नियोजित ठगीधन्दामा सुर्यज्योति लाइफ, अभिकर्ताको नाममा ऋण दिएर बीमा पोलिसी बिक्री, पाँचौं दिनपछि जग्गा रोक्का

१९ पुष २०८०, बिहीबार ११:१२

काठमाडौं । आफूलाई पूर्ण व्यवसायिक र कर्पोरेट कल्चर भएको डंका पिट्ने सुर्यज्योति लाइफका सिईओको संलग्नतामा गैर कानुनी र ठगीमार्फत बीमा गराउने गरेको तथ्य बीमापोष्टले फेला पारेको छ । तत्कालिन सूर्यालाइफमा हुँदा ठगीएका पीडितहरुले पटक पटक सुर्यज्योति लाइफका सिइओ प्रकाश विक्रम खत्रीसँग न्याय माग्न खोज्दा उल्टै हपारेर, गाली गरेर पठाउने गरेको पीडितहरुले गुनासो गरेका छन् ।

संस्थागत सुशासन लगभग शुन्य देखिएको सुर्यज्योति लाइफमा यस्तो पीडितहरु दर्जनौं रहेको सूचना प्राप्त भएको छ । भिमेश्वर दोलखा (जग्गा धितो नुवकोट) श्रेष्ठ थर भएका २२ बर्षिय बीमितसँग तत्कालिन सुर्या लाइफले अनैतिक तरिकाले बीमा पोलिसी बिक्री गरेको तथ्य फेला परेको छ । बीमा अभिकर्तालाई लक्ष्य पुरा गर्न बीमितको महालक्ष्मी विकास बैंकमा रहेको खातामा २८ फ्रेबुअरी २०२१ (२०७७ फागुन १६) मा २७ लाख रुपैयाँ ऋण प्रवाह गरिएको देखिन्छ । सोही खाताबाट सोही दिन १५ लाख ८० हजार रुपैयाँ बीमा शुल्क बापत भन्दै कम्पनीको खातामा जम्मा गरिएको थियो ।  बीमा पोलिसी बिक्री गर्नको लागि कम्पनीले अपनाएको यस्तो घृणित कार्यले बीमा अभिकर्ता अहिले पीडित बनेका छन् । साथै कम्पनीबाट ऋण प्रवाह भएको २७ लाख रुपैयाँ मध्ये नौ लाख रुपैयाँ कम्पनीका शाखा प्रमुख प्रदिप कुमार लाखाको नाममा चेक काट्न लगाएर पुनः फिर्ता ल्याएको देखिएको छ ।

बीमा अभिकर्ताको नाममा २७ लाख रुपैयाँ ऋण दिएर जग्गा रोक्का राखी सबै रकम कम्पनीले चलाएर अहिले बीमित र अभिकर्तालाई ऋण तिर्न पटक पटक ताकेता गरिरहेको भेटिएको छ । आफैले फकाएर ऋण दिन बीमा अभिकर्ता बनाउने, आफैले ऋणीको खातामा रकम जम्मा गरिदिने, सोही सोही खाताबाट पैसा झिकेर बीमा पोलिसी जारी गर्ने र त्यसको पाँच दिनपछि जग्गा रोक्का राखिएका तथ्य भेटिएको छ ।

सुर्यज्योति लाइफको ठगी यतिमा मात्रै सीमित छैन । बीमा पोलिसी दुई वर्ष पुग्ने वित्तिकै सरेण्डर गराएर छ लाख रुपैयाँ फिर्ता गरेकोमा अधिकांश रकम आफैंले जारी गरेको ऋणको ब्याज तिर्न लगाएको खुलेको छ । भर्खरै स्नातक तहमा अध्ययनरत एक विद्यार्थीलाई अनाहकमा २७ लाख रुपैयाँ ऋणमा फसाएको सुर्यज्योति लाइफले पीडितले पटक पटक गुनासो गर्दा कुरै नसुनी गाली गरेर, हप्काएर लखेट्ने गरेको पीडितको गुनासो छ ।

बीमापोष्टलाई प्राप्त कागजात र बैंक स्टेटमेन्टमा सुर्यज्योति लाइफले बीमा सेवा भन्दा पनि बीमा व्यवसायको लक्ष्य पुरा गर्न झुक्याएर नियोजित रुपमा ठगी गर्ने कार्यमा संलग्न रहेको मालपोत कार्यालयमा जग्गा रोक्का राख्न लेखेको पत्र, जग्गा रोक्का, ऋणीको खातामा ऋण प्रवाह र बीमा पोलिसी जारी गरेको योजनाबद्ध घटनाले पुष्टि गर्दछ ।

नियामक बीमा प्राधिकरणलाई गम्भिर चुनौति दिने यस काण्डको निष्पक्ष छानविन गर्न र अनाहकमा ऋणीको रुपमा दर्ज गरी २७ लाख रुपैयाँको सावाँ ब्याज तिर्न दिइएको टर्चरबाट मुक्त गर्न पीडित बीमितले माग गरेका छन् ।

सो सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा कम्पनीका सूचना अधिकारी उमेश मैनालीले कुनै प्रतिक्रिया जनाउन चाहेनन् । उता, नियामक नेपाल बीमा प्राधिकरणले भने यस्तो गैर कानुनी कार्य गर्ने छुट कसैलाई नभएको स्पष्ट पारिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*