सप्तरीको महादेवा गाउँपालिकासँग बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न

२२ पुष २०८०, आईतवार १०:४१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरण मधेश प्रदेश कार्यालयले सप्तरीको महादेवा गाउँपालिकासँग पुस २० गते बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल बीमा प्राधिकरण मधेश प्रदेशले चालु आवको स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसँग उक्त नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम महादेवा पालिकाको सभा हलमा सम्पन्न गरेको छ।

उक्त कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मंडल, अतिथिको रुपमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादव र विभिन्न वडाका वडाध्यहरु रहेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक प्रथम सागर आचार्यले गरेका हुन्। कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु, अगुवा कृषकहरु, नागरिक समाजका प्रतिनिधिहरु, अन्य सरोकारवाला लगायत बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु गरी करिब ९० जना भन्दा बढीको सहभागिता रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले स्वागत मन्तव्य राख्दै नेपाल बीमा प्राधिकरणको परिचय, काम कर्तव्य र अधिकार, बीमाको परिचय, कृषि जडिबुटि तथा पशुपन्छी बीमा, लघु बीमा लगायतका अन्य विषयमा प्रस्तुतिकरण गरेका थिए।

प्रस्तुतिकरण पश्चात् को छलफल कार्यक्रममा सहभागीहरुले जीवन र निर्जीवन बीमा एवम् कृषि तथा पशुपन्छी बीमाका विविध विषयमा जिज्ञासा राखेका थिए । साथै, बीमा र शिक्षालाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो ।

छलफलका क्रममा उठेका प्रश्न एवम् जिज्ञासाको जवाफ प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले दिए । साथै, जीवन र निर्जीवन बीमकका प्रतिनिधि एवम् कृषि प्राविधिकले समेत स्थानीय भाषामा उठेका जिज्ञासाको जवाफ दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि महादेवा गाउँपालिकाका अध्यक्षले मधेश प्रदेशमा बीमाको दायरा कम हुनुको प्रमुख कारण बीमा सम्बन्धी कमजोर जनचेतनास्तर हो भन्ने धारणा राखे। साथै, आगामी दिनमा सवैको सहकार्यमा बीमा सम्बन्धी साक्षरता वृद्धि गर्नुपर्ने र यसका लागि पालिकाले समेत आवश्यक कार्य गर्ने प्रतिवद्धता जनाए ।

साथै उनले कार्यक्रम आयोजना गरी बीमा बारे स्थानीय स्तरमा जनचेतना अभिवृद्धि गर्न योगदान गरेकोमा नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयलाई धन्यवाद ज्ञापनसमेत गरे ।

कार्यक्रमको समापनमा प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले मधेश प्रदेशको कमजोर बीमा दायराको स्थितिलाई सुधार गर्न गाउँगाउँ सम्म बीमा शिक्षा पुर्‍याउनु पर्ने र यसका लागि नेपाल बीमा प्राधिकरणले गर्दै आएका विभिन्न कार्यको जानकारी दिइन् । उनले स्थानीय तह र बीमक समेतले बीमा शिक्षा विस्तारमा आवश्यक कार्य गर्नुपर्ने धारणा व्यक्त गरिन्। पालिका स्वयंले आफ्ना भौतिक संरचना र विपन्न नागरिकको बीमा गरी यस अभियानलाई सुरुवात गर्न र पालिकाको सेवालाई बीमासँग आवद्ध गर्न अनुरोधसमेत गरिन्।

साथै, उनले बीमा गर्दा यसका सेवा शर्तहरु बुझि बीमा गर्न र बीमाशुल्क तिरे पश्चात अनिवार्य रुपमा रसिद लिन अनुरोध गर्दै छलफलका क्रममा उठेका अन्य प्रश्न एवं जिज्ञासालाई थप स्पष्ट पार्दै बीमा कम्पनीका प्रतिनिधिहरुलाई समय समयमा पालिकामा आई आवश्यक समन्वय गर्नका लागि आग्रह गरिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*