१४ मध्ये ५ जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?

२७ पुष २०८०, शुक्रबार १६:१२

काठमाडौं । नेपालमा हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ५ वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले गत आवको वित्तिय विवरणको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेका हुन् । हालसम्म सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, मेट लाइफ, आइएमई लाइफ र एशियन लाइफले नयाँ बोनसदर सार्वजनिक गरेका हुन् ।

पाँच जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्कीय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेका हुन् । बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपछि कम्पनीहरूले संचालनमा ल्याएको तथा मुनाफामा सरिक हुने बीमालेखहरूको बीमाङ्कमा प्रतिहजारका दरले बोनस घोषणा गरिन्छ ।

कम्पनीहरुले घोषणा गरेको यस बोनश दर मृत्यु दाबी, पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि समेत उक्त बोनश दर कायम हुने जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स

यस कम्पनीको नयाँ बोनसदर अनुसार बीमितले अधिकतम् ७७ रुपैयाँसम्म बोनस पाउनेछन् । अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम् ५५ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् । त्यस्तै, बार्षिक अग्रिम भुक्तानीमा २५ रुपैयाँदेखि २८ रुपैयाँसम्म बोनस पाउनेछन् । अग्रिम भुक्तानी बीमा पोलिसीमा बीमाङ्क रकम अग्रिम रुपमा फिर्ता भइसकेको हुँदा बोनस दर कम हुने गर्दछ ।

त्यस्तै, सिटिजन शुभारम्भ सावधिक प्लस बीमालेखमा अवधी अनुसार न्यूनतम ३५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म प्रतिवर्ष प्रति हजारका दरले बीमितले बोनस पाउनेछन् । सावधिक (रेगुलर) बीमालेखमा बीमा अवधी अनुसार न्यूनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनस निर्धारण भएको छ ।

त्यस्तै, सिटिजन बाल भविष्य बीमालेख अन्तर्गत न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम् ६७ रुपैयाँसम्म बोनस पाउनेछन् । त्यस्तै, सावधिक तथा आजिवन बीमालेख (सिटिजन जीवन सारथी) मा बीमा अवधी अनुसार न्यूनतम ३७ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनस दर निर्धारण भएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

यस कम्पनीको नयाँ बोनसदर अनुसार बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् । रिलायबल सावधिक जीवन बीमालेखमा न्यूनतम ५० रुपैयाँदेखि अधिकतममा ७५ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् । त्यस्तै, लघु सावधिक जीवन बीमालेखको सबै बीमा अवधिहरमा ३० रुपैयाँका दरले तथा रिलायबल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) का सबै बीमा अवधिहरुमा २५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

त्यस्तै, रिलायबल सुलभ जीवन बीमालेख तथा सुलभ बाल जीवन बीमालेख प्लस योजनामा न्यूनतम २४ रुपैयाँदेखि अधिकतममा ४० रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ । रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख) मा न्यूनतम ६० रुपैयाँदेखि अधिकतममा ६५ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

कम्पनीको सावधिक तथा आजिवन बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतममा ५० रुपैयाँसम्म बोनस बीमितले पाउने भएका छन् । कम्पनीले रिलायबल समुन्नती जीवन बीमाको सबै बीमा अवधिहरुमा २० रुपैयाँ बोनस दिने भएको छ । त्यस्तै, कम्पनीले रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ५० रुपैयाँदेखि अधिकतममा ५५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

मेट लाइफ इन्स्योरेन्स

यस कम्पनीको नयाँ बोनसदर अनुसार बीमितले अधिकतम् ८० रुपैयाँसम्म बोनस पाउनेछन् । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर पाउनेछन् । कम्पनीले यसमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रति हजार ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि ५५ रुपैयाँ र २१ वर्ष र सोभन्दा माथिको लागि प्रति हजार ६५ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ ।

त्यस्तै, सावधिक जीवन बीमालेखमा न्युनतम प्रति हजार ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्मको बोनस पाउनेछन् । कम्पनीले यसमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ तथा २१ वर्ष र सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँसम्म बोनस निर्धारण गरेको हो ।

कम्पनीले शिक्षा संरक्षण जीवन बीमालेखमा न्यूनतम ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म दिने भएको छ । कम्पनीले यसमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ त्यस्तै, २१ वर्ष र सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँसम्म बोनसदर कम्पनीले निर्धारण गरेको छ ।

एशियन लाइफ इन्स्योरेन्स

यस कम्पनीको नयाँ बोनसदर अनुसार बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने भएका छन् । सावधिक तथा आजिवन बीमालेखमा न्यूनतम् ६१ रुपैयाँदेखि बीमा पोलिसीका अवधीका आधारमा क्रमशः बृद्धि भई अधिकतम् ७५ रुपैयाँ प्रति वर्ष प्रति हजार रुपैयाँका दरले बोनस पाइनेछ ।

त्यस्तै, सावधिक जीवन बीमालेखमा न्यूनतम् ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म प्रतिवर्ष प्रतिहजार रुपैयाँका दरल बीमितहरुले बोनस पाउनेछन् ।बालबालिका सावधिक जीवन बीमालेखमा अवधी अनुसार न्यूनतम ४४ रुपैयाँदेखि ६० रुपैयाँ बोनस पाइनेछ ।

त्यस्तै, सामूहिक, सावधिक, नवरत्न, जीवन संगिनी, दम्पत्ति सुरक्षा, बाल उच्च शिक्षा बीमा पोलिसीहरुमा न्यूनतम ४२ रुपैयाँदेखि बीमा पोलिसीको अवधी अनुसार ५० रुपैयाँसम्म बोनसदर निर्धारण भएको छ । त्यस्तै, अग्रिम भुक्तानी, एकल बीमालेखमा ५० रुपैयाँ र ७० रुपैयाँ प्रतिबर्ष प्रतिहजार रुपैयाँका दरले बोनसदर निर्धारण गरिएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स

यस कम्पनीको नयाँ बोनसदर अनुसार बीमितले अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने भएका छन् । सामूहिक बाल सावधिक बीमा पोलिसीमा न्यूनतम् ३२ रूपैयाँदेखि ७० रूपैयाँँसम्म प्रतिवर्ष र प्रति हजार रूपैयाँ बोनस पाउनेछन् । त्यस्तै सावधिक तथा आजिवन बीमा पोलिसीमा बीमा अवधी अनुसार प्रतिवर्ष प्रतिहजार ३२ रूपैयाँदेखि ८० रूपैयाँसम्म बीमितले बोनस पाउनेछन् ।

अग्रिम भुक्तानी तथा आजिवन बीमा पोलिसीमा न्यूनतम् ३२ रूपैयाँदेखि ६३ रूपैयाँ बोनस पाउनेछन् । अग्रिम भुक्तानी सावधिक बीमामा ३० रूपैयाँदेखि ६३ रूपैयाँ बोनसदर घोषणा गरिएको छ । बाल अग्रिम भुक्तानी सावधिक ३० रूपैयाँदेखि ६५ रूपैयाँ बोनस बीमितले पाउनेछन् ।

त्यस्तै, बाल अग्रिम भुक्तानी सावधिक बीमामा न्युनतम् ३० रूपैयाँदेखि ६० रूपैयाँ बोनस निर्धारण गरिएको छ । साथै बार्षिक अग्रिम भुक्तानी बीमा पोलिसीमा सबै अवधीमा २२ रूपैयाँ बोनस निर्धारण गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*