलिई गएँ भने बैकले मलाई पैसा दिन्छ त ? दिदैन नि हो, त्यस्तै, हो बीमा पनि आवश्यक कागजात भएमा सजिलै दाबी पाउन सकिन्छ ।

तर, बजारमा दाबी भुक्तानी गरिएको भन्दा पनि नगरिएको घटना बढी देखिएको भएर त्यसले प्रभाव पारेको हो कि ?
–यस विषयमा के हुन्छ भने, सुरुमा बीमित र अभिकर्ताबीच करार सम्झौता भएको हुन्छ । म यति वर्षको प्रिमियम तिर्छु, भनेर । तर, बीमितले ५ वर्षको प्रिमियम लिएर १ वर्ष मात्र प्रिमियम तिर्नुहुन्छ । अनि उहाँको मृत्यु भएपछि परिवारले बीमा बापतको भुक्तानी चाहियो भन्दै आउनुहुन्छ । अनि समस्या पर्छ । यस्तो भए पछि कम्पनीले पनि दाबी भुक्तानी गर्न सक्दैन । पोलिसीमा सबै कुरा हुन्छ । त्यो बुझेर त्यही अनुसार जाँदा क्लेम सजिलै पाइन्छ ।

तपाइको बुझाइमा, बीमा अभिकर्ता कर्म हो कि सेवा ?
–यो कर्म भन्दा पनि सेवा हो । किनभने कुनै एउटा आमाले छोरा पढाउन नसकेर मिडियामा आएर रुनुपर्छ । एउटा सामान्य मान्छेले एक करोडको बीमा गरेको अवस्थामा केही रकम बीमाका लागि छुट्याएको भए आज त्यो अवस्था आउने पनि थिएन । यस कुराले मेरो मन छोयो, मैले अरु पेशा छोडेर बीमामा लागे । म पनि मान्छे हो । मेरो पनि घरवार छ मैले पनि खानुपर्छ यसका लागि कम्पनीले हामीलाई पनि हेर्नुपर्छ ।

बीमा पँहुच विस्तारका लागि प्राधिकरणसहित बीमा कम्पनीहरु पनि सक्रिय रुपमा लागेका हुन्छन । यसमा अभिकर्ताको भूमिका के हुन्छ ?
–बीमा कम्पनीहरु बजारमा गएपनि अभिकर्ताले बीमितलाई कन्भेन्स नगरेसम्म बीमा क्षेत्रको विस्तार हुन सक्दैन । जबसम्म अभिकर्ताले बीमितलाई बीमाको फाइदाको बारेमा आवश्यक ज्ञान तथा सेवाबारे प्रष्ट नपारेसम्म कम्पनीमै गएर बीमा गराउँछन भन्ने जस्तो मलाई लाग्दैन ।

आर्थिक मन्दीले अभिकर्तालाई कत्तिको प्रभाव पार्छ ? यस्तो बेलामा तपाइहरु कसरी काम गर्नुहुन्छ ?
–आर्थिक मन्दी त्यो अवस्था हो जुन अवस्थामा केही समय अभिकर्ता बन्छु भनेर आएकाहरु टिक्नै सक्दैनन । हामी भनेको त सधैभरीका लागि यहि पेशा अँगाल्छौँ भनेर अघि बढेको मान्छे हो, यस्तो अवस्थादेखि विचलित हुनुहँदैन । बजार सँधैभरी एकनासको हुँदैन, यसलाई बुझ्नुपर्छ । आर्थिक मन्दीकै अवस्था भएपनि हामीले बीमितलाई कन्भेन्स गर्न सकेमा ठूलो नभए पनि सानो बीमा भइराखे कै हुन्छ ।

तपाईलाई प्राधिकरण र बीमक संघले के गर्दियोस् भन्ने लाग्छ ?
–बीमा कम्पनीहरुले त हामीलाई पक्कै पनि नराम्रो केही गर्नु भएको छैन र गर्नुहुन्छ जस्तो पनि लाग्दैन । उहाँहरुले मुखले नभने पनि अभिकर्ता भनेको मेरुदण्ड हो भनेर बुझिसक्नु भएको छ । तर, प्राधिकरणलाई कुनै कुरा थाहा नहुनसक्छ । यसमा बीमकले प्राधिकरणलाई भन्नुपर्छ प्राधिकरणले पनि अभिकर्तालाई तपाईहरुबारे के छ भनेर सोध्नुपर्छ । कम्पनीले दिएको सेवा सुविधा प्राधिकरणले काट्नु हुँदैन । प्राधिकरणले हामीलाई बोलाएर छलफल गर्नुपर्छ । हामी पनि प्राधिकरणलाई असजिलो हुने गरी माग राख्दैनौं । राज्य, बीमा प्राधिकरण, बीमक र अभिकर्ता सबैलाई सहज हुनुपर्छ । कुनै एकलाई मर्कामा पार्नु हुँदैन ।

बीमा प्राधिकरणले अभिकर्तासँग छलफलमा बसेको देखिदैन । आवश्यक नभएर हो ?
–बीमा प्राधिकरणले पेशागत बीमा अभिकर्तासँग छलफलमा बस्नुपर्छ । प्राधिकरण भनेको त बीमा कम्पनी र अभिकर्ताको अभिभावक हो । प्राधिकरणले बीमा अभिकर्ता कम्पनीको मेरुदण्ड हो भनेर बुझ्नुपर्छ । यसले कसैलाई छुटाउनु हुँदैन ।

बीमा क्षेत्रमा आउन खोजिरहेका अभिकर्ता र बीमितलाई के सुझाव दिनुहुन्छ ?
–बीमा गर्नुस् । म अभिकर्ता भन्दा पनि बीमितलाई फोकस गर्छु । कसैले नभनिकन सीधै कम्पनीमा आएर बीमा गर्ने सयमा १-२ प्रतिशत होला । त्यसरी आए पनि कम्पनीले एक अभिकर्ता राखेर नै कम्पनीले बीमा गराएको हुन्छ । बीमितले अभिकर्ताकै माध्यमबाट बीमा गराउन खोजेको देखिन्छ । किनभने बीमितलाई पनि कम्पनीमा भन्दा पनि अभिकर्तासँग सम्पर्क सहज देखिन्छ । म त भन्छु सबैले बीमा गर्नुस् । यो भनेको आफैंलाई हो । र, जो अभिकर्ता बनेर आउन चाहनु भएको छ । उहाँहरुलाई के भन्न चाहन्छु भने राम्रो लिडर छानेर सबै कुरा बुझेर मात्र अभिकर्ता पेशामा आउनुहोेस् । यसमा भविष्य छ ।

(भिडियो अन्तर्वार्ता)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*