सुर्यज्योति लाइफद्वारा बीमितको जोखिम पूर्ण बहन नगर्ने र मरेपछि पोलिसी नै रद्द हुने बाल बीमा पोलिसी बिक्री जारी

२३ पुष २०८०, सोमबार १२:१४

काठमाडौं । सुर्यज्योति लाइफले बीमित बालबालिकाको जोखिम रक्षावरण पूर्ण रुपमा नहुने र कुनै कारणबाट बीमितको मृत्यु भएको अवस्थामा जोखिम बहन गर्नुको सट्टा बीमा पोलिसी नै रद्द हुने बीमितको हित प्रतिकूलको बीमा पोलिसी बिक्रीलाई जारी राखेको छ ।

कम्पनीका जिल्लास्थित शाखा कार्यालयबाट बीमित बालबालिकाको जोखिम जम्मा २५ प्रतिशत मात्रै रक्षावरण हुने बीमा पोलिसी बिक्री जारी नै रहेको केन्द्रीय कार्यालयबाट एक अधिकारीले पुष्टि गरेका छन् । बीमापोष्टको सम्पर्कमा आएका एक शाखा प्रमुखले बाल बीमा पोलिसी बिक्री जारी नै रहेको पुष्टि गरेका हुन् ।

सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले हालसम्म बीमित बालबालिकाको जोखिम बहन २५ प्रतिशत मात्रै हुने बीमा पोलिसी कति वटा बिक्री गरेको छ भन्नेबारे जानकारी दिन अस्वीकार गरेको छ । कम्पनीका सूचना अधिकारी उमेश मैनालीले हालसम्म कति वटा बाल बीमा पोलिसी बिक्री भएको छ भन्ने जिज्ञाशाको जवाफ दिएनन् ।

कम्पनीले झुक्याएर बीमित बालबालिकाको जोखिम बहन बीमाङ्क रकमको २५ प्रतिशत मात्रै वा सो भन्दा बढी बीमा शुल्क बुझाएको भए बीमा शुल्क फिर्ता हुने र सो अवधि पश्चात बीमा पोलिसी स्वतः रद्द हुने शर्त राखेर सुनौलो भविष्य बाल बीमा पोलसी बिक्री गरिरहेको छ । बीमा क्षेत्रका बुद्धिजीवी र जानकारहरु यो सरासर बीमाको सिद्धान्त विपरीत र जीवन बीमाको विकृत रुप भएको प्रतिक्रिया दिइरहेका छन् ।

 

सुर्यज्योति लाइफले बिक्री गरेको बाल बीमा पोलिसीको मृत्यु बीमा दावी भुक्तानी गर्ने शर्त नम्बर  ३ मा रहेको ‘शर्त बमोजिम हाल बाल बीमा पोलिसी लिएका कसैले पनि मृत्युवरण गरेपछि बीमित बालबालिकाका अभिभावकहरुले २५ प्रतिशत भन्दा बढी बीमा दावी भुक्तानी पाउने छैनन्’ भनी उल्लेख छ । अर्को शर्तसँगै ‘सो बमोजिम यदि २५ प्रतिशतभन्दा बढी बीमाशुल्क भुक्तानी गरेको रहेछ भने सो सम्पूर्ण बीमाशुल्क फिर्ता गर्ने’ भन्ने व्यवस्था राखिएको छ ।

जीवन बीमाको सर्वमान्य सिद्धान्त अनुसार बीमितको कुनै कारणवश निधन भएको अवस्थामा बिनाशर्त बीमा दावी भुक्तानी दिनुपर्ने हुन्छ,  बीमाशुल्क फिर्ता होइन । संसारमा कही नभएको बीमाशुल्क फिर्ता हुने शर्त राखेर सुर्यज्योति लाइफले दिन दहाडै बीमितहरुलाई ठगीरहँदा समेत नियामक नेपाल बीमा प्राधिकरण भने मौन छ । विभिन्न ठूला सेटिङमा व्यस्त हुने प्राधिकरण बीमित यसरी दिन दहाडै ठगिएको सम्बन्धमा मौन रहनुले नियामक माथि नै प्रश्न उठेको छ । बीमितको जोखिम बहन नहुने र बीमितको मृत्युपछि बीमाशुल्क फिर्ता हुने र पोलिसी स्वतः रद्द हुने बीमा पोलिसी जारी गर्ने सुर्यज्योति लाइफको बीमा पोलिसी प्राधिकरणबाट कसरी स्वीकृत भयो ? प्राधिकरणको नेतृत्वमाथि समेत प्रश्न चिन्ह उठेको छ ।

सुरुमा नबुझेर बीमा गरेका बीमित बालबालिकाका अभिभावकहरुले आफूलाई झुक्याएर बीमा पोलिसी बिक्री गरेको गुनासो गर्ने क्रम बढिरहेको छ । नियामक निकायलाई देखाएर, बीमा प्राधिकरणबाट सेटिङमा बीमित झुक्याउने बीमा पोलिसी स्वीकृत गराएर बीमित बालबालिकालाई ठगी गर्ने धन्दामा लागेको सुर्यज्योति लाइफको बाल बीमा पोलिसीबारे यसअघि पटक-पटक बीमापोष्टले समाचार प्रकाशित गरिसकेको छ ।

पटक-पटक सञ्चार माध्यममा बीमित ठगिएको विषयमा समाचार प्रकाशित भइरहँदा पनि जनताको बीमा गर्ने सार्वजनिक सेवा गर्ने पवित्र उद्देश्य बोकेको सुर्यज्योति लाइफ बलपूर्वक बाल बीमा पोलिसी बिक्री गरिरहेको छ । कम्पनीका कर्मचारीहरुले दिएको जानकारी अनुसार मिडियामा आएको कुरा सत्य नभएको प्रचारसँगै बाल बीमा पोलिसी बिक्री जारी राख्न केन्द्रीय कार्यालयबाटै निर्देशन दिइएको छ । बीमित ठगिएको तथ्य उजागर भइसक्दा पनि सुर्यज्योति लाइफको मिचाहा प्रवृत्ति कायमै रहनुले कम्पनीको उच्च तहमा बसेकाहरुको बदनीयत प्रष्ट पारेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*