बीमा पोलिसी सरेण्डरको दावी भुक्तानीमा लेखा समितिको कडा निर्देशनः ‘२५ प्रतिशत कार्यालय खर्च कटाएर बाँकी रकम फिर्ता गर्नु’

१२ पुष २०८०, बिहीबार १६:५३

काठमाडौं । बीमा पोलिसी सरेण्डरको बिषयमा लेखा समितिले पहिलोपटक नियामक बीमा प्राधिकरणलाई कडा निर्देशन दिँदै ७५ प्रतिशत रकम बीमितलाई फिर्ता गर्ने व्यवस्था गर्न भनेको छ ।

सार्वजनिक लेखा समितिको आजको बैठकमा सभापति ऋषिकेश पोखरेलले बीमितको पक्षमा कडा निर्देशन जारी गरिएको बताए । बीमा प्राधिकरणलाई लिखित रुपमा दिएको निर्देशन अनुसार तीन वर्षभित्र सरेण्डर भएका बीमा पोलिसीहरुको २५ प्रतिशत कार्यालय खर्च कटाएर बाँकी रहेको ७५ प्रतिशत रकम बीमितलाई छ महिनाभित्र फिर्ता गर्ने व्यवस्था गर्न भनिएको छ ।

बीमा पोलिसी सरेन्डर वापतको रकमबाट राज्यलाई पनि लाभ नभएको र बीमितको हकहित पनि संरक्षण हुन नसकेको ठहर गर्दै सरेण्डरको नाममा फिर्ता नै नहुने व्यवस्था अन्त्य गर्न भनेको छ ।

 

लेखा समितिले बीमा पोलिसीको विकराल अवस्थाले बीमाप्रति नरकारात्मक असर पर्ने भन्दै नियामक निकाय नेपाल बीमा प्राधिकरणलाई उक्त निर्देशन दिएको हो । तीन वर्षभित्रै सरेन्डर भएका बीमितहरुको हितलाई मध्यनजर गर्दै न्यून सञ्चालन शुल्क (२५ प्रतिशतमा नबढ्ने गरी) लिई बाँकी रकम सम्बन्धित बीमितहरुलाई फिर्ता गराउन लेखा समितिले नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको सभापतिले पोखरेलले बीमापोष्टलाई बताए । लेखा समितिको उक्त निर्देशन प्रचलित बीमा सम्बन्धी कानुनहरुको विपरित हुन गएको छ । यद्यपि मिनि संसदको रुपमा रहेको लेखा समितिले नै निर्देशन दिएपछि यसको सम्बोधन अब नियामक निकायले गर्नुपर्ने भएको छ ।

लेखा समितिको निर्देशन अनुसार नियामक बीमा प्राधिकरणले अबदेखि हाल कायम रहेको तीनवर्ष पुरा नभई सरेण्डर गर्न नपाउने व्यवस्था संशोधन गरी जुनसुकै बीमा पोलिसी सरेण्डर गर्न पाउने व्यवस्था गर्नुपर्नेछ । र त्यस्को नीति २५ प्रतिशत कार्यालय खर्च कटाएर बाँकी रहेको ७५ प्रतिशत रकम बीमितलाई फिर्ता गर्नुपर्नेछ । यसको लागि कानुनी व्यवस्था मिलाउन भने केही समय लाग्न सक्नेछ ।

7 thoughts on “बीमा पोलिसी सरेण्डरको दावी भुक्तानीमा लेखा समितिको कडा निर्देशनः ‘२५ प्रतिशत कार्यालय खर्च कटाएर बाँकी रकम फिर्ता गर्नु’

  1. राम बहादुर तामाङ says:

    यो निर्देशनले त बिमितलाई झनै घाटा हुन्छ। फिर्ता गर्ने रकम बोनस सहितको होकि मात्र पैड अप प्रीमियमको हो केही खुलाएको छैन। यो निर्देशनले त बिमा कम्पनी खुशी नै हुने भयो। हप्ता दिन भित्रमा फिर्ता गर्नु पर्ने रकम ६ महिना तोके पछि पीडित को हुने भयो त?

  2. देव प्रसाद जैसी says:

    एक किस्ता मात्रै भुक्तानी विमालेख देखि सबै समर्पण हुने हुने विमालेख भनेर स्पष्ट पारिनुपर्दछ।

  3. सुर्य सापकोटा says:

    नमस्कार
    यश समचार राम्ररी पढे। तर अपुष्ट समचार लाग्यो। ३ बर्ष पछि सरेण्डर गर्न त पाइने तर ३ किस्ता नै तिरेको हुनु पर्ने कि नपर्ने? १ किस्ता तिरेर छोडेको पोलिसि को के हुन्छ? कृपया जानकारी दिनुहोस।

  4. कृष्ण नाथ says:

    केही बिमाकम्पनी को धेरै लापरबाही देखिन्छ पुर्ण रूपमा बिमाको बारेमा बिमक लाई न बुझाइ कमिसन को लोभमा अपुस्ट तरिकाले बिमा गरेको कारणले आज बिमासलेन्डर गर्नु पर्ने बाध्यता छ! 16 बर्से 2 लाख किस्ता तिरेर 10 बर्ष सम्म 20 लाख जम्मा गरि त्यो बिमामा लोन नै नपाइने भए त्यो बिमाको के काम रिलाइबल लाइफ ले जनता लाई धेरै झुक्याएर बिमा गरेको पाइन्छ !!!

  5. मदन says:

    समाचार प्रष्ट भएन ।
    एदि एक किस्ता मात्र तिरेर बाकी किस्ता तिर्न नसकेको मा के हुन्छ त बिमित लाई।

  6. दामोदर लामिछाने says:

    यो हाम्रो नेपाल हो बिमा प्राधिकरण लाइ निर्देशन दिय पनि सिधै अधालत बाट उर्दी जारि गरे पनि बिमा कम्पनी हरुले पैसा फिर्ता गर्नेछन् भन्ने मा बिश्वास छैन 3किस्ता बुझाएको ले पैसा लिन जादा कम्पनी लाइ घाटाभो भनेर पैसा दिन मान्दैनन् अझ 25% मात्र काटेरदिने कुरा मुस्किल छ आशा गरौ तर …..

  7. लिम्बु says:

    क्लेइम गर्ने प्रोसिडर कसरी हो?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*