जीवन बीमामा मधेश प्रदेशमा देखिएका विद्यमान चुनौती, अवसर र सम्भावनाको विषयमा छलफल

९ माघ २०८०, मंगलवार १३:०२

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले प्रदेश भित्रका जीवन बीमकका प्रदेश प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ । कायक्रम मुख्य तीन एजेण्डामा आधारित रहेर छलफल गरी सम्पन्न गरिएको हो ।

प्राधिकरणको सहायक निर्देशक निर्मल खनालले संचालन गरेको सो कार्यक्रमको अध्यक्षता मधेश प्रदेश प्रमुख कुसुम शर्माले गरेकी थिइन् । कायक्रम प्राधिकरणको प्रदेश कार्यालय सभाहलमा माघ ८ गते गरिएको हो ।

मुख्य रुपमा तीन एजेण्डा उठाइ सोको विषयमा छलफल तथा अन्तरक्रिया गरिएको सो कार्यक्रममा बीमकका प्रदेश प्रमुख र प्राधिकरणको प्रदेश कार्यालयका अन्य कर्मचारीसहित २० जना भन्दा बढीको उपस्थिती रहेको थियो ।

प्राधिकरणको अनुगमन तथा सुपरीवेक्षणको क्रममा बीमकको शाखा तथा उपशाखा कार्यालयमा देखिएका समस्या तथा कैफियत उपर छलफल, बीमकमा प्रदेश प्रमुखले निर्वाध रुपमा कार्य गर्दा भोग्नु परेका समस्या, र हाल मधेश प्रदेशमा जीवन बीमामा देखिएका विद्यमान चुनौती, अवसर र सम्भावना एवं बीमा व्यवसाय विस्तारका आगामी कदमहरुका बारेमा छलफल गरिएको हो।

प्रस्तुत समस्या एवं अन्य कैफियत उपर छलफल भई बीमकका प्रदेश प्रमुखहरुले प्रदेश कार्यालयलाई बीमकको शाखा संचालन निर्देशन–२०७९ बमोजिम कर्मचारी व्यवस्था, अधिकार प्रत्यायोजन, प्रदेश कार्यालयको क्षमता विकास र प्रदेश प्रमुखलाई विजनेश प्रेसर नदिई मातहतका शाखा र उपशाखाको निरीक्षण, अनुगमन र संस्थागत सुशासन कायम गर्नेतर्फ खटाउनु पर्ने कुरामा जोड दिए ।

साथै, स्थानीय तहले उपलब्ध गराउने मरण दर्ता, अविवाहित, नाता प्रमाणित लगायतका अन्य कागजात फर्जी आउन थालेको हुँदा बीमा व्यवसाय विस्तार, दाबी भुक्तानीमा समस्या परेको लगायतका विविध समस्याहरुको जानकारी दिए ।

साथै, प्राधिकरणबाटै अभिकर्ता परिक्षा संचालन हुनु, प्रदेशमा प्राधिकरणको प्रदेश कार्यालय खोलिनु, प्रदेश कार्यालयले उजुरी एवं गुनासोको शिघ्र संवोधन गर्नु, प्राधिकरणको प्रदेश कार्यालयको सक्रियताले बीमामा गलत प्रवृत्ति हट्दै जानु, नागरिकमा बीमा सम्बन्धी सचेतना र विश्वास बढ्दै जानु, प्रदेश र स्थानीय तहले समेत बीमालाई प्राथमिकता दिनु हाल मधेश प्रदेशको बीमा व्यवसाय विस्तारका अवसर र सम्भावना रहेको जानकारी सहभागीहरुबाट प्राप्त भएको थियो ।

अन्त्यमा, कार्यक्रमक अध्यक्ष शर्माले एजेण्डामा प्रस्तुत समस्या उपर प्रदेश प्रमुख जिम्मेवार हुनुपर्ने, मातहतका शाखा तथा उपशाखाको गलत कार्य रोक्दै शाखा तथा उपशाखाको क्षमता सुधारको लागि समेत पहल गर्नुपर्ने र बीमा ऐन, नियम र निर्देशनको पालना गर्नुपर्ने धारणा व्यक्त गर्दै कार्यक्रमको समापन गरिन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*